काठमाडौं। अमेरिकी राजधानी वासिङ्टन डिसीमा बिहीबार बिहान गोली चल्दा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। ह्वाइट हाउसबाट करिब १.६ किलोमिटरको दूरीमा रहेको लोगान सर्कल क्षेत्रमा उक्त घटना भएको हो। प्रहरीका अनुसार बिहीबार बिहान ८ बजे आसपास गोली चलेको सूचना प्राप्त भएको थियो। वासिङ्टन डिसीका अन्तरिम प्रहरी प्रमुख जेफ्री डब्लु क्यारोलले प्रहरी घटनास्थलमा ३० सेकेन्डभित्रै पुगेको जानकारी दिएका छन्। प्रारम्भिक अनुसन्धानले आक्रमणकारीले आफैँलाई गोली हानेको देखाएको अधिकारीहरूले जनाएका छन्। अमेरिकी समाचार एजेन्सी एपीका अनुसार आक्रमणकारीले सुरुमा एक फिटनेस सेन्टरभित्र एक व्यक्तिलाई गोली प्रहार गरेका थिए। त्यसपछि जिमबाट बाहिर निस्किएर पार्किङ ग्यारेजमा पनि गोली चलाउँदा अर्का एक व्यक्ति घाइते भएका थिए। घटनापछि सो क्षेत्रमा भागदौड मच्चिएको थियो र स्थानीय बासिन्दाहरू ज्यान जोगाउन घर तथा पसलहरूमा लुकेका थिए। प्रहरीले तत्काल सो क्षेत्रलाई घेराबन्दीमा लिई सर्वसाधारणलाई सुरक्षित रहन आग्रह गरेको थियो। घाइते चार जनालाई उपचारका लागि अस्पताल लगिएको छ। अस्पताल स्रोतका अनुसार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
वासिङ्टन डिसीमा गोली चल्दा दुईको मृत्यु, चार घाइते

Read Complete Original Article
Published originally on नेपालन्युज






