विपद् प्रभावित वडाका क्षतिको विस्तृत विवरण माग्दै संसदीय विशेष समिति
राष्ट्रिय सभा अन्तर्गतको भोटेकोशी एवं कालीगण्डकी कोरिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले विपद् प्रभावित वडामा पुगेको राहत र भएको क्षतिको विस्तृत विवरण सरकारसँग माग्ने भएको छ । समितिको मंगलबार बसेको बैठकमा सभापति कृष्णप्रसाद पौडेलले राहत वितरणको समग्र तथ्याङ्क मात्र पर्याप्त नहुने भन्दै प्रभावित पालिका र वडागत विवरण उपलब्ध गराउन सरकारसँग माग गर्ने बताउनुभएको हो । उहाँका अनुसार प्रभावित प्रत्येक वडामा कति नगद राहत, खाद्यान्न तथा अन्य सहायता उपलब्ध गराइएको छ भन्ने विवरण आवश्यक छ । त्यसका लागि सम्बन्धित मन्त्रालयसँग समन्वय गरी तथ्याङ्क व्यवस्थित रूपमा उपलब्ध गराउन उहाँले समितिको सचिवालयलाई निर्देशन दिनुभएको छ । खोज, उद्धार र राहत वितरणको प्रारम्भिक चरण लगभग सकिएको उल्लेख गर्दै सभापति पौडेलले अब प्रभावित नागरिकका गुनासा सम्बोधन गर्ने र सरकारी तथ्याङ्कको वास्तविकता जाँच्ने काममा केन्द्रित हुनुपर्ने बताउनुभयो । ‘नेपाल सरकारले यति अर्ब, यति करोड राहत दिएका छौँ भनेर भएन । प्रभावित पालिकामा कति पुग्यो र प्रभावित वडामा कति पुग्यो भन्ने विवरण चाहियो । मैले पाएको इन्फर्मेसनमा ४९ जति वडा प्रभावित छन् । ती वडामा कति राहत पुग्यो ? के–के पुग्यो ? नगद कति पुग्यो ? खाद्यान्न कति पुग्यो ? यो कुरा सरकारले अद्यावधिक गरेर हाम्रो समितिलाई दिनुपर्यो,’ उहाँले भन्नुभयो । सरकारबाट प्राप्त तथ्याङ्क सही र व्यवस्थित भएमा मात्रै प्रभावित क्षेत्रको वास्तविक अवस्था बुझेर उचित निर्णय लिन सकिने उहाँको भनाइ छ । समितिले विपद् प्रभावित वडामा भएको क्षतिको वैज्ञानिक अभिलेखीकरणलाई प्राथमिकतामा राखेको छ । प्रत्येक वडाका अध्यक्ष र प्राविधिकको हस्ताक्षरसहित क्षतिको विवरण तयार पार्ने योजना रहेको सभापति पौडेलले बताउनुभयो । उक्त विवरणमा मृतक तथा बेपत्ता व्यक्तिको सङ्ख्या, प्रभावित परिवारका बालबालिकाको अवस्था, पशुपन्छीमा भएको क्षति, खेतीपातीको नोक्सानी तथा प्रभावित परिवारको सामाजिक र आर्थिक अवस्थासमेत समेटिनेछ । त्यसैगरी, प्रभावित नागरिकको रोजगारी, उद्योग–व्यवसाय र विद्यालय सञ्चालनको अवस्थाबारे पनि अभिलेख राख्नुपर्ने उहाँको भनाइ छ । सरकारले उपलब्ध गराएको विवरण र स्थानीय नागरिकले दिएको जानकारीबीच फरक देखिएमा सम्बन्धित सरकारी निकायलाई समितिमा बोलाएर स्पष्टीकरण लिइने उहाँले बताउनुभयो । ‘सरकारले हामीलाई दिएको डेटा र त्यहाँका नागरिकले भनेको डेटाबीच फरक आयो भने फेरि सरकारलाई बोलाउँछौँ । तपाईँले हामीलाई यति गर्यौँ भन्नुभएको थियो, तर त्यहाँका नागरिकले त यो होइन भन्छन् भने त्यसबारे स्पष्ट पार्नुपर्छ । यो अलिकति संवेदनशील कुरा पनि छ । कुन वडामा कति बेपत्ता भए ? तिनीहरूका बालबच्चाको अवस्था के छ ? रोजगारीको अवस्था के छ ? उद्योग–व्यवसायको अवस्था के छ ? त्यसको विस्तृत विवरण हुनुपर्छ,’ उहाँले भन्नुभयो । समितिले सरकारी विवरण र स्थानीय तहबाट प्राप्त तथ्याङ्क भिडाएर प्रमाणीकरण गरेपछि मात्रै स्थलगत अनुगमनमा जाने तयारी गरेको छ । समितिमा प्रस्तावित कार्ययोजनाअनुसार कात्तिक १७ देखि २१ गतेसम्म रसुवा, नुवाकोट र धादिङका विपद् प्रभावित क्षेत्रको अनुगमन गरिनेछ । अनुगमनका क्रममा सम्बन्धित जिल्लाका सङ्घीय तथा प्रदेश सांसद, प्रभावित गाउँपालिका र नगरपालिका, वडा प्रतिनिधि, सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका जिल्ला सभापति तथा अन्य सरोकारवालासँग अन्तरक्रिया र छलफल गर्ने तयारी छ । प्रस्तावित कार्यक्रमअनुसार धादिङको गल्छी, नुवाकोटको विदुर र रसुवाको धुञ्चेमा छलफल गरिनेछ । समितिले राहत वितरणको समग्र विवरणमा मात्र सीमित नभई प्रभावित वडामा वास्तविक रूपमा पुगेको सहायता, भएको क्षति र नागरिकले भोगिरहेका समस्यालाई आधार बनाएर अनुगमन गर्ने जनाएको छ । बैठकमा सहभागी सांसदहरूले भोटेकोशी र कालीगण्डकी कोरिडोरका साथै गोरखा तथा बुढीगण्डकी कोरिडोरमा समेत अनुगमन गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरूले विपद् प्रभावित नागरिकको दैनिक जीवनयापन, मानसिक स्वास्थ्य, रोजगारी र कृषिमा परेको प्रभावबारे जानकारी लिन सम्बन्धित विज्ञ, मन्त्रालय तथा विभागका प्रतिनिधिलाई समेत अनुगमनमा सहभागी गराउनुपर्ने बताएका थिए ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

ओलीको टिप्पणी– पार्वतीको श्रापपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ
‘पार्वतीले श्राप दिएपछि फेरि भगवानहरू, नक्कली भगवान जन्मिएर हैरान छ । हामी आफैंले पनि अब यसो दक्षिणतिरका जोगीहरू आए भनेदेखि ठ्याप्पै खुट्टा समातेर ढोग्न मन लागिहाल्ने त्यस्तो चलन छ ।’ ...

एनपीएल : विराटनगरलाई ८ रनले हराउँदै चितवन राइनोज विजयी
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किङ्सलाई ८ रनले पराजित गरेको छ। चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा सबै विकेट गुमाउँदै १४९ रनमा समेटियो। यससँगै चितवनले ८ रनको जित निकालेको हो। ...

कमल चम्किँदा विराटनगरमाथि चितवनको रोमाञ्चक जित
जितका लागि विराटनगरलाई जितका लागि १८ बलमा २१ रन आवश्यक थियो । तर, १८औं ओभरमा कमलसिंह ऐरीले लगातार दुई विकेट लिएसँगै विराटनगर धरापमा पर्यो । ...

कहिँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)
लहरै तीनवटा रथ निकालेर सुरु गरिने यो जात्रा काठमाडौंका अन्य जात्रा भन्दा फरक हुन्छ । ...


