समाचार कक्षमै प्रवेश गरेर पत्रकार पक्राउ, चौतर्फी विरोधपछि सबै रिहा

काठमाडौं । विभिन्न सञ्चारमाध्यमका कार्यालय तथा समाचार कक्षमै प्रवेश गरी प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र प्रेस काउन्सिल नेपालले गम्भीर आपत्ति जनाएका छन्।

समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने तथा खोजी गर्ने प्रहरी कारबाहीको चौतर्फी विरोध भएपछि प्रधानमन्त्रीको निर्देशनमा पक्राउ परेका सबै पत्रकार शुक्रबार राति रिहा भएका छन्।

शुक्रबार दिउँसोदेखि साँझसम्म उपत्यका अपराध अनुसन्धान कार्यालय र साइबर ब्युरोका प्रहरी टोली सादा पोशाकमा विभिन्न सञ्चारमाध्यमका कार्यालय पुगेका थिए।

प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई नयाँबानेश्वरस्थित कार्यालयको समाचार कक्षबाटै नियन्त्रणमा लिएको थियो। त्यस्तै, मोटिभेट न्युजका अध्यक्ष तथा प्रधानसम्पादक शोभराज बराल र डीएनए खबरका प्रधानसम्पादक धीरज बस्नेतलाई पनि नियन्त्रणमा लिइएको थियो।

प्रहरी टोली नयाँ पत्रिका दैनिकको कार्यालयमा पत्रकार नवराज मैनालीको खोजी गर्दै पुगेको थियो। त्यस्तै, दियो पोस्ट अनलाइनका प्रधानसम्पादक सुदीप विश्वकर्मा र समाचार संयोजक मदन ढुंगानासँग सोधपुछ गर्न प्रहरी टोली अनामनगरस्थित कार्यालय पुगेको थियो। तर, उनीहरूलाई पक्राउ गरिएको पुष्टि भएको छैन। केही सञ्चारमाध्यमका कार्यालयमा प्रहरीले पत्रकारका मोबाइलसमेत जाँच गरेको बताइएको छ।

समाचार प्रकाशनपछि प्रहरी कारबाही:

प्रहरीको कारबाही प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई सरकारले पदबाट हटाउने तयारी गरेको र उनले कानुनी परामर्श थालेको भन्ने समाचार प्रकाशनसँग जोडिएको बताइएको छ। नेपाल प्रेसमा प्रकाशित उक्त समाचारमा आईजीपी कार्कीलाई हटाउने तयारी भइरहेको दाबी गरिएको थियो।

त्यस्तै, बिचौलिया भनिएका इनम सापकोटाको मोबाइलमा भेटिएका उच्च पदस्थ व्यक्तिहरूसँगको सम्पर्क विवरण तथा सम्बन्धबारे विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार पनि प्रहरीको चासोको विषय बनेको बताइएको छ।

प्रहरीले साइबर ब्युरोको पत्रका आधारमा पत्रकारहरूलाई सोधपुछका लागि नियन्त्रणमा लिएको जनाएको थियो। तर, पक्राउको स्पष्ट कारण, पक्राउ पुर्जी र अदालतको अनुमति सम्बन्धमा सार्वजनिक रूपमा स्पष्ट जानकारी दिइएको थिएन। यही विषयलाई लिएर प्रेस काउन्सिल नेपालले कानुनी प्रक्रियामाथि प्रश्न उठाएको हो।

प्रेस काउन्सिलको गम्भीर आपत्ति:

प्रेस काउन्सिल नेपालले शुक्रबार कार्यालय समय सकिएपछि विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमा प्रवेश गरी सादा पोशाकका प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

काउन्सिलले जारी गरेको विज्ञप्तिमा पक्राउको स्पष्ट कारण नखुलाइएको, पक्राउ पुर्जी नदेखाइएको, अदालतको अनुमति लिइएको प्रमाण नदेखाइएको र पत्रकारविरुद्ध जाहेरी परेको विषयसमेत स्पष्ट नभएको अवस्थामा गरिएको कारबाहीप्रति आपत्ति जनाइएको छ। लगातार दुई दिन सार्वजनिक बिदा पर्नुअघि पत्रकारलाई नियन्त्रणमा लिने प्रयास गरिनु थप गम्भीर विषय भएको काउन्सिलको भनाइ छ।

समाचार सामग्रीप्रति असहमति वा पत्रकार आचारसंहितासम्बन्धी उजुरी परे त्यसको छानबिन, अनुगमन र निरूपण गर्ने कानुनी जिम्मेवारी प्रेस काउन्सिल नेपालको रहेको विज्ञप्तिमा उल्लेख छ।

समाचारकै विषयमा प्रहरी परिचालन गरेर पत्रकारलाई नियन्त्रणमा लिनुको सट्टा काउन्सिलको स्थापित विधि र प्रक्रियाबाट समाधान खोज्न नेपाल सरकार, प्रहरी प्रशासन तथा सम्बन्धित सबै पक्षलाई काउन्सिलले आग्रह गरेको छ।

काउन्सिलले नियन्त्रणमा लिइएका पत्रकारको अवस्था र पक्राउको कानुनी आधार तत्काल सार्वजनिक गर्न माग गर्दै कानुनी आधारबिना नियन्त्रणमा राखिएको भए तत्काल रिहा गर्न आग्रह गरेको छ। साथै, पत्रकार र सञ्चारमाध्यमलाई सत्यतथ्यमा आधारित समाचार प्रकाशन गर्न तथा पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न पनि अनुरोध गरेको छ।

रास्वपाले भन्यो– प्रेस स्वतन्त्रतामाथिको प्रहार स्वीकार्य छैन:

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि समाचार लेखेकै आधारमा पत्रकारलाई नियन्त्रणमा लिने तथा खोजी गर्ने प्रहरी कारबाहीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

पार्टीका प्रवक्ता जगदीश खरेलद्वारा जारी विज्ञप्तिमा लोकतन्त्रको प्राण र सौन्दर्य स्वायत्त, सक्षम र उत्तरदायी संस्थाहरू भएको उल्लेख गर्दै नागरिकको आवाज मुखरित गर्ने सञ्चार जगत्को भूमिका महत्त्वपूर्ण रहेको जनाइएको छ।

विज्ञप्तिमा लोकतान्त्रिक राजनीतिक प्रणालीमा विधिको शासन अनिवार्य पूर्वसर्त भए पनि कानुन कार्यान्वयनको आवरणमा स्वतन्त्र प्रेसलाई भयभीत बनाउने, सञ्चारगृहको गरिमामाथि प्रहार गर्ने र लोकतान्त्रिक संस्थालाई संकुचित पार्ने गतिविधि लोकतान्त्रिक आचरणअनुकूल नहुने उल्लेख छ।

प्रेस स्वतन्त्रतामाथिको प्रहार नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकारमाथिको कुठाराघात भएको र पत्रकारिताको विश्वव्यापी मूल्य, मान्यता तथा अभ्यासअनुसार समाचारको स्रोतको गोपनीयता रक्षा गर्नु सञ्चारकर्मीको अधिकार, दायित्व र पेसागत धर्म भएको पार्टीको भनाइ छ।

समाचार सामग्रीप्रति कसैको विमति, गुनासो वा कानुनी प्रश्न उठे त्यसको परीक्षण र निरूपणका लागि राज्यले स्थापित गरेका निश्चित विधि, न्यायिक प्रक्रिया र वैधानिक निकाय सक्रिय रहेको अवस्थामा सञ्चारकर्मीमाथि धरपकड गर्नु विधिको शासनको ठाडो उल्लंघन भएको विज्ञप्तिमा उल्लेख छ।

रास्वपाले समाचार लेखेकै आधारमा नियन्त्रणमा लिइएका र अन्य सञ्चारकर्मीको खोजी भइरहेको भनिएका समाचारका सन्दर्भमा निष्पक्ष, पारदर्शी र यथार्थ छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ। गैरकानुनी ढंगले नियन्त्रणमा लिइएका सञ्चारकर्मीलाई ससम्मान र बिनासर्त तत्काल रिहा गर्न पनि पार्टीले सम्बन्धित निकायसँग आग्रह गरेको छ।

पार्टीले भय, त्रास र अनुचित दबाबबिना निर्भीकतापूर्वक सत्य, तथ्य र निष्ठाको पत्रकारिता गर्न सञ्चारकर्मीलाई आह्वान गर्दै पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा आफ्नो अडान दोहोर्याएको छ।

प्रधानमन्त्रीको निर्देशनपछि पत्रकार रिहा:

घटनाको विरोध र आलोचना बढेपछि प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले प्रधानमन्त्री, सचिवालय वा प्रधानमन्त्री कार्यालयको यस घटनामा कुनै संलग्नता नरहेको र पूर्वजानकारीसमेत नभएको स्पष्ट पारेको थियो।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान सल्लाहकार दीपा दाहालका अनुसार घटनाबारे जानकारी पाएलगत्तै प्रधानमन्त्रीले नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न र समाचार कक्षमा प्रवेश गरी पत्रकारलाई पक्राउ वा नियन्त्रणमा नलिन सम्बन्धित निकायलाई निर्देशन दिएका थिए।

सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमल्सिनाले शुक्रबार राति सामाजिक सञ्जालमार्फत पक्राउ परेका सबै पत्रकार रिहा भएको जानकारी दिएका थिए। उनले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ भएको बताएका थिए।

पत्रकार पक्राउको घटनापछि राजनीतिक दल, पत्रकार संगठन तथा सञ्चार क्षेत्रबाट विरोध भएको छ। घटनाले समाचार कक्षको सुरक्षा, पत्रकारको व्यावसायिक स्वतन्त्रता, समाचार सामग्रीमाथि अनुसन्धान गर्ने कानुनी प्रक्रिया र प्रेस स्वतन्त्रताको संवैधानिक प्रत्याभूतिबारे पुनः बहस सिर्जना गरेको छ।

पक्राउ परेका पत्रकार रिहा भए पनि प्रहरी कारबाहीको कानुनी आधार र समाचार प्रकाशनका विषयमा अनुसन्धान गर्दा अपनाउनुपर्ने प्रक्रियाबारे उठेका प्रश्न भने यथावत् छन्।

नेपाल पत्रकार महासंघ लगायतका संघसंस्था तथा सरोकारवाला निकायबाट प्रहरीको यो कदमको विरोध भइरहेको छ । महासंघले शनिवार काठमाडौं माइतिघर मण्डलामा धर्ना कार्यक्रम राखेको छ ।

Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार
Related News
मुगुमा वर्षासँगै हिमपात, जनजीवन कष्टकर बन्दै
मुगु । मुगुमा शुक्रबार साँझदेखि परेको वर्षासँगै हिमपात भइरहेकाले अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित बन्दै गएको छ । गमगढी हावापानी मापन केन्द्रका अनुसार शुक्रबार बिहान ८ः४५ बजेदेखि २४ घण्टाको अवधिमा... ...

एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
काठमाडाैं । एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा १.१६ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको ९१ करोड ६० लाख रुपैयाँको तुलनामा २७.११ प्रतिशतको वृद्धि हो। यससँगै बैंकको वार्षिकीकरण गरिएको प्रतिशेयर आम्दानी पनि २५.४२ प्रतिशतले बढेर २३.८३ रुपैयाँ पुगेको छ। त्यस्तै, बैंकका शेयरधनीहरूलाई बाँड्न मिल्ने नाफामा पनि सुधार भएको छ। वार्षिकीकरण गरिएको ...

कुलेखानीको जलाशय भरिन झन्डै १ मिटर बाँकी, तल्लो तटीय क्षेत्रमा सतर्क रहन आग्रह
शनिबार बिहान १० बजे जलाशयमा १ हजार ५ सय २७ दशमलव ७ सेन्टिमिटर पानी थियो भने डेढ घण्टामै १.१० मिटर पानीको सतह बढेको छ । ...
त्रिपालले ढाकियो त्रिवि क्रिकेट मैदान, वर्षाले एनपीएल प्रभावित हुने जोखिम
• निरन्तरको वर्षाका कारण त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान जलमग्न भएको छ। • नेपाल प्रिमियर लिग अन्तर्गत आजको खेल सञ्चालन हुने सम्भावना न्यून देखिएको छ। • मैदानलाई वर्षाबाट जोगाउन त्रिपालले ढाकिएको छ, तर पानी जमेकोले खेल सुरु गर्न कठिनाइ हुनेछ। ...