काठमाडौं । विद्यार्थीमा विज्ञान, प्रविधि र नवप्रवर्तनप्रतिको रुचि बढाउने उद्देश्यसहित टेक्सास एजुकेसन नेटवर्कले ‘साइन्स एन्ड आईटी एक्जिबिसन २०८३’ आयोजना गर्ने भएको छ । प्रदर्शनीको सातौँ संस्करण आगामी मंसिर २३ देखि २५ गतेसम्म काठमाडौंको मित्रपार्कस्थित टेक्सास एजुकेसन नेटवर्क परिसरमा सञ्चालन हुनेछ । प्रदर्शनीबारे जानकारी दिन नेटवर्कले बिहीबार पत्रकार सम्मेलन आयोजना गरेको थियो । सम्मेलनमा विज्ञान, प्रविधि, सिर्जनशीलता र नवीन सोचलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको जानकारी दिइयो । तीन दिनसम्म चल्ने प्रदर्शनी बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म अवलोकन गर्न सकिनेछ । आयोजकका अनुसार प्रदर्शनीमा विद्यार्थीले निर्माण गरेका ७० भन्दा बढी नवीन परियोजना प्रस्तुत गरिनेछन् । रोबोटिक्स, कृत्रिम बौद्धिकता अर्थात् एआईलगायतका प्रविधिको प्रत्यक्ष प्रदर्शन तथा विद्यार्थीका विशेष प्रस्तुतिसमेत रहनेछन् । यस वर्ष १५० विद्यालयका करिब २० हजार विद्यार्थी सहभागी हुने आयोजकको अपेक्षा छ । गत वर्ष सम्पन्न छैटौँ संस्करणमा १३० विद्यालयका १८ हजार अवलोकनकर्ता सहभागी भएका थिए । विद्यार्थीलाई आफैँ परियोजना निर्माण गर्ने, त्यसको प्रयोगात्मक ज्ञान हासिल गर्ने र आफ्नो सिर्जना सार्वजनिक रूपमा प्रस्तुत गर्ने अवसर दिनु प्रदर्शनीको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।
‘टेक्सास साइन्स एन्ड आईटी एक्जिबिसन’ मंसिर २३ देखि, ७० भन्दा बढी परियोजना प्रदर्शन गरिने

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु


_N9BXzstvfh.jpg)



