काठमाडौँ । मध्यपूर्वको प्रमुख ऊर्जा मार्ग होर्मुज जलमार्गमार्फत हुने कच्चा तेल र ग्यास आपूर्तिमा सुधार देखिन थालेको छ । अमेरिका इरान युद्ध र क्षेत्रीय तनावले प्रभावित बनेको आपूर्ति शृङ्खला विस्तारै सामान्य बन्दै गए पनि विश्व ऊर्जा बजार अझै पूर्ण रूपमा सुरक्षित अवस्थामा पुगिनसकेको विश्लेषकहरूले बताएका अन्तराष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेकाछन् । यद्यपी विश्व ऊर्जा बजारका लागि राहतको सङ्केत देखिन थालेको छ। पछिल्ला तथ्याङ्कअनुसार मध्यपूर्वी देशहरूको कच्चा तेल निर्यात युद्धअघिको स्तरको करिब ८० देखि ८५ प्रतिशतसम्म पुनःस्थापित भएको छ । पाइपलाइनमार्फत हुने ढुवानीसमेत जोड्दा कच्चा तेलको निर्यात उल्लेखनीय रूपमा बढेको देखिन्छ । डिजेल, पेट्रोल तथा अन्य प्रसोधित पेट्रोलियम पदार्थको निर्यात भने अझै कमजोर छ । ऊर्जा परामर्शदाता संस्था एफजिई नेक्सान्ट इसिएका अध्यक्ष एमेरिटस फेरेइदुन फेशाराकीका अनुसार प्रसोधित इन्धनको निर्यात अझै युद्धअघिको मात्र ३५ देखि ४० प्रतिशत हाराहारीमा सीमित रहेको छ । विश्लेषकहरूका अनुसार खाडी क्षेत्रका उत्पादकहरूले प्रसोधित इन्धनभन्दा कच्चा तेल निर्यातलाई प्राथमिकता दिएका छन् । तेल प्रशोधन केन्द्रहरू अझै पनि ड्रोन आक्रमणको जोखिममा रहेकाले उत्पादकहरूले कच्चा तेल ढुवानीलाई सुरक्षित विकल्पका रूपमा अघि बढाइरहेका छन् । यसले होर्मुज क्षेत्रको तनाव कम हुँदै गएको सङ्केत दिए पनि पूर्वाधारमा रहेको सुरक्षा जोखिम समाप्त नभएको देखाउँछ । यसैबिच कतारबाट हुने तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) निर्यातमा पनि सुधार देखिएको छ । ब्लुमबर्ग, केप्लर र कोपर्निकसका तथ्याङ्कअनुसार नोभेम्बर महिनामा कतारले प्रत्येक १० दिनमा औसत १३ देखि १५ वटा एलएनजी कार्गो लोड गरिरहेको छ । अक्टोबरमा यो सङ्ख्या करिब ११ जहाज मात्र थियो। यद्यपि हालको स्तर अझै युद्धअघिको क्षमताको करिब आधा मात्र हो । कतारी ग्यास आपूर्ति बढ्नु युरोपका लागि विशेष राहतको विषय बनेको छ । युरोपका प्राकृतिक ग्यास भण्डार मौसमी औसतभन्दा निकै कम रहेका बेला अतिरिक्त एलएनजी आपूर्तिले सम्भावित आपूर्ति सङ्कटलाई केही कम गर्ने अपेक्षा गरिएको छ । युरोपमा प्राकृतिक ग्यासको मूल्य हाल करिब ८२ युरो प्रतिमेगावाट घण्टामा कारोबार भइरहेको छ, जुन केही समयअघि १०० युरोभन्दा माथि पुगेको थियो । कूटनीतिक रूपमा देखिएका सकारात्मक सङ्केत र आपूर्ति सुधारले ऊर्जा बजारमा रहेको युद्धजन्य जोखिम प्रिमियम घटाउन सहयोग गरेको छ । यद्यपि जोखिमको अध्याय अझै समाप्त भएको छैन । गत महिना कतारको एउटा एलएनजी ट्याङ्करमाथि आक्रमण भएको थियो। त्यसले तत्काल निर्यातमा ठुलो असर नगरे पनि होर्मुजमार्फत हुने ऊर्जा आपूर्ति कति संवेदनशील छ भन्ने पुनः स्मरण गराएको छ । यसअघि यस्तै घटनाले कतारबाट हुने एलएनजी प्रवाह सुस्त पारेका उदाहरण छन् । ऊर्जा बजारका जानकारहरूका अनुसार विश्वभरका तेल तथा ग्यास भण्डार यस वर्ष जोखिमपूर्ण रूपमा घटेका छन् । त्यसमाथि युक्रेनले रूसी रिफाइनरीहरूलाई निरन्तर निशाना बनाइरहेकाले डिजेलसहितका प्रशोधित इन्धनको विश्व बजार आगामी वर्षसम्म पनि दबाबमा रहन सक्ने अनुमान गरिएको छ । विशेषगरी डिजेल आपूर्तिमा अझै अभाव रहने सम्भावना विश्लेषकहरूले औँल्याएका छन् । युरोपका लागि अर्को चुनौती भनेको ग्यास भण्डारणको समय लगभग समाप्त हुनु हो । जाडो मौसम सुरु भएसँगै भण्डारण गरिएको ग्यास निकाल्ने प्रक्रिया केही साताअघि नै सुरु भइसकेको छ । त्यसैले आपूर्ति बढे पनि भण्डार पुनः भरिने सम्भावना तत्काल देखिँदैन । दीर्घकालीन जोखिमलाई ध्यानमा राख्दै कतारले अमेरिकाबाट ठुलो परिमाणमा एलएनजी खरिद गर्ने रणनीति समेत अघि बढाएको छ । कतारले अमेरिकी कम्पनीहरू चेनीयेर र वुडसाइडसँग वार्षिक ७० लाख टनसम्म एलएनजी खरिद गर्ने सम्झौता गरेको छ । सन् २०३० र २०३१ देखि लागू हुने यी सम्झौताले अमेरिका एलएनजी बजारको प्रमुख शक्ति रहने सङ्केत दिएका छन् । विश्लेषकहरूका अनुसार यस वर्षको अमेरिका–इरान तनावका कारण कतारको करिब १७ प्रतिशत निर्यात क्षमता प्रभावित भएको थियो, जसबाट वार्षिक करिब २० अर्ब अमेरिकी डलर बराबरको राजस्व जोखिममा परेको अनुमान गरिएको छ । यही कारण कतारले भविष्यका सम्भावित अवरोधबाट जोगिन आपूर्ति स्रोत विविधीकरणको रणनीति अपनाउन थालेको देखिन्छ । ऊर्जा बजारमा हाल देखिएको सुधारले तत्काल राहत दिएको भए पनि होर्मुज मार्गमध्यको रणनीतिक संवेदनशीलता, घट्दो विश्वव्यापी भण्डार र जारी भूराजनीतिक तनावका कारण तेल तथा ग्यास बजार अझै लामो समयसम्म अस्थिर रहन सक्ने विश्लेषण गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
विश्व ऊर्जा बजारका लागि राहतको सङ्केत,होर्मुज मार्गमार्फत हुने कच्चा तेल र ग्यास आपूर्तिमा सुधार

Read Complete Original Article
Published originally on टक्सार






