Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

सरकारलाई कांग्रेस सभापति गगन थापाको चुनौती : पक्राउ गर्न आउँदा हतकडी लिएर आउनु, खाली हात जान्नँ

Share:WhatsAppFacebookX (Twitter)Telegram
सरकारलाई कांग्रेस सभापति गगन थापाको चुनौती : पक्राउ गर्न आउँदा हतकडी लिएर आउनु, खाली हात जान्नँ
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, मंसिर ८ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूलाई पक्राउ गर्न खोजिएको भए हतकडीसहित आउन सरकारलाई चुनौती दिनुभएको छ । सरकारका कामकारबाहीमाथि प्रश्न उठाएकै आधारमा पक्राउ गर्ने हल्ला फैलाएर आफूलाई तर्साउन खोजिएको भन्दै उहाँले आफू प्रश्न गर्न नछाड्ने स्पष्ट पार्नुभएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले सरकारको आलोचना गर्ने र प्रतिपक्षी दललाई दबाबमा राख्ने प्रयास भइरहेको बताउनुभयाे। उहाँले आफूविरुद्ध अनुसन्धान गर्न वा कानुनी कारबाही अघि बढाउन खोजिए त्यसमा सहयोग गर्ने तर राजनीतिक प्रतिशोधका आधारमा राज्यका संयन्त्र परिचालन गरिए प्रतिवाद गर्ने चेतावनी दिनुभयो । “मलाई समाउने भन्छन् । पक्राउ गर्न आउँदा खाली हात नआउनुहोला, हतकडी लिएर आउनु । खाली हातचाहिँ जान्नँ । यत्ति कुरा हो,” उहाँले भन्नुभयो, “न कांग्रेसले आफ्नो चरित्र लुज गर्छ, न कांग्रेसको नेतृत्वले चरित्र लुज गर्छ । हामीले ठीक प्रश्न गर्न छाड्यौँ भने, हामीलाई कसैले तर्साएर तर्सिन थाल्यौँ भने कांग्रेस होइन ।” सरकारको आलोचना गर्नेहरूलाई विगतमा भौतिक शक्तिबाट तर्साउने गरिएको र अहिले सामाजिक सञ्जालमार्फत भय सिर्जना गर्न खोजिएको उहाँको टिप्पणी थियो । “हिजो बलले तर्साउन खोजिन्थ्यो, आज सामाजिक सञ्जालले तर्साउन खोजिन्छ । प्रश्न गर्न छोड्दिनँ, तर्साएर तर्सिने मान्छे होइन,” सभापति थापाले भन्नुभयो । उहाँले राज्यका अनुसन्धान तथा सुरक्षा संयन्त्रलाई राजनीतिक प्रतिशोध साँध्ने माध्यम बनाउन नहुनेमा जोड दिनुभयो । राज्यले विगतका कमजोरी र अनियमितताबारे गरिरहेको अनुसन्धानमा कांग्रेसले अवरोध नगर्ने स्पष्ट पार्दै उहाँले अनुसन्धान सबैका हकमा समान र कानुनसम्मत हुनुपर्ने बताउनुभयो । “नेपाली कांग्रेस कसैको अनुसन्धानमा अवरोध गर्दैन, मेरो अनुसन्धान होस् वा अरू कसैको,” उहाँले बैठकमा भन्नुभयो । दोषीलाई कानुनअनुसार कारबाही गर्नुपर्ने तर राजनीतिक निकटताका आधारमा कसैले उन्मुक्ति पाउन नहुने उहाँको धारणा थियो । प्रधानमन्त्री बालेन्द्र शाहसँग निकट रहेका व्यक्ति वा राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएकै आधारमा कसैले कानुनी उन्मुक्ति पाउन नहुने उहाँले बताउनुभयाे । त्यसैगरी प्रतिपक्षी दलका नेताहरूलाई लक्षित गरेर राज्यका संयन्त्र परिचालन गर्न खोजिए त्यसको जवाफ मागिने उहाँको चेतावनी थियो । सभापति थापाले आफूले विगतदेखि नै सत्तामा रहेकाहरूका गलत काममाथि प्रश्न उठाउँदै आएको स्मरण गराउनुभयो । राजाको शासनकालमा राजद्रोहको मुद्दासमेत सामना गरेको र माओवादी सशस्त्र द्वन्द्वका क्रममा पनि विभिन्न चुनौती बेहोरेको उल्लेख गर्दै उहाँले शक्तिशाली सरकारसँग प्रश्न उठाउँदा राजनीतिक मूल्य चुकाउनुपर्ने अवस्था आए पनि पछि नहट्ने बताउनुभयो । उहाँले विगतमा नेपाली कांग्रेस सहभागी भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका गलत कामकारबाहीको समेत आफूले विरोध गरेको स्मरण गराउनुभयो । यसैबीच, सभापति थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आफ्नो भेटघाटलाई लिएर उठेका प्रश्नबारे पनि बैठकमा स्पष्ट पार्नुभयाे ।कांग्रेस सभापति भएपछि ओलीसँग पाँचपटक भेटघाट भएको जानकारी दिँदै उहाँले राजनीतिक दलका नेताहरूबीच भेटघाट र संवाद हुनु स्वाभाविक भएको बताउनुभयो । “मैले कांग्रेसको सभापति भइसकेपछि केपी ओलीलाई पाँच चोटि भेटेको छु । अस्ति मैले पाँचौँ पटक भेटेँ,” उहाँले भन्नुभयो, “म कांग्रेस सभापति हुँ, एमालेको अध्यक्षसँग मेरो भेटघाट हुन्छ, माओवादी अध्यक्षसँग भेटघाट हुन्छ, रास्वपाको सभापतिसँग भेटघाट हुन्छ । प्रधानमन्त्रीले कोहीसँग भेटघाट नगर्ने भएको हुनाले उहाँसँग हुँदैन, बाँकी सबैसँग हुन्छ ।” विभिन्न सञ्चारमाध्यमका अनुसार पछिल्लो समय सभापति थापालाई पक्राउ गर्ने तयारी भइरहेको भन्ने चर्चा र आशंकाले कांग्रेसभित्र पनि चासो बढाएको छ । यसअघि कात्तिक १९ गते सार्वजनिक भएका समाचारमा कांग्रेस नेताहरूले थापाको निवास तथा ज्ञानेश्वरस्थित कार्यालय वरपर सादा पोसाकका प्रहरी परिचालन भएको दाबी गरेका थिए । तर प्रहरी प्रवक्ताले भने उहाँलाई पक्राउ गर्ने वा निगरानीमा राख्ने विषयमा कुनै जानकारी नभएको र प्रहरीले उहाँको पिछा नगरेको स्पष्ट पारेको समाचार कान्तिपुरलगायतका सञ्चारमाध्यमले प्रकाशित गरेका थिए । सरकारका राम्रा काममा कांग्रेसले सहयोग गर्ने तर गलत काम र निर्णयमाथि निरन्तर प्रश्न उठाउने उहाँको भनाइ थियो । सत्ता शक्तिशाली वा लोकप्रिय छ भन्दैमा त्यसका कामकारबाहीमाथि प्रश्न उठाउन नहुने भन्ने मान्यता कांग्रेसले स्वीकार नगर्ने उहाँले स्पष्ट पार्नुभयो । राज्यका निकाय सत्य र न्यायको पक्षमा उभिनुपर्ने उल्लेख गर्दै सभापति थापाले राजनीतिक असहमति र आलोचनालाई दबाउने उद्देश्यले अनुसन्धान तथा सुरक्षा संयन्त्र प्रयोग गर्न नहुने धारणा राख्नुभएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
बंगलादेशमा राजनीतिक तनाव बढ्दै गर्दा हसिनाको स्वदेश फिर्ती अस्वीकार, ढाका ओर्लिए हत्कडी लगाइने सरकारको चेतावनी
PoliticsJust now

बंगलादेशमा राजनीतिक तनाव बढ्दै गर्दा हसिनाको स्वदेश फिर्ती अस्वीकार, ढाका ओर्लिए हत्कडी लगाइने सरकारको चेतावनी

बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको आगामी डिसेम्बर १६ मा स्वदेश फर्कने योजनालाई अस्वीकार गर्दै उनी फर्किए पक्राउ गरिने स्पष्ट पारेको छ । सरकारले उनको पुनरागमनलाई स्वीकार नगर्ने सङ्केत दिँदै सीमाक्षेत्रमा सुरक्षा सतर्कतासमेत बढाएको छ । हसिनाले भारतको राजधानी नयाँदिल्लीबाट राष्ट्रिय ध्वजावाहक विमान बंगलादेश एयरलाइन्समार्फत ढाका फर्कने व्यवस्था मिलाउन र आवश्यक यात्रा कागजात उपलब्ध गराउन सरकारसँग आग्रह गरेकी थिइन् । तर, विदेश ...

फरकधार
पग्लिँदो हिमालय, बढ्दो जोखिम : समाधान खोज्न काठमाडौंबाट जुट्दै विश्वका विज्ञ
PoliticsJust now

पग्लिँदो हिमालय, बढ्दो जोखिम : समाधान खोज्न काठमाडौंबाट जुट्दै विश्वका विज्ञ

हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका उपायबारे छलफल गर्न काठमाडौंमा अन्तरराष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को आयोजनामा आगामी नोभेम्बर २५ देखि २७ (मङ्सिर ९ देखि ११)सम्म ललितपुरको खुमलटारस्थित इसिमोडको कार्यालयमा ‘एचकेएच क्रायोस्फियरका लागि विज्ञान, नीति तथा क्षेत्रीय सहकार्य प्रवर्द्धनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन’ हुन लागेको हो । सम्मेलनमा हिन्दुकुश हिमालय क्षेत्रमा ...

फरकधार
पुरानो ७० करोड डलर ऋण रद्द भएको पाठ सिक्ला नेपाल ?
PoliticsJust now

पुरानो ७० करोड डलर ऋण रद्द भएको पाठ सिक्ला नेपाल ?

  प्रधानमन्त्री बालेन्द्र शाह भारतको दुईदिने राजकीय भ्रमण सकेर सोमबार स्वदेश फर्किए । भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको पुनर्निर्माण तथा दीर्घकालीन विकासका लागि दुई खर्ब ४० अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग प्याकेज घोषणा गरेका छन् । सरकारले यसलाई भ्रमणको महत्त्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरेको छ । तर, नयाँदिल्लीमा घोषणा भएको खर्बौँ रुपैयाँको सहयोगको चर्चा भइरहँदा एक दशकअघि भारतले गरेको यस्तै ...

फरकधार
कांग्रेस बैठकका ६ एजेन्डा, स्थानीय निर्वाचनदेखि विपद्पछिको पुनर्निर्माणसम्म छलफल हुने
PoliticsJust now

कांग्रेस बैठकका ६ एजेन्डा, स्थानीय निर्वाचनदेखि विपद्पछिको पुनर्निर्माणसम्म छलफल हुने

काठमाण्डु – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा संगठनको आगामी कार्यभारदेखि स्थानीय निर्वाचन र विपद्पछिको पुन:स्थापनासम्मका विषयमा छलफल हुने भएको छ । मंगलबार ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा सभापति गगनकुमार थापाको सभापतित्वमा बसेको बैठकमा महामन्त्री प्रदीप पौडेलले छलफलका लागि ६ वटा एजेन्डा प्रस्तुत गरेका हुन् । बैठकका एजेन्डामा संगठनको आगामी कार्यभारअन्तर्गत ‘हामी तयार छौँ’ […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement