काठमाडौं । एल्बम, सीडी/भीसीडी तथा म्युजिक प्रोडक्सनको क्षेत्रमा १८ वर्ष लामो अनुभव हासिल गरेको युथ क्रिएसन म्युजिकले पछिल्लो समय विकसित प्रविधिलाई आत्मसात् गर्दै पेनड्राइभ एल्बम प्रोडक्सन सेवा सुरु गरेको छ । परम्परागत सीडी/भीसीडीको विकल्पका रूपमा संगीत तथा म्युजिक भिडियोका सामग्रीलाई डिजिटल माध्यमबाट सुरक्षित र व्यवस्थित रूपमा संग्रह गर्ने उद्देश्यले कम्पनीले यो सेवा सञ्चालनमा ल्याएको हो ।

नयाँ सेवाअन्तर्गत गायक, संगीतकार, सर्जक तथा कलाकारले आफ्ना गीतसंगीत, म्युजिक भिडियो र सम्पूर्ण एल्बमलाई आकर्षक पेनड्राइभ एल्बमका रूपमा तयार गर्न सक्नेछन् । त्यस्तै, व्यक्तिगत तथा विशेष अवसरका लागि पनि विशेष डिजाइनमा पेनड्राइभ एल्बम उत्पादन गरिने युथ क्रिएसन म्युजिकका अध्यक्ष रमेश थापाले जानकारी गराउनुभयो ।

कम्पनीका अनुसार पेनड्राइभ एल्बम तयार गर्ने क्रममा डिजाइन, कन्टेन्ट व्यवस्थापन, पेनड्राइभमा सामग्री राख्ने तथा समग्र प्रोडक्सनसम्मका सेवा उपलब्ध गराइनेछ । यी सबै सेवा ग्राहकको आवश्यकताअनुसार सुलभ तथा उचित मूल्यमा प्रदान गरिने थापाले बताउनुभयो ।

१८ वर्षको व्यावसायिक यात्राबाट प्राप्त अनुभवलाई नयाँ प्रविधिसँग जोड्दै अघि बढेको युथ क्रिएसन म्युजिकले कलाकार तथा सर्जकका सिर्जनालाई डिजिटल रूपमा मात्र सीमित नराखी व्यवस्थित र आकर्षक संग्रहका रूपमा सुरक्षित राख्न यो पहल गरेको अध्यक्ष रमेशको भनाइ छ ।

अध्यक्ष थापाका अनुसार बदलिँदो प्रविधि र दर्शक तथा श्रोताको रुचिलाई ध्यानमा राख्दै पेनड्राइभ एल्बम प्रोडक्सन सेवा सुरु गरिएको हो । यस सेवाले कलाकारका सिर्जनालाई नयाँ स्वरूपमा प्रस्तुत गर्न तथा आफ्ना गीत-संगीत र म्युजिक भिडियो श्रोता तथा दर्शकमाझ पुर्याउन थप सहज हुने अपेक्षा गरिएको छ । पेनड्राइभ एल्बम तयार गर्न इच्छुक कलाकार, गायक, संगीतकार तथा सर्जकलाई युथ क्रिएसन म्युजिकले सम्पर्क गर्न आग्रह गरेको छ ।

युथ क्रिएसन म्युजिकद्वारा पेनड्राइभ एल्बम प्रोडक्सन सेवा सुरु

Read Complete Original Article
Published originally on हिमालय टाइम्स