Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

सबै कम्युनिष्ट शक्तिलाई एकताको झण्डामुनि ल्याउने प्रयास जारी छ : प्रचण्ड

Share:WhatsAppFacebookX (Twitter)Telegram
सबै कम्युनिष्ट शक्तिलाई एकताको झण्डामुनि ल्याउने प्रयास जारी छ : प्रचण्ड
Photo / Coverage: पर्दाफास

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपालका सबै कम्युनिष्ट शक्तिलाई एकताको झण्डामुनि ल्याउने प्रयास जारी रहेको बताएका छन् । काठमाडौंमा शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले साना तथा ठूला सबै कम्युनिष्ट समूहलाई एकताबद्ध गर्ने अभियानलाई अझै तिव्र बनाउने बताएका हुन् । विगतमा वामपन्थी जनमतलाई एक ठाउँमा ल्याएर समाजवादको आधार तयार गर्ने उद्देश्यसहित एकताको प्रयास गरिए पनि त्यसलाई टिकाउन नसकिएको उनको भनाइ छ । एकपटक असफल हुँदैमा एकताको प्रयास छाड्न नहुने उल्लेख गर्दै दाहालले कम्युनिष्ट एकताको झण्डालाई अझ माथि उठाउने लक्ष्यसहित आफूहरू अघि बढिरहेको बताए । उनले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र नेकपा मसालसँग दुईबुँदे प्रस्ताव अघि सारिएको जानकारी दिँदै अन्य कम्युनिष्ट समूहसँग पनि निरन्तर छलफल भइरहेको बताए । विचार, राजनीति र सिद्धान्तमा एकरूपता कायम गर्दै सहकार्य तथा कार्यगत एकतालाई विस्तार गर्नसके मात्रै देशमा देखिएका समस्याको समाधान गर्न सकिने उनको भनाइ छ । उनले भने, ‘कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्ने प्रक्रिया चलिरहेको छ । हामीले अहिले पनि यति भए पुग्यो भन्ने छैन । अझै पनि नेपालका साना, ठूला कम्युनिष्ट समूहहरूलाई एकताको झण्डामुनि ल्याउने हाम्रो कसरत जारी छ । हामीले विगतमा पनि नेपालमा समाजवादी निर्माणको निम्ति जसरी वामपन्थी जनमतको निकै ठूलो बाहुल्य छ, त्यसलाई एक ठाउँमा ल्याएर मात्रै साँचो अर्थ र व्यवहारिक अर्थमा समाजवादको ढोका खोल्न सकिन्छ भनेर एकताको झण्डा नउठाएको होइन । तर त्यसलाई बचाउन सकिएन । एक पटक असफल भयो भन्दैमा फेरि पनि प्रयास नै नगर्ने भन्ने हुन सक्दैन । हामी अहिले पनि फेरि कम्युनिष्ट एकताको झण्डालाई अझ माथि उठाउने लक्ष्यसहित यहाँसम्म आएका छौँ । हामी केन्द्रमा आशावादी छौँ, तपाईंहरु सबैले तल पनि सामुहिक प्रयास गर्नुपर्छ । विभिन्न पक्षसँग सहकार्यमा नै छौँ । त्यो सहकार्य र कार्यगत एकताको प्रक्रियालाई अघि बढाउँदै लैजाने र विचार, राजनीति र सिद्धान्तमा एकरूपता कायम गर्दै एकताकै झण्डामा केन्द्रित गर्ने र मात्रै देशमा देखापरेका समस्याहरूको समाधान गर्न सकिन्छ । एमालेसँग तीन बुँदे सहकार्यको प्रस्ताव गर्दैगर्दा वा नेकपा मसालसँग दुई बुँदै प्रस्ताव गर्दैगर्दा लगातार नै अन्य पक्षसँग पनि छलफल गरिरहेका छौँ । यो प्रक्रिया अघि बढिरहेको छ ।’ संयोजक दाहालले मुलुकमा देखिएको राजनीतिक संकट समाधानका लागि शान्ति सम्झौता र संविधानसभाका सहयात्री शक्तिहरूसँग पनि संयुक्त मोर्चा निर्माण गर्ने विषयमा छलफल भइरहेको बताए । शान्ति, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता र राष्ट्रिय एकताका पक्षधर शक्तिहरूसँग सहकार्य गर्न सकारात्मक तथा रचनात्मक संवाद अघि बढाइएको उनले जानकारी दिए । देशभरबाट सामूहिक पहल गर्न सके त्यस्ता शक्तिबीच पनि एउटा मोर्चा निर्माण गर्न सकिने उनले विश्वास व्यक्त गरे । दाहालले अन्तर्राष्ट्रिय शक्तिसँगको संवाद र सम्बन्ध विस्तारमा विगतमा आफूहरूबाट कमजोरी भएको महशुस गर्दै अन्तर्राष्ट्रिय भुमिकालाई निरन्तर अघि बढाइरहेको पनि बताए । दोस्रो विश्वयुद्धपछि स्थापित अन्तर्राष्ट्रिय संरचना र मान्यताहरू विघटन हुँदै गएको उल्लेख गर्दै उनले विश्वमा नयाँ मान्यता र संरचना निर्माणका लागि ध्रुवीकरणको लहर चलिरहेको बताए । अन्तर्राष्ट्रिय परिस्थितिमा आएको परिवर्तनलाई ध्यानमा राख्दै नेपालले पनि आफ्नो भूमिका प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ । उनले भने, ‘आज देशमा देखापरेको राजनीतिक संकटलाई हेर्दा यत्तिले पनि पुग्दैन भनेर हामीले शान्ति सम्झौता, संविधान सभाका सहयात्रीसँग पनि मोर्चा बनाउनेकुरालाई पनि त्यत्तिकै महत्त्व दिएर छलफल गरिरहेका छौँ । त्यो छलफल पनि सकारात्मक ढंगले, रचनात्मक ढंगले अघि बढाएका छौँ । त्यसमा आशाप्रद प्रगति हुँदै छ । शान्तिका पक्षधर, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशीका पक्षधर, एकताका पक्षधर सबै सहयात्रीसँग सहकार्य गर्ने उद्देश्यका साथ सकारात्मक ढंगले वार्ता र संवादतर्फ अघि बढ्न अपिल गर्न चाहन्छु । हामी सबैले देशभरबाट पहल गर्दा म के देख्छु भने हामी त्यसमा पनि एउटा मोर्चा बनाउन सफल हुनेछौँ ।’ संयोजक दाहालले अन्तर्राष्ट्रिय शक्तिसँग संवाद बनाइ अघि बढाउने कुरामा आफूहरू चुकेको महशुस गरेर अन्तर्राष्ट्रिय भुमिकालाई निरन्तर अघि बढाइरहेको जिकिर गरे । दोस्रो विश्वयुद्धपछि निर्माण भएका संरचनाहरू, मान्यताहरू विघटन भइरहेको बताए । नयाँ मान्यता र संरचना बनाउन विश्वमा ध्रुवीकरणको लहर चलेको बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
काँग्रेसको वैधानिकतासम्बन्धी विवाद समाप्त भयो, अब प्रदेश अधिवेशन गर्छौँ : महामन्त्री संग्रौला
OthersJust now

काँग्रेसको वैधानिकतासम्बन्धी विवाद समाप्त भयो, अब प्रदेश अधिवेशन गर्छौँ : महामन्त्री संग्रौला

नेपाली काँग्रेसकी महामन्त्री डिला संग्रौलाले पार्टीको वैधानिकतासम्बन्धी विवाद समाप्त भइसकेको दाबी गरेकी छन् । शनिवार पार्टी मुख्यालय सानेपामा केन्द्रिय समितिका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो दाबी गरेकी हुन् । काँग्रेसको आधिकारिकता आफूहरूले पाएको दाबी गर्दै उनले अब प्रदेश अधिवेशनमा जुट्ने बताइन् । उनले पार्टीको प्रदेश अधिवेशन गर्ने मिति तत्कालै घोषणा गर्ने जानकारी दिइन् । प्रदेश अधिवेशनका लागि पार्टीको निर्वाचन ...

पर्दाफास
विश्वकप छनोट प्लेअफ सुरु हुन ६ दिन बाँकी, अझै घोषणा भएन नेपाली टोली
OthersJust now

विश्वकप छनोट प्लेअफ सुरु हुन ६ दिन बाँकी, अझै घोषणा भएन नेपाली टोली

१२ मंसिर, काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ सुरु हुन अब ६ दिन मात्र बाँकी रहँदा सहभागी अन्य टोलीले नेपाल आएर तयारी थालिसकेका छन् । तर, आयोजक नेपालले भने अहिलेसम्म टोली घोषणा गर्न सकेको छैन । प्लेअफ खेल्न युगान्डा र इटालीको टोली नेपाल आइपुगेर तयारीमा जुटिसकेका छन् । नामिबियाको टोली पनि नेपालका लागि… ...

अनलाइन खबर
प्रचण्डको आरोप- सरकार जनताका अधिकार खोस्नेतर्फ उद्यत छ
OthersJust now

प्रचण्डको आरोप- सरकार जनताका अधिकार खोस्नेतर्फ उद्यत छ

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार बनाउने र गिराउने राजनीतिक चलखेलमा बढी केन्द्रित हुँदा मुलुकका राजनीतिक उपलब्धि र राष्ट्रिय स्वाधीनतामाथि भइरहेका चुनौतीप्रति पर्याप्त ध्यान दिन नसकिएको स्वीकार गरेका छन् । उनले शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै विगतमा आफूहरू सरकार गठन र विघटनको खेलमा अल्झिँदा प्रतिक्रियावादी शक्तिहरूले लामो योजनाअन्तर्गत राष्ट्रिय स्वाधीनता र नेपाली जनताको आत्मनिर्णयको अधिकारविरुद्ध षड्यन्त्र ...

पर्दाफास
पार्टीको नाम, झण्डा र चुनावी चिन्हको दुरुपयोग गरे कारबाही गर्ने कांग्रेसको चेतावनी
OthersJust now

पार्टीको नाम, झण्डा र चुनावी चिन्हको दुरुपयोग गरे कारबाही गर्ने कांग्रेसको चेतावनी

नेपाली कांग्रेसले वर्तमान सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र, विधिको शासन, सुशासन र जनजीविकाका सवालमा सरकारलाई खबरदारी गर्न सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकका निर्णय सार्वजनिक गर्दै महामन्त्री प्रदीप पौडेलले सरकारका पछिल्ला गतिविधि र कार्यशैलीले शासकीय स्वेच्छाचारिता बढाएको आरोप लगाए । उनले प्रारम्भिक चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमीका रूपमा बुझेर कांग्रेसले ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement