काठमाडौं।रौतहटको कटहरिया नगरपालिका-४ बाट प्रहरीले अवैध कटुवा पेस्तोलसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ। आइतबार साँझ मुख्य सडकमा सुरक्षा जाँचका क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक जयप्रकाश साहको नेतृत्वमा खटिएको टोली र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोलीले जाँच गरिरहेको थियो। सो क्रममा मोटरसाइकलमा सवार युवक प्रहरीलाई देखेपछि अस्वाभाविक रूपमा आत्तिएका थिए। प्रहरीले शंका लागेर खानतलासी गर्दा उनको कम्मरमा लुकाएर राखिएको अवस्थामा एक थान कटुवा पेस्तोल फेला पारेको हो। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिताराम रिजालका अनुसार पक्राउ पर्नेमा भारतको बिहार राज्य, मोतिहारी जिल्ला पञ्चायत कोरैयाका १९ वर्षीय राजकुमार यादव रहेका छन्। उनी जवाहर प्रसाद यादवका छोरा हुन्। प्रहरीले उनी सवार भारतीय नम्बर प्लेटको बीआर ०५ पीडब्लु ९१९४ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय कटहरियाका अनुसार पक्राउ परेका यादवलाई बरामद हतियार र मोटरसाइकलसहित थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय गरुडा पठाइएको छ।
रौतहटमा कटुवा पेस्तोलसहित भारतीय युवक पक्राउ

Read Complete Original Article
Published originally on नेपालन्युज






