‘विपद्को दुई महिना बित्दा पनि कृषि क्षतिको तथ्याङ्क आएन’

काठमाडाैँ । भोटेकोशी र कालीगण्डकी करिडोरमा विपद् आएको एकदेखि दुई महिना बितिसक्दा पनि कृषि, पशुपंक्षी तथा वातावरणीय क्षतिको प्रारम्भिक तथ्याङ्क सार्वजनिक हुन नसकेको भन्दै सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार सिंहदरबारमा बसेको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा सांसदहरूले क्षतिग्रस्त खेतीयोग्य जमिन, नष्ट भएका बाली तथा पशुचौपायाको विवरण तत्काल संकलन गरी सार्वजनिक गर्न माग गरेका हुन् । उनीहरूले कृषि उत्पादनमा आएको कमीले खाद्यान्न तथा मासु आपूर्ति, सम्भावित आयात र समग्र अर्थतन्त्रमा पार्ने प्रभावसमेत अध्ययन गरी क्षतिको सूक्ष्म र आधिकारिक तथ्याङ्कसहित प्रतिवेदन तयार गर्नुपर्नेमा जोड दिएका छन् । नेकपा एमालेका सांसद सोमनाथ पोर्तेलले भोटेकोशी र कालीगण्डकी करिडोरमा भएका विपद्का घटनाको लामो समय बितिसक्दा पनि कृषि क्षेत्रको क्षतिको प्रारम्भिक तथ्याङ्क सार्वजनिक हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले भोटेकोशीमा विपद् आएको करिव दुई महिना र कालीगण्डकीमा विपद् आएको करिव एक महिना बितिसक्दा पनि क्षतिको विवरण स्पष्ट हुन नसकेको बताए । सांसद पोर्तेलले मानवीय क्षतिको विवरण उपलब्ध भएजस्तै कृषि तथा पशुपंक्षी क्षेत्रमा भएको भौतिक क्षतिको प्रारम्भिक विवरण पनि यतिबेलासम्म तयार भइसक्नुपर्ने उल्लेख गरे । कृषि गणनाका तथ्याङ्कलाई समेत आधार बनाएर क्षतिको प्रारम्भिक आकलन गर्न सकिने उनको भनाइ छ । उनले बाढीपहिरोका कारण कति पशुचौपाया मरे वा बगे, कति खेतीयोग्य जमिनमा क्षति पुग्यो र कति बाली नष्ट भयो भन्ने विवरण तत्काल संकलन गर्न सकिने उल्लेख गरे। क्षतिको आर्थिक मूल्याङ्कन वैज्ञानिक विधिबाट गर्नुपर्ने भएपनि प्रत्यक्ष देखिने भौतिक क्षतिको प्रारम्भिक तथ्याङ्क सार्वजनिक गर्न ढिलाइ गर्न नहुने उनले बताए । भूमि तथा जमिनसम्बन्धी विवरण एउटा मन्त्रालय र खेतीबाली तथा पशुपंक्षीसम्बन्धी विवरण अर्को मन्त्रालयले संकलन गर्नुपर्ने भएकाले तथ्याङ्क एकीकृत गर्न केही जटिलता हुनसक्ने उनले उल्लेख गरे । यद्यपि, मन्त्रालयबिच समन्वय गरेर तथ्याङ्क तयार गर्नुपर्नेमा उनले जोड दिए । भौतिक पूर्वाधारसँग सम्बन्धित मन्त्रालयहरूले विपद्बाट क्षति भएका पुल, सडक तथा घरहरूको विवरण प्रस्तुत गरे पनि कृषि क्षेत्रको क्षतिबारे सोहीअनुसार तथ्याङ्कसहितको विवरण प्राप्त हुन नसकेको उनको भनाइ छ । सांसद पोर्तेलले जैविक विविधता तथा जलचरमा भएको क्षतिको वैज्ञानिक मूल्याङ्कन आवश्यक भए पनि तत्काल पहिचान गर्न सकिने क्षतिको विवरण भने सम्बन्धित मन्त्रालयले सार्वजनिक गर्नुपर्ने बताए । उनले कृषि तथा पशुपंक्षी क्षेत्रको क्षतिको प्रारम्भिक तथ्याङ्क छिटो उपलब्ध गराउन र यस विषयमा मन्त्रालयले तदारुकता देखाउन आग्रह गरे।नेपाली कम्युनिष्ट पार्टीका सांसद घनश्याम रिजालले भोटेकोशी एवं कालीगण्डकी करिडोरमा विपद्बाट कृषि उत्पादन र पशुपंक्षी क्षेत्रमा परेको क्षतिको विस्तृत अध्ययन गर्न आग्रह गरे । उनले क्षतिको विवरण संकलन गर्दा जमिनमा भएको क्षतिसँगै कृषि उत्पादनमा परेको असरसमेत आँकलन गर्नुपर्ने बताए । सांसद रिजालले विपद्का कारण धान, कोदो, गहुँलगायतका कृषि उत्पादनमा कति क्षति भयो भन्ने विवरण संकलन गर्नुपर्ने उल्लेख गरे । कृषि उत्पादनमा आएको कमीले यस वर्ष खाद्यान्न आपूर्ति, आयात र समग्र अर्थतन्त्रमा कस्तो प्रभाव पार्न सक्छ भन्ने विषयमा समेत अध्ययन आवश्यक रहेको उनको भनाइ छ । उनले प्रभावित क्षेत्रबाट उत्पादन हुने कृषि उपजको अभाव पूर्ति गर्न अन्य क्षेत्र वा विदेशबाट कति खाद्यान्न आयात गर्नुपर्ने अवस्था आउन सक्छ भन्ने विषयमा पनि विश्लेषण गर्नुपर्ने बताए । त्यसका लागि आयात गर्नुपर्ने धान, चामललगायतका वस्तुको परिमाण र मूल्यको आकलन गर्न सके समितिको प्रतिवेदन थप प्रभावकारी हुने उनले उल्लेख गरे । सांसद रिजालले विपद्बाट खसीबोका लगायतका पशुचौपायामा भएको क्षतिको विवरण पनि व्यवस्थित रूपमा संकलन गर्नुपर्ने बताए । प्रभावित क्षेत्र राजधानी नजिकै रहेको र त्यहाँबाट काठमाडौं उपत्यकामा मासुजन्य उत्पादन आपूर्ति हुने गरेको उल्लेख गर्दै उनले पशुचौपायाको क्षतिले मासु आपूर्ति तथा बजारमा पार्न सक्ने प्रभावको अध्ययन गर्नुपर्ने धारणा राखे । कृषि उत्पादन र पशुपंक्षी क्षेत्रमा भएको क्षतिको यथार्थ तथ्याङ्क प्राप्त भएमा खाद्यान्न तथा मासुजन्य वस्तुको आपूर्ति, सम्भावित आयात र आर्थिक प्रभावबारे स्पष्ट आकलन गर्न सकिने उनको भनाइ छ । नेपाली कम्युनिष्ट पार्टीका सांसद श्रीकृष्णप्रसाद अधिकारीले भोटेकोशी एवं कालीगण्डकी करिडोरमा विपद्बाट भएको वन, कृषि तथा वातावरणीय क्षतिको सुक्ष्म र आधिकारिक तथ्याङ्क तत्काल उपलब्ध गराउन सरकारसँग माग गरे । उनले राहत तथा उद्धारदेखि मानवीय र भौतिक क्षतिको विवरण संकलनसम्मका कामका लागि सुक्ष्म तहको तथ्याङ्क आवश्यक रहेको बताए । सांसद अधिकारीले विशेषगरी वन तथा कृषि क्षेत्रसँग सम्बन्धित क्षतिको आधिकारिक विवरण उपलब्ध नहुँदा अध्ययन र आगामी काम अघि बढाउन कठिनाइ हुने उल्लेख गरे । मन्त्रालयले पनि आवश्यक तथ्याङ्क संकलन गरिरहेको भए तत्काल उपलब्ध गराउँदा समितिलाई काम शुरु गर्न सहज हुने उनको भनाइ छ । उनले वन्यजन्तुमा भएको क्षति, वनजंगलको अवस्था, कृषि उद्योग, कृषि बाली, सिंचाई प्रणाली तथा खेतीयोग्य जमिनमा भएको क्षतिको छुट्टाछुट्टै विवरण आवश्यक रहेको बताए । यी सबै क्षेत्रको क्षतिको सूक्ष्म विवरण संकलन गरी आधिकारिक तथ्याङ्क तयार गर्नुपर्नेमा उनले जोड दिए । रसुवास्थित लाङटाङ राष्ट्रिय निकुञ्जको ठूलो भूभागमा परेको प्रभावसहित वातावरणीय तथा पारिस्थितिकीय क्षतिको अध्ययन गर्नुपर्ने उनले बताए । स्याफ्रुभन्दा माथिको क्षेत्रसँगै त्यसभन्दा तलका प्रभावित क्षेत्रमा भएको क्षतिको विवरण पनि समेटिनुपर्ने उनको भनाइ छ । सांसद अधिकारीले विपद्पछि पुनर्निर्माण तथा पूर्वाधार निर्माणका क्रममा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) र प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) लगायतका प्रक्रियामा देखिएका समस्यालाई समेत अध्ययनमा समेट्नुपर्ने बताए । विपद्बाट प्रभावित क्षेत्रको पुनर्निर्माण र पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन वन, कृषि, वातावरण तथा अन्य क्षेत्रको क्षतिको विवरण सूक्ष्म रूपमा संकलन गरी यथाशिघ्र उपलब्ध गराउन उनले सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराए ।
Read Complete Original Article
Published originally on टक्सार
Related News

दसौँ राष्ट्रिय खेलकुदमा बागमतीले उत्कृष्ट नतिजा ल्याउँछ : मन्त्री तामाङ
मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा बागमती प्रदेशले उत्कृष्ट नतिजा हासिल गर्ने विश्वास व्यक्त गरेका छन् । उनले आगामी मंसिरमा कर्णालीको सुर्खेतमा आयोजना... ...

३२ रन बनाएर आउट भए हसन
काठमाडौँ। नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सका म्यादी हसज ३२ रन बनाएर आउट भएका छन्। बुधबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबिचको खेलमा हसनले २१ बलमा ३२ रन... ...

दसैंमा प्रहरीको अपरेसन : १,३२७ जना पक्राउ
काठमाडौं। १ कात्तिकमा सुनसरी इनरूवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित ३६ वर्षीय बुलबुल यादव पक्राउ परे। जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले बुलबुल यादवको घर तलासी गर्दा गाँजासहित उनलाई पक्राउ गरेको थियो। उक्त प्रकरणमा चार जना पक्राउ परिसकेका छन्। यसैगरी काठमाडौं दक्षिणकाली नगरपालिका–५ फर्पिङ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७२ हजार ८० ट्याब्लेटसहित बारा घर भएका २७ वर्षीय सुदिप ...

बगरमा बदलिएको पाल्पाको ‘रानीमहल’ क्षेत्र
पाल्पा, कात्तिक ११ गते । पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई आकर्षित गथ्यो । महल उत्तरवाहिनी कालीगण्डकी नदीको तटमा रहेको छ । महलको सुन्दरता नियाल्न, तस... ...


