Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना

Share:WhatsAppFacebookX (Twitter)Telegram
विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना
Photo / Coverage: नेपालन्युज

म्याग्दी। मनसुनजन्य विपद्ले म्याग्दीका जलविद्युत् आयोजनाको विद्युत् उत्पादन, प्रसारण र निर्माण कार्य प्रभावित बनाएको छ। कालीगण्डकी र म्याग्दी नदी तथा तिनका सहायक खोलामा आएको बाढी पहिरोले सञ्चालनमा रहेका र निर्माणाधीन आयोजनाका बाँध, विद्युत् गृह, सुरुङ, प्रसारण लाइन र पहुँच मार्गमा क्षति पुर्‍याएको हो। विपद्का कारण केही आयोजना पूर्ण रूपमा बन्द भएका छन् भने केहीको परीक्षण उत्पादन र निर्माण कार्य प्रभावित भएको छ। निर्माणाधीन आयोजनामा निर्माण सामग्री तथा उपकरण ढुवानी अवरुद्ध हुँदा कामको गति सुस्त भएको छ। यसले आयोजना सम्पन्न हुने अवधि लम्बिनुका साथै निर्माण लागत बढ्ने जोखिम बढाएको छ। कालीगण्डकी नदीको कटानले २२० केभी क्षमताको कालीगण्डकी करिडोरअन्तर्गत दाना–खुर्कोट प्रसारण लाइनका अन्नपूर्ण गाउँपालिका–१ दोबामा दुई वटा र रातोपानीमा एउटा टावर बगाएको छ। धिरच्याङको टावरमा आंशिक क्षति पुगेको छ भने तिप्ल्याङ क्षेत्रको अर्को टावर जोखिममा परेको छ। प्रसारण लाइन अवरुद्ध भएपछि उत्तरी म्याग्दीका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न समस्या भएको थियो। नेपाल विद्युत् प्राधिकरणको पोखरास्थित ग्रिड कार्यालयका प्रमुख रोशन खड्काका अनुसार भिरकाटेमा अस्थायी टावर निर्माण गरी करिब दुई किलोमिटर तार तानेर गत असोज ३१ गतेदेखि विद्युत् आपूर्ति पुनः सञ्चालन गरिएको थियो। क्षतिग्रस्त टावर र प्रसारण लाइनको स्थायी पुनर्निर्माण प्रक्रिया अघि बढाइएको छ। अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका घलेम्दीखोला, म्रिस्त्रीखोला, निलगिरी–१, नीलगिरी–२ र रेलेखोलाका साथै मुस्ताङको थापाखोला जलविद्युत् आयोजनाको विद्युत् यही प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा जोडिँदै आएको छ। बाढी पहिरोले अन्नपूर्ण गाउँपालिकाका दुई जलविद्युत् आयोजना बन्द भएका छन्। रेलेखर्क क्षेत्रबाट आएको बाढीले बाँधमा गेग्रान थुपारेपछि छ मेगावाट क्षमताको रेलेखोला आयोजना बन्द भएको आयोजनाका प्रतिनिधि होमनाथ पाण्डेले बताए। त्यस्तै, १४ मेगावाट क्षमताको घारखोला आयोजनाको विद्युत् गृह गत साउन २६ गतेको सुक्खा पहिरोले पुरिएको थियो। त्यसपछि गत असोजको बाढी पहिरोले बाँधमा थप क्षति पुर्‍याएको छ। विद्युतगृह पुरिँदा एक जनाको मृत्यु र एक जना घाइते भएका थिए। आयोजनाको पुनर्निर्माण तयारी भइरहेको र प्रारम्भिक अनुमानअनुसार रु एक अर्बभन्दा बढी क्षति भएको म्याग्दी हाइड्रोपावरका प्रशासन प्रमुख अनिल तिवारीले बताए। कालीगण्डकी बेसीनमा निर्माणाधीन १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज र ६६ दशमलव तीन मेगावाटको मध्यकालीगण्डकी आयोजनाको निर्माण डेढ महिनादेखि प्रभावित भएको छ। कालीगण्डकी गर्जको मुस्ताङको घाँसास्थित थाप्लामा रहेको बाँध निर्माणस्थलमा बाढीले गेग्रान थुपारेपछि काम रोकिएको आयोजनाका वरिष्ठ प्रबन्धक कृष्णदास श्रेष्ठले बताए। मध्यकालीगण्डकी आयोजनाको सुकेबगरस्थित बाँध, सुरुङ, आवास, मेसिनरी, उपकरण, निर्माण सामग्री, डिजेल ट्याङ्करमा बाढीले क्षति पुर्‍याएको प्रवर्द्धक हाइड्रो सपोर्ट प्रालिको लगानीकर्ता आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताउनुभयो। बाढीले निर्माणस्थलको डाइभर्सन भत्काउनुका साथै नागढुङ्गा र रातोपानीका आवास भवन तथा नौलीबगरस्थित पहुँच मार्ग क्षति गरेको छ। रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित विद्युत् गृह क्षेत्रमा कालीगण्डकी नदीको कटानले क्षति पुर्‍याउँदा ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको परीक्षण अवधि लम्बिएको छ। टेलरेस गेट र स्वीचयार्ड नजिकको क्षेत्रमा क्षति पुग्नुका साथै विद्युत् गृहमा पानी पसेर डुबान भएको थियो। हाल २०/२० मेगावाट क्षमताका दुई युनिट आलोपालो सञ्चालन गरी परीक्षण उत्पादन भइरहेको आयोजनाका प्रबन्ध सञ्चालक गणेश केसीले बताए। म्याग्दीखोला बेसीनमा निर्माणाधीन आयोजनामा पनि पहुँच मार्ग र ढुवानीको समस्या देखिएको छ। घुमाउने, बालौटे, बाङ्गेपहिरो, इल्पु र शिवरात्रि खोलाको बाढी पहिरोले निर्माण सामग्री तथा उपकरण ढुवानी प्रभावित भएको अपर म्याग्दीखोला–१ का आयोजना प्रमुख ज्योतिकुमार केसीले बताए। कूल ६० प्रतिशत भौतिक प्रगति भएको माथिल्लो म्याग्दी आयोजनाको निर्माणमा असर परेको छ। दरखोलालगायतका आयोजनाको सडकका विभिन्न स्थानमा पहिरो खस्दा निर्माण सामग्री ढुवानी गर्न समस्या भएको छ। यद्यपि, राहुघाट करिडोरका अपर राहुघाट, मङ्गले–चिमखोला–राहुघाट, अपर ठूलोखोला र ठूलोखोला जलविद्युत् आयोजनाको उत्पादन नियमित रहेको छ। बाढी पहिरोले जलविद्युत् आयोजनाका मुख्य संरचनासँगै प्रसारण लाइन, पहुँच मार्ग, निर्माण सामग्री भण्डारणस्थल र आवास संरचनासमेत जोखिममा रहेको देखाएको छ। जलविद्युत् क्षेत्रमा बढ्दो लगानीको सुरक्षा गर्न नदी कटान नियन्त्रण, सुरक्षित तटबन्ध, वैकल्पिक पहुँच मार्ग, प्रसारण टावरको संरक्षण र विपद् पूर्वतयारीलाई आयोजना निर्माण तथा सञ्चालनको अभिन्न अङ्ग बनाउनुपर्ने आवश्यकता देखिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रधानमन्त्री मंसिर ६ गते भारत भ्रमणमा जाँदै, मोदीसँग ३० मिनेट एक्लाएक्लै वार्ता हुने
Latest NewsJust now

प्रधानमन्त्री मंसिर ६ गते भारत भ्रमणमा जाँदै, मोदीसँग ३० मिनेट एक्लाएक्लै वार्ता हुने

• प्रधानमन्त्री बालेन्द्र शाह आगामी मंसिर ६ र ७ गते भारत भ्रमणमा जाने भएका छन्। • भ्रमणको क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ३० मिनेटको एक्ला भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। • नेपालले भारतसँग आर्थिक सहयोग, हवाई सम्पर्क विस्तार र थप हवाई प्रवेशमार्गको विषयमा छलफल गर्ने तयारी गरेको छ। ...

नेपालबहस
अमेरिकी चेस बैंकको अनलाइन सेवा अवरुद्ध हुँदा हजारौँ सेवाग्राही प्रभावित
Latest NewsJust now

अमेरिकी चेस बैंकको अनलाइन सेवा अवरुद्ध हुँदा हजारौँ सेवाग्राही प्रभावित

काठमाडौँ । अमेरिकाको चेस बैंक (Chase Bank) का हजारौं ग्राहकले सोमबार आफ्नो अनलाइन बैंक खातामा पहुँच स्थापित गर्न र बैंकिङ कारोबार गर्न समस्या भोगेका छन् । बैंकको मातृ संस्था जेपीमोर्गन चेसले यो समस्या कुनै साइबर आक्रमणका कारण नभई सफ्टवेयरमा आएको अस्थायी त्रुटिका कारण भएको जनाएको सिएनएनले उल्लेख गरेको छ । बैंकका प्रवक्ताका अनुसार कम्पनीको प्रणालीमा देखिएको एउटा सफ्टवेयर ‘बग’ का ...

टक्सार
टमाटरखेतीमा अब्बल बन्दै टोड्केका किसान
Latest NewsJust now

टमाटरखेतीमा अब्बल बन्दै टोड्केका किसान

इलाम । इलामको माङसेबुङ गाउँपालिका–६ स्थित टोड्के गाउँ व्यावसायिक टमाटरखेतीको केन्द्र बन्दै गएको छ । गाउँका ८० घरपरिवार व्यावसायिक टमाटरखेतीमा संलग्न छन् । यहाँबाट वार्षिक रु एक करोड २० लाखभन्दा... ...

रातोपाटी
बढ्दै छन् कफी पारखी
Latest NewsJust now

बढ्दै छन् कफी पारखी

काठमाडौँ, मङ्सिर १ गते । विगतमा निर्यातमुखी उत्पादनका रूपमा हेरिने कफीको खपत अहिले मुलुकभित्र पनि उल्लेख्य बढेको पाइएको छ । देशभित्र कफी पारखी बढ्दै जाँदा देशभित्रै उत्पादित कफीको... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play