काठमाडौं । प्रधानमन्त्री बालेन शाहले ‘लुसिफर’ बोलको गीतमा ‘ह्यान्ड–थ्रु–हेयर’ पोजमा खिचिएको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका छन्। उनको उक्त तस्बिरलाई लिएर सामाजिक सञ्जालमा सकारात्मक र नकारात्मक दुवै खालका प्रतिक्रिया आइरहेका छन्। अमेरिकी र्यापर जे–जेडले गाएको ‘लुसिफर’ गीतसँगै बालेनले सेयर गरेको तस्बिरमा उनी कपालमा हात पुर्याउँदै फरक हाउभाउमा देखिएका छन्। गीतका शब्दमा ‘लुसिफर, सन अफ द मर्निङ! आइ’म गोना चेज यू आउट अफ अर्थ’ भनिएको छ। गीतमा ‘म त्यस्तो हत्याको राजधानीबाट आएको हुँ, जहाँ पैसाका लागि हत्या गरिन्छ’ र ‘आफ्नो व्यवहार सुधार, नत्र तिम्रो हालत के भयो भनेर अरूले सोध्नुपर्ने अवस्था आउन सक्छ’ भन्ने आशयका शब्दसमेत छन्। बालेनले यही गीत रोजेर तस्बिर सार्वजनिक गरेपछि त्यसको सन्देश र ‘लुसिफर’ शब्दसँग जोडिएको उनको पुरानो राजनीतिक प्रसङ्ग फेरि चर्चामा आएको छ। बालेनलाई किन भनिन्छ लुसिफर ? ‘लुसिफर’ शब्द बालेनसँग जोडिनुको पछाडि नेपालको पछिल्लो राजनीतिक बहस र उनको विद्रोही छवि जोडिएको छ। विशेषगरी जेनजी आन्दोलनपछि विश्लेषक सौरभले पत्रकार टीकाराम यात्रीसँगको अन्तर्वार्तामा बालेनलाई संकेत गर्दै ‘लुसिफर’ शब्द प्रयोग गरेपछि यो विषय चर्चामा आएको थियो। लुसिफर कुनै वास्तविक व्यक्ति नभई क्रिश्चियन धर्मग्रन्थ बाइबलसँग जोडिएको काल्पनिक पात्र हुन्। ल्याटिन भाषामा लुसिफरको अर्थ ‘प्रकाश ल्याउने’ वा ‘उज्यालो ल्याउने’ भन्ने हुन्छ। यसलाई बिहान सूर्य उदाउनुअघि देखिने शुक्र ग्रहसँग पनि जोडिन्छ। धार्मिक मान्यताअनुसार लुसिफर सुरुमा स्वर्गका शक्तिशाली र लोकप्रिय देवदूत थिए। तर आफ्नो शक्ति र स्थानप्रति असन्तुष्ट हुँदै परमेश्वरभन्दा ठूलो बन्ने चाहना राखेपछि उनले विद्रोह र षड्यन्त्रको बाटो रोजे। त्यसपछि उनलाई स्वर्गबाट निष्कासन गरिएको र उनी शैतानका रूपमा चिनिन थालेको धार्मिक कथन छ। यही कथाका कारण लुसिफरलाई विद्रोह, शक्ति प्राप्तिको महत्वाकांक्षा, स्थापित व्यवस्था विरुद्धको संघर्ष र पतनसँग जोडेर व्याख्या गर्ने गरिन्छ। नेपालको राजनीतिमा बालेनले पनि परम्परागत राजनीतिक दल र स्थापित राजनीतिक संस्कारलाई चुनौती दिने नेताका रूपमा आफ्नो छवि बनाएका छन्। पेशाले इन्जिनियर र र्यापरसमेत रहेका उनी २०७९ को स्थानीय तह निर्वाचनबाट काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए। महानगर प्रमुख हुँदा उनको काम गर्ने शैली, सार्वजनिक अभिव्यक्ति र संघीय सरकारसँगको टकरावले उनलाई अन्य राजनीतिक नेतृत्वभन्दा फरक बनायो। सार्वजनिक कार्यक्रममा कम देखिने, सञ्चारमाध्यमलाई अन्तर्वार्ता नदिने र आफ्ना धारणा सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने उनको शैलीका कारण उनी समर्थक र आलोचक दुवैका लागि चर्चाको विषय बन्दै आएका छन्। जेनजी आन्दोलनका क्रममा पनि बालेनको भूमिका र अभिव्यक्ति चर्चामा रह्यो। भ्रष्टाचार अन्त्य र सुशासनको मागसहित भएको आन्दोलनलाई उनले समर्थन गरेका थिए। आन्दोलनका क्रममा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीप्रति उनले कडा टिप्पणी गरेका थिए। आन्दोलन चर्किँदै जाँदा संसद्, सिंहदरबार, सर्वोच्च अदालत र राष्ट्रपति कार्यालयलगायतका संरचनामा आगजनी तथा तोडफोड भएको थियो। त्यसपछि ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। आन्दोलनपछि नयाँ प्रधानमन्त्रीका रूपमा बालेनको नामसमेत चर्चामा आएको थियो। जेनजी पक्षबाट उनलाई नेतृत्व लिन आग्रह भए पनि उनले प्रधानमन्त्री बन्न अस्वीकार गरेका थिए। प्रतिनिधिसभा विघटनको सर्त अघि सार्दै उनले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने प्रस्तावमा समर्थन जनाएका थिए। यही घटनाक्रमलाई लिएर उनका आलोचकहरूले उनलाई आन्दोलनमार्फत स्थापित व्यवस्था चुनौती दिने तर देशको नेतृत्व गर्ने अवसर आउँदा जिम्मेवारीबाट पछि हट्ने व्यक्तिका रूपमा व्याख्या गर्दै ‘लुसिफर’को संज्ञा दिएका हुन्। यद्यपि, यो उपमा राजनीतिक विश्लेषण र आलोचनाका क्रममा प्रयोग भएको हो। यसअघि काठमाडौं महानगरपालिकाको प्रमुख रहेका बेला पनि बालेनले सामाजिक सञ्जालमा ‘लुसिफर’को स्वरूप झल्किने तस्बिर सार्वजनिक गरेका थिए।
‘लुसिफर’ बोलको गीतमा बालेनको ‘ह्यान्ड–थ्रु–हेयर’ पोज

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






