काठमाडौँ । पूर्वमुख्य सचिवसमेत रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिव एकनारायण अर्याल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले अर्याललाई ठगी तथा सङ्गठित अपराध सम्बन्धी कसूरमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको पुष्टि गरेको छ । उनलाई आज नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको सिआइबीले नाएको छ । अर्यालविरुद्ध अनुसन्धानका लागि गत मङ्सिर २ गते काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गर्ने अनुमति लिइएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र तथा विकास रानाभाट समेतको जाहेरीले नेपाल सरकार वादी र कैलाश खड्का समेत प्रतिवादी भएको ठगी तथा सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसूरमा उनलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ । प्रहरीका अनुसार नेपाल सरकार र मलेसिया सरकारबिच भएको समझदारी (एमओयू) विपरीत श्रमिकहरूलाई सङ्गठित रूपमा ठगी गरी गैरकानूनी रूपमा रकम सङ्कलन गरिएको थियो । सङ्कलित रकममध्ये ८३ लाख ७० हजार ४३९.९२ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८०.८० बेलायती पाउन्ड गरी जम्मा १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा विदेशी मुद्रा अपचलन गरी मलेसिया पठाउने निर्णय प्रक्रियामा अर्याल प्रत्यक्ष संलग्न रहेको आरोप छ । तत्कालीन सचिव अर्यालले आफ्नो पदीय जिम्मेवारी र कर्तव्य विपरीत सङ्गठित समूहको लाभका लागि मौन रही कानूनी उपचार नखोजेको तथा अधिकार क्षेत्र नाघेर देशको अर्थतन्त्र र विदेशी मुद्रा सञ्चितिमा नोक्सानी पुग्ने गरी आर्थिक लाभ लिने र दिलाउने कार्यमा संलग्न रहेको ब्यूरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपम शमशेर ज.ब.रा. द्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यो प्रकरणमा यसअघि नै व्यवसायी, पूर्वमन्त्री तथा उच्च पदस्थ प्रशासकहरू पक्राउ परिसकेका छन्। सुरुवाती चरणमा सिआइबीले बायोमेट्रिक संस्थाका सञ्चालक व्यवसायी कैलाश खड्कासहितका मेडिकल व्यवसायीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। त्यसैको निरन्तरता स्वरूप सिआइबीले गत मङ्सिर ३ गते दुई पूर्वश्रममन्त्रीसहित ६ जना उच्च अधिकारीलाई नियन्त्रणमा लिएको थियो । पक्राउ पर्नेहरूमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव, तत्कालीन श्रम सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुख (सहसचिव) उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानून अधिकृत (उपसचिव) निर्मला गुरुङ रहेका छन् ।
वैदेशिक रोजगारी ठगी तथा विदेशी मुद्रा अपचलन प्रकरणमा पूर्वमुख्यसचिव अर्याल पक्राउ

Read Complete Original Article
Published originally on टक्सार






