काठमाडौँ । अमेरिकाको चेस बैंक (Chase Bank) का हजारौं ग्राहकले सोमबार आफ्नो अनलाइन बैंक खातामा पहुँच स्थापित गर्न र बैंकिङ कारोबार गर्न समस्या भोगेका छन् । बैंकको मातृ संस्था जेपीमोर्गन चेसले यो समस्या कुनै साइबर आक्रमणका कारण नभई सफ्टवेयरमा आएको अस्थायी त्रुटिका कारण भएको जनाएको सिएनएनले उल्लेख गरेको छ । बैंकका प्रवक्ताका अनुसार कम्पनीको प्रणालीमा देखिएको एउटा सफ्टवेयर ‘बग’ का कारण केही ग्राहकलाई सेवा उपलब्ध गराउन सामान्यभन्दा बढी समय लागेको हो । सामाजिक सञ्जालमा आएका प्रतिक्रियाअनुसार केही ग्राहकले चेसका शाखा कार्यालयमै पुगेर पनि कारोबार गर्न कठिनाइ भोगेका थिए । केही शाखाले आन्तरिक प्रणालीमा समस्या रहेको जानकारीसमेत दिएका थिए । अमेरिकी सेवा निगरानी प्लेटफर्म डाउनडिटेक्टरका अनुसार सोमबार दिउँसो २ बजेसम्म ४,७०० भन्दा बढी ग्राहकले समस्या रिपोर्ट गरेका थिए । यसबिच बैंक अफ अमेरिका, वेल्स फार्गो र यू.एस. बैंक जस्ता अन्य ठूला बैंकका ग्राहकले पनि केही अवरोधको गुनासो गरेका थिए तर ती समस्याहरू मुख्यतः चेस बैंकका खातामा डिजिटल भुक्तानी सेवा जेलमार्फत रकम पठाउने वा प्राप्त गर्ने प्रक्रियासँग सम्बन्धित रहेको बताइएको छ। यु.एस. बैंकले आफ्नो प्रणाली प्रत्यक्ष रूपमा प्रभावित नभएको तर अन्य वित्तीय संस्थासँग कारोबार गर्ने ग्राहकले भुक्तानी ढिलाइ अनुभव गर्न सक्ने जनाएको छ । जेलले भने आफ्नो सेवा सामान्य रूपमा सञ्चालन भइरहेको दाबी गर्दै समस्या सम्बन्धित बैंकहरूको प्रणालीगत अवरोधका कारण उत्पन्न भएको संकेत गरेको छ। चेस बैंकले पनि यो व्यापक वित्तीय प्रणालीमा असर पार्ने खालको समस्या नभएको स्पष्ट पारेको छ । बैंकका अनुसार अन्य बैंकहरूमा देखिएको प्रभाव केवल चेससँग सम्बन्धित कारोबारहरूमा मात्र सीमित हुन सक्छ । प्रविधि प्रणालीमा लगातार अवरोधचेस बैंकको यो समस्या लगातार तेस्रो कार्यदिनमा देखिएको ठलो प्राविधिक अवरोध बनेको छ । यसअघि बिहीबार माइक्रोसफ्टको सेवामा आएको अवरोधका कारण ७४ देश तथा क्षेत्रमा लाखौं प्रयोगकर्ताले इमेल पहुँच गुमाएका थिए । शुक्रबार फेडरल एभिएसन एडमिनिस्ट्रेसनको प्रणाली त्रुटिले अमेरिकाभर उडान रोक्नुपर्ने स्थिति सिर्जना गरेको थियो। त्यस्तै सोमबार युनाइटेड एयरलाइन्सले पनि आफ्नो कम्प्युटर प्रणालीमा समस्या देखिएको र त्यसका कारण उडानहरू ढिलाइ भएको जनाएको छ । यद्यपि यी घटनाका कारणहरू फरक–फरक भए पनि विज्ञहरूले एउटा साझा समस्या औंल्याएका छन्, त्यो हो आधुनिक डिजिटल प्रणालीहरूको जटिलता र परस्पर निर्भरता ।
अमेरिकी चेस बैंकको अनलाइन सेवा अवरुद्ध हुँदा हजारौँ सेवाग्राही प्रभावित

Read Complete Original Article
Published originally on टक्सार






