लयमा फर्किंदै जनजीवन

नेपालीहरूको महान् चाड दशैँ सकिएको छ । अनेक आपद र पीडाहरू सहँदै र झेल्दै नेपालीहरूको पारिवारिक पुनर्मिलनको यो पर्वलाई जुन रूपमा भए पनि मनाउनु संस्कारगत परिचय हो । यो समयमा मानिसहरूले आफ्नो वैमनष्यता, शत्रुभाव आदिलाई बिर्सेर मिलनको एक अवसरका रूपमा लिने गरेका छन् । हुन त विविध भूगोलमा रहेका विविध समुदायमा परिचित नेपालीहरूको विधिताभित्र मनाइने सबै चाडपर्व, उत्सवहरू वास्तवमै सामाजिक सद्भाव र एकताका प्रतीक भएका छन् । केही गलत मनसायका केही मानिस भने यो आत्मीयता र सद्भावनालाई खलल पार्ने उद्यमा संलग्न देखिन्छ । तर आमनेपालीहरूले आफ्नो परम्परागत सद्भावलाई खलल पार्न दिएका छैनन् । बडादशैँ सुरु हुनुपूर्व देशको मूल मियो राजनीतिमा अनेक परिघटना भएका थिए । ती मध्ये चर्चायोग्य घटनाका रूपमा दशैँको केही अगाडि नेपाली कांग्रेसको एक पक्षले आफ्नो १५औं माधिवेशन सम्पन्न गरेको थियो । ठूलो उत्साहका साथ काठमाडौंमा सम्पन्न भएको त्यस महाधिवेहनबाट नेपाली कांग्रेसको यो पक्षले आफ्नो केन्द्रीय कार्यासमितिको छनौट गर्यो । युवाहरूको बाहुल्य रहने गरी गठन भएको यस कार्यसमितिमा पाको उमेरका चिरीबाबु महर्जन निर्वाचित हुनुभएको छ । समावेशिताका आधारमा भएको यस कार्यसमितिमा गुरु घिमिरे जस्ता केही व्यक्तिले पराजय व्यहोर्नु परेको पनि थियो । जे होस् एकपक्षको महाधिवेशन सम्पन्न भइसकेको छ तर अर्को पक्ष भने समेटिन नसकेको अवस्थामा सबैलाई समेटेर लानुपर्ने र कांग्रेसको पुरानो साख फर्काउनुपर्ने जिम्मेवारी भने यस कार्यसमितिको समेत काँधमा आएको छ । विगतभन्दा केही मलिनो जस्तो भएर गयो यसपटकको दशैँ । मलिन मनमा उत्साह आउँदैन । डेढ महिना जतिअघि नेपालमा महाप्रलयकारी बाढी आएर धनजनको ठूलो क्षति भएको थियो । यसबाट पीडित भएका परिवार, सरकार र गैरसरकारी संस्थाहरूले दिएको राहतका भरले दैनिकी गुजार्नुपर्ने अवस्थामा रहेका बेला उनीहरूलाई दशैँको कुनै उत्साह हुने कुरै भएन । बाँकी केही मानिस सहयोग र सहानुभूतिका लागि त्यतै जुटेका हुँदा उनीहरूले पनि मानिसको दुःख, वेदनाप्रति सहानुभूति, संवेदना प्रकट गर्न त्यतै जुटे र सरकारको ध्यान त्यतै केन्द्रित भयो । अर्कोतिर व्यापार–व्यवसाय सञ्चालन गरेर आर्जन गर्नेहरूका लागि अहिलेको दशैँ उत्साहपूर्ण रूपमा सम्पन्न हुनसकेन । भोटेकोशीमा प्रलयकारी बाढी आएपछि व्यापारिक कन्टेनरहरू त्यही बाढीको लपेटामा परे र चीनतिरै भएका मालबाहक कन्टेनर नेपाल प्रवेश गर्न पाएनन् । दैनिक उपभोगका सामग्रीहरूको मूल्यवृद्धिको असहनीय पीडा त छँदैछ । यसले गर्दा यसपटकको दशैँमा विगत वर्षमा जसरी व्यापार हुनसकेन । वर्षमा एकपटक दशैँतिहारमा गरेको व्यापारले नै वर्षभरिको मुनाफाको बहुप्रतिशत धानिन्छ भन्ने उनीहरूको व्यापारिक मान्यता यसपटक सफल हुन पाएन । वर्षभरिमा हुने व्यापारको ३५ प्रतिशत दशैँमा नै हुनेगर्छ भन्ने व्यापारीहरूको मनोदशा एकातिर, अर्कातिर महाप्रलयकारी बाढी र यसको प्रभाव देशभरिका अन्य नागरिकहरूमा छाएको दुःखको काहालिलाग्दो शोकले दशैँको खुशी खोसिन पुगेकै हो । त्यतिमात्र होइन दशैँभन्दा केही अगाडि चार-पाँच दिनसम्मको निरन्तरको वर्षाले ठूलो क्षति पुर्यायो । मानवीय क्षति भयो तर भोटेकोशीको बाढीको छायाँमा उक्त बाढीपहिरो ओझेलमा पर्यो । भोटेकोशीपछि बूढीगण्डकीमा सोही प्रकृतिको बाढी आयो । केही मानवीय क्षतिसँगै अन्य भौतिक क्षति भयो । त्यो पनि भोटेकोशीको बाढीको ओझेलमा पर्यो । मनसुन सकिँदो अवस्थामा दशैँका मुखमा भएको निरन्तरको वर्षाले काठमाडौं उपत्यकाबाट दशैँमा घर जानेहरूको बाटो छेकियो । उपत्यकाबाट बाहिरिने बाटाहरू बाढीपहिरोमा परेर यातायात अवरुद्ध भयो । मौसम पूर्वानुमान महाशाखाले पहिलेदेखि सचेत गराएको हुँदा ठूलो मानवीय क्षति हुनपाएन । दशैँमा उपत्यकाबाट बाहिरिनेहरूका लागि त्यसै यात्रा कष्टकर हुन्छ । टिकट नपाउने, भिडभाड हुने, बाटो अवरुद्ध हुनेजस्ता समस्या प्रत्येक दशैँमा आइपर्ने नै भए । साथै सधैंका झैँ यसपटक पनि यातायात दुर्घटना भएका केही समाचारहरू आए । दुर्घटनाहरूमा परेर केही संख्यामा मानवीय क्षति भयो भने भौतिक क्षति हुनपुग्यो । दशैँ सम्पूर्ण नेपालीहरूको राष्ट्रिय पर्व हो । त्यसकारण घर छोडेर बाहिर बसेकाहरू वर्षको एकपटक घर सम्झेर र आफ्ना मान्यजन मातापिताहरू सम्झेर घर फर्किने गर्छन् । विदेशमा बस्नेहरूले समेत बिदा मिलाएर घर आउने गरेको पाइन्छ । दशैँको लामो बिदा र कर्मचारीहरूलाई अतिरिक्त एक महिनाबराबरको दशैँ खर्च दिने परम्पराको कतिले विरोध गरेको सुनियो । पहिले अन्य विभिन्न समुदायका चाडपर्वहरूमा बिदा दिने चलन थिएन । पछि यिनलाई पनि राष्ट्रिय पर्वका रूपमा मान्यता दिएर बिदा दिन थालिएको छ तर जति यस्ता कुराहरूमा सरकार उदार बन्दै गएको छ आलोचनाका आवाजहरू अझै बढ्दै जानुले प्रायोजित रहस्य छ भनेर धेरैले भन्ने गरेका छन् । यसपटकको दशैँमा यस्ता केही आवाज फाट्टफुट्ट सुनिए तर प्रभाव देखिएन । माओवादी सशस्त्र विद्रोहका बेला रोपिएको यसखालको विरोधको बिउ यसपछि झाँगिएको हो । अब २०८३ सालको बडादशैँको समापन भइसकेको छ । दशैँमा घर गएका मानिसहरू बिस्तारै उपत्यका फर्किन थालेका छन् । अबको १५ दिनपछि पुनः अर्को महान् पर्व तिहार नेपालीहरूका घरआँगनमा आउँदैछ । त्यसबीचको समयलाई सबैले आफ्नो जागिर व्यापार-व्यवसाय तथा आ-आफ्नो संलग्नताका क्षेत्रमा उपयोग गर्ने नै छन् । दशैँको मौका पारेर केही कालाबजारीहरूले आफ्ना व्यापार व्यवसायमा अन्धाधुन्द मूल्यवृद्धि गरी सर्वसाधारणको ढाड भाँच्ने काम भयो । उपभोग्य सामानहरूको मूल्य डेडी वृद्धि गरेर बिक्रीवितरण भयो । सरकारले अनुगमन गरेको, बद्मासी गर्नेहरूलाई कारबाही गरेको र मूल्य नियन्त्रण गरेको भन्ने खालका समाचारहरू खासै सुनिएनन् । जुनजुन अवस्था सामुमा आइपर्यो त्यही-त्यही अवस्थाको सामना गरेर नागरिकहरूले पर्व मनाएका छन् । यो अनुभवका आधारमा सरकारले बजारमूल्य नियन्त्रण गरेर आगामी दीपावलीलगायतका पर्वहरूमा सुव्यवस्था कायम गरोस् । दीपावलीका बेला अत्यधिक मात्रामा खपत हुने फलफूल, सुख्खा फल तथा फूलमालाहरूमा नेपालीहरूको ठूलो खर्च हुनेगर्छ र व्यापारीहरूले तिनमा मौकाको फाइदा उठाउने गरी दोब्बर मूल्य कायम गर्ने गर्छन् । सरकारले यसतर्फ सचेतता अपनाउनुपर्छ । नागरिकहरूको अपेक्षा पनि यही नै हो ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

एनपीएल आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
काठमाडाैं । नेपाली क्रिकेटको चर्चित प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ। प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । प्रतियोगिताको उद्घाटन खेलमा आज साँझ ५ बजे लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा दुवै टोली जितसहित प्रतियोगिताको सुरुवात गर्ने लक्ष्यमा हुनेछन् । यी दुई टोली अघिल्लो ...

दुई पटकको अभागी सुदूरपश्चिमको लक्ष्य पहिलो उपाधि
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) का अघिल्ला दुई संस्करणमा फाइनलसम्म पुगेर पनि उपाधि जित्न नसकेको सुदूरपश्चिम रोयल्स यसपटक पहिलो उपाधिको खोजीमा छ । लगातार दुई पटक उपविजेतामा सीमित बनेको... ...

जलवायु न्यायको सुरुवात
हजारौँ माइल यात्रा पहिलो पाइलाबाटै आरम्भ हुन्छ भनिन्छ । पहिलो पाइला सजिलो हुँदैन । त्यसका निम्ति ठुलो तयारी चाहिन्छ । उद्देश्य र गन्तव्य स्पष्ट हुनु पर्छ । आँट र अठोट पनि चाहिन्छ ।... ...

झापाका किसानलाई हात्तीबाट धानबाली जोगाउने चिन्ता
• झापाका किसानहरू धान पाक्ने समयमा जङ्गली हात्तीबाट बाली जोगाउन चिन्तित छन्, जसका लागि सशस्त्र प्रहरीले सुरक्षा निगरानी र जनचेतना अभियान चलाइरहेको छ। • हात्तीको जोखिमबाट बच्न किसान र स्थानीय बासिन्दालाई विशेष सावधानी अपनाउन र रातको समयमा घरबाहिर ननिस्कन आग्रह गरिएको छ। • हात्तीको आवतजावत हुने क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान र हात्तीलाई नजिक जान्न वा लखेट्न प्रयास नगर्न सशस्त्र ...


