Monday, October 19, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/शहरले खोस्न नसकेको खुशी : काठमाडौंको धुलाम्मे सडकपेटीमा दशैँको मच्चिँदो पिङ

शहरले खोस्न नसकेको खुशी : काठमाडौंको धुलाम्मे सडकपेटीमा दशैँको मच्चिँदो पिङ

Share:WhatsAppFacebookX (Twitter)Telegram
शहरले खोस्न नसकेको खुशी : काठमाडौंको धुलाम्मे सडकपेटीमा दशैँको मच्चिँदो पिङ

काठमाडौं । काठमाडौंको व्यस्त सडक । एकातिर कालो धुवाँको मुस्लो छाड्दै तिब्र गतिमा गुडिरहेका टिपर र मोटरसाइकलहरूको कर्कश आवाज । अर्कोतिर अग्ला कंक्रिटका घरहरू र धुलोले ढाकिएका सडकपेटी । शहर आफ्नो नियमित रफ्तारमा दौडिरहेको थियो । तर त्यही व्यस्त सडकको छेउमा रहेको एउटा सानो खाली माटोको चौरमा भने समय एकाएक थामिएझैं लाग्थ्यो । त्यहाँ ठडिएको थियो, चारवटा अग्ला बाँसका लिङ्गाहरू आपसमा गाँसिएको एउटा भव्य लिङ्गे पिङ । परम्परा र आधुनिकताको योभन्दा जीवन्त द्वन्द्व र मेल सायद काठमाडौंमा अन्त कतै देख्न पाइँदैनथ्यो । मध्याह्नको चर्को घाम सिधै आकाशबाट खसिरहेको थियो । बाँसको टुप्पोमा बाँधिएको बाबियोको चमरबाट प्रकाश छरपस्ट भएर लेन्समा ठोक्किँदा पिङको काठको फलेकमा बसेको त्यो सानो ज्यान कालो सिल्हूट बनेर आकाशमा तैरिरहेको देखिन्थ्यो । न कुनै भिडियो गेम, न कुनै कृत्रिम संसार । त्यहाँ केवल घामको राप, हावाको वेग र एउटा बालकको उड्ने तृष्णा थियो । सेतो टिसर्ट र स्नीकर लगाएको एउटा सानो बाबु जब दुई हातले सनपाटको डोरी समातेर अगाडि हुत्तियो, उसको अनुहारमा फुल्ने त्यो निष्कपट हाँसोले सडकको सारा कोलाहललाई क्षणभरमै निस्तेज बनाइदियो । खुट्टा हावामा तेर्सिएका थिए, अनि आँखामा थियो खुला आकाश जित्दाको अद्भूत चमक । केही बेरपछि पिङमा उक्लिन आइन् एउटी किशोरी । सधैं कलेज र चार पर्खालको वन्धनमा सिमित रहने उनका पाइलाहरूले जब धर्ती छाडे, हावासँगै उनका कपालहरू लहराए । उनको ओठमा फुलेको त्यो लाजमिश्रित तर उन्मुक्त मुस्कानले भनिरहेको थियो । मान्छेलाई खुसी हुन धेरै कुरा चाहिँदैन, केवल मनको पखेटा फिँजाउने एउटा निहुँ भए पुग्छ । एकातिर आधुनिक सडकबत्तीको सोलार पोल, अर्कोतिर सदियौँ पुरानो बाँसको पिङ । तिब्र गतिमा गुडिरहेका गाडीहरूका चालक पनि एकछिन ब्रेक लगाएर पिङतिर हेर्थे । पिङमा मच्चिरहेको साथीलाई हेर्दै तल दर्जनौँ बालबालिकाहरू पालो कुरिरहेका थिए । यो शहरमा मानिसहरू बैंकको लाइन, अस्पतालको लाइन वा ट्राफिक जामको लाइनमा रिस र छटपटी पोख्छन् । तर यहाँ बाँसको फेदमा बसेर पालो कुर्नुमा कसैलाई हतार थिएन, सबैका आँखाहरू पिङको गतिसँगै माथि र तल नाचिरहेका थिए । दशैँ केवल केटाकेटीको मात्र कहाँ हो र ? पहेँलो र सेतो बुट्टेदार कुर्था लगाएकी महिला जब पिङको फलेकमा बसिन्, उनले सायद केही मिनेटका लागि घरको चुलोचौको, पाहुनापाछाको सत्कार र पारिवारिक जिम्मेवारीको सारा बोझ जमिनमै छाडिदिएकी थिइन् । पिङ जति-जति माथि पुग्यो, उनको अनुहारमा उति-उति बाल्यकालको रंग गाढा हुँदै गयो। शरीर हावामा तेर्सिँदा मुटुको धड्कन एकछिन रोकिन्थ्यो होला, तर त्यो रोमाञ्च नै त वर्षभरिको थकान पखाल्ने ओखती थियो । पिङको ठीक पछाडि रातो कुर्था लगाएकी एउटी आमा हात बाँधेर उभिइरहेकी थिइन् । आफ्नो सन्तान हावामा उड्दा उनको मनमा सन्तान लड्छ कि भन्ने हलुका सन्त्रास र सन्तानको ओठमा हाँसो देख्दाको गहिरो सन्तुष्टि एकसाथ पोखिएको थियो । पिङ आकाशमा जति मच्चिन्थ्यो, काठमाडौंको सुख्खा माटोमा उसको छायाँ त्यति नै तिब्र गतिमा नाच्थ्यो । हाम्रा पूर्खाहरूले त्यसै भनेका थिएनन्, ‘विजया दशमीको दिन जसरी भए पनि एकपटक धर्ती छाड्नुपर्छ ।’ ताकि धर्ती माताको ऋण चुक्ता होस् र वर्षभरिको दुःख–कष्ट हावासँगै उडेर जाओस् । शहरले हामीबाट धेरै कुरा खोस्यो । खुला फाँटहरू खोस्यो, स्वच्छ बतास खोस्यो, अनि चौतारीहरू खोस्यो । तर दशैँको यो केही दिनमा काठमाडौंको यो सडकछेउ उभिएको चारखुट्टे लिङ्गे पिङले प्रमाणित गरिदियो । नेपालीको मनबाट मौलिकता खोस्ने तागत कुनै कंक्रिटसँग छैन । साँझ ढल्किँदै गर्दा पनि पिङको मच्चाइ रोकिएको थिएन । एउटा पिङ, जसले धनी र गरिब चिनेन । महल र झुपडी छुट्याएन । धुलाम्मे सडकको छेउमा उभिएर सबैले एउटै लयमा मुस्कुराए, अनि हावामा उडेर धर्ती छाड्दाको आनन्द बाँडे । यो बाँसको लिङ्गे पिङझैं, हाम्रो मौलिक संस्कृति र यो निश्चल नेपालीपन सधैँ आकाश छुने गरी मच्चिइरहोस् । सबैमा विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

मासु खाँदा हड्डी अड्किए आफैँ निकाल्ने प्रयास नगर्न चिकित्सकको सुझाव
ताजा खबरJust now

मासु खाँदा हड्डी अड्किए आफैँ निकाल्ने प्रयास नगर्न चिकित्सकको सुझाव

• दशैंको समयमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवनले घाँटीमा जलन, एसिड रिफ्लक्स र निल्नमा असहजता हुन सक्छ, त्यसैले खानपानमा सावधानी अपनाउन चिकित्सकको सुझाव छ। • मासु खाँदा हड्डी वा मासुको टुक्रा घाँटीमा अड्किएमा गम्भीर समस्या आउन सक्छ, जसले निल्न र सास फेर्नमा कठिनाइ पैदा गर्न सक्छ। • अड्किएको वस्तु निकाल्नको लागि चिकित्सकको सहायता लिनु आवश्यक छ, र आफैले निकाल्ने ...

नेपालबहस
एनपीएलका लागि एक्सट्रीमले सार्वजनिक गर्‍याे सात वटा टोलीको लोगो अंकित स्पेशल एडिसन क्यान
ताजा खबरJust now

एनपीएलका लागि एक्सट्रीमले सार्वजनिक गर्‍याे सात वटा टोलीको लोगो अंकित स्पेशल एडिसन क्यान

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको रौनकलाई थप विशेष बनाउन भन्दै एक्सट्रीम इनर्जीले सात वटा टोलीको लोगो अंकित स्पेशल एडिसन क्यान सार्वजनिक गरेको छ। क्रिकेटप्रेमीहरूमाझ खेलप्रतिको उत्साह... ...

रातोपाटी
देव र दीपेन्द्रपछि रोहित पौडेलले पनि पूरा गरे ५० रनको आँकडा
ताजा खबरJust now

देव र दीपेन्द्रपछि रोहित पौडेलले पनि पूरा गरे ५० रनको आँकडा

काठमाडौं । आईसीसी विश्व क्रिकेट ’लिग टु’को वर्तमान साइकलअन्तर्गत नेपालको अन्तिम तथा निर्णायक खेलमा रोहित पौडेलले पनि अर्धशतक प्रहार गरेका छन् । यसअघि देव खनाल र दीपेन्द्र सिंह ऐरीले ५० रनको आँकडा पूरा गरेका थिए । रोहितले ५० रन पूरा गर्न ६१ बल खर्चिए । यसअघि दीपेन्द्रले ४७ बलमा ३ चौका र ३ छक्काको मद्तले ५० रनको आँकडा पूरा गरेका थिए ।घरेलु ...

कर्पोरट खबर
टाइगर श्राफलाई गोली प्रहार : नेपाल भाग्नै लाग्दा ३ जना पक्राउ
ताजा खबरJust now

टाइगर श्राफलाई गोली प्रहार : नेपाल भाग्नै लाग्दा ३ जना पक्राउ

बलिउड अभिनेता टाइगर श्राफलाई मार्ने उद्देश्यले गोली चलाएको आरोपमा भारतको राजस्थानस्थित कोटाबाट प्रहरीले सोमबार ३ जनालाई पक्रेको छ।  आइतबार अभिनेता टाइगर सवार कारमा ३ जनाले गोली प्रहार गरेका थिए। कार चालक घाइते भए पनि टाइगर बच्न सफल भए। यद्यपि बारुद र कारको सिसा फुटेर लाग्दा उनको बायाँ हातमा चोट लागेको छ।  सोही घटनामा संलग्न आरोपमा&n... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play