काठमाडौं । विपद्का समयमा नागरिकलाई मोबाइल फोनमार्फत तत्काल पूर्वसूचना उपलब्ध गराउने उद्देश्यले सरकारले ‘सेल ब्रोडकास्टिङ प्रणाली’ परीक्षण गर्ने भएको छ । सूचना तथा सञ्चार मन्त्रालय, गृह मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल टेलिकमको समन्वयमा शुक्रबार मङ्सिर ४ गते काठमाडौंको बलम्बु क्षेत्रमा प्रणालीको सीमित प्राविधिक परीक्षण गरिने भएको हो । नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालका अनुसार परीक्षणका क्रममा तोकिएको क्षेत्रमा रहेका परीक्षण मोबाइल उपकरणमा नेटवर्कमार्फत पूर्वसूचना सन्देश पठाइनेछ । परीक्षणका लागि तोकिएका उपकरणमा मात्र सन्देश प्राप्त हुनेछ । यो प्रणालीमार्फत निश्चित भौगोलिक क्षेत्रभित्र रहेका मोबाइल फोनमा एकैपटक आपत्कालीन सूचना पठाउन सकिन्छ । सामान्य सन्देश सेवाभन्दा फरक यस प्रविधिले इन्टरनेट वा सिमकार्ड सेवा नभए पनि मोबाइल नेटवर्कको पहुँचमा रहेका उपकरणमा सूचना पुर्याउन सक्छ। नेटवर्कमा अत्यधिक चाप भएका बेला पनि छोटो समयमा धेरै मोबाइलमा सन्देश पठाउन सकिने यसको विशेषता हो । प्रारम्भिक परीक्षण सफल भएमा प्रणालीलाई चरणबद्ध रूपमा विस्तार गरी बाढी, पहिरोलगायत प्राकृतिक विपद्को उच्च जोखिम रहेका क्षेत्रमा लागू गर्ने योजना छ । यसबाट जोखिममा रहेका नागरिकलाई समयमै सचेत गराउन र सम्भावित क्षतिबाट जोगिन पूर्वतयारी गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । The post विपद्को पूर्वसूचना दिन मोबाइलमा एकैपटक सन्देश पठाउने प्रणाली परीक्षण हुँदै appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
विपद्को पूर्वसूचना दिन मोबाइलमा एकैपटक सन्देश पठाउने प्रणाली परीक्षण हुँदै

Read Complete Original Article
Published originally on कर्पोरट खबर






