काठमाडौँ, मङ्सिर १० । सरकारले विपद्बाट प्रभावित परिवारलाई अस्थायी आवास तथा राहत अनुदानका लागि सम्बन्धित वडा कार्यालयमार्फत आवेदन दिन आग्रह गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले निजी आवास पूर्ण रूपमा क्षति भएका वा आंशिक क्षति भए पनि बस्न योग्य नरहेका परिवारलाई आवश्यक कागजातसहित वडा कार्यालयमा निवेदन दिन आग्रह गरेको हो। आवेदनमा परिवारका सबै सदस्यको नाम, थर, उमेर र लिङ्ग खुलाउनुपर्नेछ। साथै अपाङ्गता भएका व्यक्ति, गर्भवती, सुत्केरी, एकल महिला, दीर्घरोगी, लोपोन्मुख जाति, भूमिहीन, दलित तथा यौनिक अल्पसङ्ख्यक सदस्यको विवरणसमेत स्पष्ट उल्लेख गर्नुपर्ने प्राधिकरणले जनाएको छ। सरकारले वैकल्पिक बसोबासको व्यवस्था नहुँदासम्म बढीमा ६ महिनाका लागि राहत रकम उपलब्ध गराउने योजना बनाएको छ। चार जनासम्म सदस्य भएको परिवारले प्रतिमहिना १५ हजार रुपैयाँ पाउनेछन्। पाँच जना वा सोभन्दा बढी सदस्य भएको परिवारले भने चार जनाभन्दा बढी प्रत्येक सदस्यका लागि थप दुई हजार रुपैयाँका दरले मासिक अनुदान प्राप्त गर्ने प्राधिकरणले जनाएको छ। विपद्का कारण तत्काल बैंक खाता खोल्न नसक्ने अवस्था भए आवश्यक व्यवस्था मिलाएर नगदसमेत वितरण गर्न सकिने प्राधिकरणले स्पष्ट पारेको छ।
विपद् प्रभावितले अनुदानका लागि वडामार्फत आवेदन दिन सक्ने, परिवारलाई मासिक १५ हजारसम्म राहत

Read Complete Original Article
Published originally on जनताटाइम्स






