काठमाडौं, कात्तिक २३। उत्कृष्ट ब्याटिङसँगै काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा लगातार चौथो जित निकाल्दै प्लेअफमा पुग्ने दाबेदारी बलियो बनाएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा काठमान्डुले चितवन राइनोजलाई १० रनले पराजित गर्दै पाँच खेलबाट आठ अंक जोडेको हो। जितसँगै काठमान्डु अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ। काठमान्डुले दिएको १८१ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७० रन मात्र बनाउन सक्यो। चितवनका लागि रवि बोपराले अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन्। उनले ३५ बलमा दुई चौका र तीन छक्कासहित ५५ रन बनाए। चितवनका ओपनर अर्जुन साउद र कामिल मिसराले राम्रो सुरुआत दिलाएका थिए। अर्जुनले २१ बलमा चार चौकासहित २३ तथा कामिलले ११ बलमा एक चौका र तीन छक्कासहित २८ रन बनाए। पावरप्लेमा चितवनले एक विकेट गुमाएर ४८ रन जोडेको थियो। पावरप्लेको अन्तिम बलमा सन्तोष यादवले अर्जुनलाई बोल्ड गर्दै काठमान्डुलाई पहिलो सफलता दिलाए। त्यसको दुई बलपछि नै चितवनले दोस्रो विकेट गुमायो। साहान आराचिगेको बलमा आदिल आलमले बाउन्ड्री लाइनमा उत्कृष्ट क्याच लिएपछि कामिल पभेलियन फर्किए। त्यसपछि रवि बोपरा र डान माउस्लेले तेस्रो विकेटका लागि ५५ रनको साझेदारी गर्दै चितवनको पारी सम्हाले। १४औँ ओभरमा साहान आराचिगेले माउस्लेलाई २९ रनमा आउट गर्दै साझेदारी तोडे। माउस्लेले ३२ बलमा तीन चौका प्रहार गरे। माउस्ले आउट भएपछि चितवनले नियमित अन्तरालमा विकेट गुमायो। सिकन्दर रजा दुई तथा कुशल मल्ल १३ रनमा आउट भए। एक छेउबाट इनिङ सम्हालिरहेका बोपरा पनि अन्तिम ओभरअघि पभेलियन फर्किए। कप्तान करण केसीले भीम सार्कीबाट उनलाई क्याच गराए। अन्तिम ओभरमा चितवनलाई जितका लागि १८ रन आवश्यक थियो। दबाबमा रहेका बोपराले ठूलो सट खेल्ने प्रयास गरे पनि सफल भएनन्। काठमान्डुको बलिङमा साहान आराचिगेले दुई विकेट लिए। कप्तान करण केसी, सन्तोष यादव, गणेश गौतम र जाहानदाद खानले समान एक विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १८० रन बनाएको थियो। काठमान्डुको पारीमा रासिद खानले अर्धशतकीय पारी खेले। उनले ३० बलमा दुई चौका र चार छक्कासहित ५२ रन बनाए। साहान आराचिगेले २० बलमा तीन चौका र दुई छक्कासहित ३३ तथा विलियम बोसिस्टोले २७ रन बनाए। कप्तान करण केसीले आक्रामक ब्याटिङ गर्दै सात बलमा तीन छक्कासहित २० रन जोडे। काठमान्डुको सुरुआत भने कमजोर थियो। दुवै ओपनर सस्तैमा आउट भएपछि तेस्रो ओभरमा टोली १३ रनमा दुई विकेटको अवस्थामा पुगेको थियो। अस्ट्रेलियाली ब्याटर डेविड वार्नर एक तथा साहिल पटेल आठ रनमा आउट भए। रिजन ढकालले साहिललाई तथा कमलसिंह ऐरीले वार्नरलाई आउट गरेका थिए। त्यसपछि रासिद खानले एक छेउबाट आक्रामक ब्याटिङ गर्दै काठमान्डुको पारी उकासे। उनले विलियम बोसिस्टोसँग दोस्रो विकेटका लागि ६२ रन तथा साहान आराचिगेसँग अर्को महत्वपूर्ण साझेदारी गर्दै ५३ रन जोडे। रासिदले पावरप्लेपछि पनि आक्रामक ब्याटिङलाई निरन्तरता दिए। उनले कुशल मल्लको बलिङमा छैटौँ र नवौँ ओभरमा गरी कुल ३९ रन बटुले। नवौँ ओभरपछि काठमान्डुले रनको गति थप बढाएको थियो। तर १५औँ ओभरमा रिजन ढकालले साहान आराचिगेलाई आउट गरे भने १६औँ ओभरमा सिकन्दर रजाले रासिदलाई आउट गर्दै काठमान्डुमाथि दबाब बढाए। त्यसपछि दुई ओभरसम्म चितवनले काठमान्डुलाई नियन्त्रणमा राखेको थियो। तर कप्तान करण केसीले १८औँ ओभरमा आक्रामक ब्याटिङ गर्दै तीन छक्का प्रहार गरे। उनले सात बलमा २० रन बनाएर सोही ओभरमा एलबिडब्लु हुँदै आउट भए। चितवनले अतिरिक्तबाट १६ रन दिएको थियो। आठ बलर प्रयोग गरेको चितवनका लागि रिजन ढकालले तीन विकेट लिए भने कमलसिंह ऐरी र कप्तान सिकन्दर रजाले समान दुई तथा डान माउस्लेले एक विकेट लिए। लगातार चौथो जितसँगै काठमान्डु पाँच खेलबाट आठ अंकसहित शीर्ष स्थानमा पुगेको छ। पाँच खेल खेलेको चितवनको भने दुई हारसहित पाँच अंक छ। चितवनले लुम्बिनी लायन्ससँगको खेल वर्षाका कारण अंक बाँडेको थियो भने अन्य दुई खेलमा जित निकालेको थियो। एनपिएलमा मंगलबार एक मात्र खेल हुनेछ। मंगलबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ।
लगातार चौथो जितसँगै प्लेअफमा काठमान्डुको बलियो दाबेदारी

Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार






