किभ । रुसी सेनाले शनिबार बिहान युक्रेनको राजधानी किभमा क्षेप्यास्त्र आक्रमण गरेको छ। किभका मेयर भिताली क्लित्स्कोले आक्रमणका क्रममा खसेको क्षेप्यास्त्रको अवशेषले एक आवासीय भवनमा क्षति पुर्याएको जानकारी दिएका छन्। मेयर क्लित्स्कोले टेलिग्राममा लेखेका छन्, ‘किभका उपनगरहरूमा ठूला विस्फोट भएका छन्। शत्रु पक्षले ब्यालिस्टिक क्षेप्यास्त्रमार्फत पूर्वाधारलाई लक्षित गरिरहेको छ।’ उनका अनुसार राजधानीको पश्चिमी जिल्लामा रहेको पाँच तले अपार्टमेन्ट भवनमा क्षेप्यास्त्रको अवशेष खसेको थियो भने अर्को एक आवासीय भवनको बाहिरी भाग (फासाड) मा पनि क्षति पुगेको छ। त्यस्तै, सहरको सैन्य प्रशासनले पनि टेलिग्राममार्फत आक्रमणमा परी दुईजना घाइते भएको र बालबालिकाको हुर्काइ केन्द्र (किन्डरगार्टेन) को भवनमा समेत क्षति पुगेको जनाएको छ। आक्रमण भएको केही घण्टासम्म पनि अधिकारीहरूले सम्भावित थप आक्रमणहरूप्रति सतर्क रहन स्थानीय बासिन्दाहरूलाई चेतावनी दिइरहेका थिए। यसअघि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो रातको भिडियो सम्बोधनमा रुसले ऊर्जा क्षेत्रका संरचनाहरू, पुलहरू र अन्य पूर्वाधारहरूमाथि नयाँ आक्रमणहरूको तयारी गरिरहेको चेतावनी दिएका थिए। यो आक्रमण साढे चार वर्षदेखि जारी युद्धको समाधान खोज्न अमेरिकाको नेतृत्वमा युक्रेनी र रुसी वार्ताकारहरूबीच आबुधाबीमा वार्ता सुरु हुनुभन्दा तीन दिनअघि भएको हो। यसअघिको यस्तै किसिमको वार्ता गत फेब्रुअरीमा भएको थियो। रोयटर्स
युक्रेनको राजधानी किभमा रुसको आक्रमण

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






