काठमाडौं। नेपाली सेनाले कुकुर तिहारको अवसरमा मध्यपुर थिमिस्थित भैरव वाहन गुल्ममा विशेष ‘डग शो’ प्रदर्शन गर्दै कुकुर तिहार मनाएको छ। आइतबार आयोजित कार्यक्रममा कुकुरको पूजा गर्नुका साथै नेपाली सेनाका तालिमप्राप्त कुकुरहरूले खोज तथा पहिचान, ट्र्याकिङ, सुरक्षा र शङ्कास्पद वस्तु पहिचानलगायतका सीप प्रदर्शन गरेका थिए। कार्यक्रममा नेपाली सेनाको प्रबन्ध रथी विभागका विभागीय प्रमुख उपरथी हरेन्द्र पाठकले सीमित स्रोतसाधनका बीच कुकुरलाई विशेष तालिम दिएर जिम्मेवारी निर्वाह गराउनु चुनौतीपूर्ण रहेको बताए। उनले कुकुरलाई नेपाली सेनाको महत्वपूर्ण सहयोगी शक्ति तथा ‘फोर्स मल्टिप्लायर’का रूपमा प्रयोग गरिँदै आएको बताए। उनका अनुसार सुरक्षा तथा खोजी कार्यमा कुकुरको प्रयोगले जनशक्तिको प्रभावकारिता बढाउने गरेको छ। गस्ती, सुरक्षा, ट्र्याकिङ, खोजी तथा शङ्कास्पद व्यक्ति र विस्फोटक पदार्थ पहिचानमा कुकुरको भूमिका उल्लेखनीय रहेको उनले बताए। “डग प्रदर्शनी, डगहरूको क्षमता र विशेषता आफैँमा उत्कृष्ट प्रस्तुति हो। कच्चा कुकुरलाई विशेष प्रकारको तालिम दिएर यस्तो प्रदर्शनी गर्नु चुनौतीपूर्ण हुन्छ,” पाठकले भने, “फोर्स मल्टिप्लायरका रूपमा देश–विदेशमा कुकुरको भूमिका उल्लेखनीय रहेको छ।” उनले विशेषगरी पेट्रोलिङ तथा सुरक्षामा धेरै जनशक्ति आवश्यक पर्ने अवस्थामा एउटा तालिमप्राप्त कुकुरले पनि प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने बताए। ट्र्याकिङ, सर्च, आक्रमण तथा पक्राउलगायतका कार्यमा समेत कुकुरको प्रयोग हुने उनको भनाइ छ। कुकुरले शङ्कास्पद व्यक्ति तथा विस्फोटक पदार्थ पहिचान गर्न सक्ने क्षमता राख्ने उल्लेख गर्दै पाठकले युद्ध तथा जंगलमा खटिने सैनिकको मनोबल बढाउनसमेत कुकुरले सहयोग गर्ने बताए। उनका अनुसार सैनिकसँगै कुकुर परिचालन हुँदा कठिन तथा जोखिमपूर्ण जिम्मेवारीमा खटिने सैनिकको हौसला बढ्ने गरेको छ। नेपाली सेनाले कुकुरलाई निष्ठा, इमानदारिता र बफादारिताको प्रतीकका रूपमा लिँदै हरेक वर्ष कुकुर तिहारका दिन पूजा गर्दै आएको छ। परम्परागत धार्मिक तथा सांस्कृतिक मान्यताको संरक्षणसँगै मानव र कुकुरबीचको मित्रता तथा सहअस्तित्वलाई सम्मान गर्ने उद्देश्यले कुकुर पूजा गरिँदै आएको सेनाले जनाएको छ। कार्यक्रममा मध्यपुर थिमी नगरपालिकाका प्रमुख, वडा अध्यक्ष, सैनिक अधिकारी, पशु चिकित्सक, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। – न्युज एजेन्सी नेपाल
विशेष ‘डग शो’ प्रदर्शन गर्दै नेपाली सेनाले मनायो कुकुर तिहार

Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार






