Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व

Share:WhatsAppFacebookX (Twitter)Telegram
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व
Photo / Coverage: पर्दाफास

हिन्दू धर्मावलम्बीले आज कार्तिक कृष्ण औँसीका दिन धनधान्यकी देवी माता लक्ष्मीको विशेष पूजा–आराधना गरी लक्ष्मी पूजा मनाउँदैछन् । तिहारको विशेष दिनका रूपमा रहेको आजको रात घरलाई सफा–सुग्घर गरी दीप प्रज्वलन, झिलिमिली बत्ती तथा विभिन्न सजावटका सामग्रीले उज्यालो बनाइन्छ । धन, ऐश्वर्य, समृद्धि र सुख प्राप्तिको कामना गर्दै घरमा लक्ष्मी, गणेश र सरस्वतीको स्थापना गरी विधिपूर्वक पूजा गर्ने परम्परा छ । धार्मिक मान्यताअनुसार कार्तिक कृष्ण औँसीको रातलाई ‘सुखरात्रि’ भनिन्छ । सुखरात्रिको धार्मिक तथा सांस्कृतिक महत्त्वबारे नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक शालिग्राम ढकालले नेपाल न्यूज बैंकसँगको कुराकानीमा लक्ष्मी पूजाको रातलाई सुखरात्रि भनिनुको कारण र यससँग जोडिएका विभिन्न धार्मिक मान्यताबारे व्याख्या गरेका छन् । उपप्राध्यापक ढकालका अनुसार हिन्दू धर्ममा चार प्रकारका विशेष रात्रिको चर्चा पाइन्छ । फागुन कृष्ण चतुर्दशीको रातलाई शिवरात्रि, भाद्र कृष्ण अष्टमीको रातलाई मोहरात्रि, दशैंको अष्टमीको रातलाई कालरात्रि र कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि भनिन्छ । ‘विशेष गरी लक्ष्मीको पूजा, यो औँसीको रात, कार्तिक कृष्ण पक्षको औँसीको रातलाई सुखरात्रि भनेर भनिन्छ । सुखरात्रि चार प्रकारका रात्रीहरू हुन्छन् । त्यसमध्ये शिवरात्रि हामीलाई थाहा छँदै छ, फागुन कृष्ण चतुर्दशी । अर्को हुन्छ मोहरात्रि, भाद्र कृष्ण अष्टमी, भगवान् कृष्णको जन्माष्टमी भएको रातलाई मोहरात्रि भनिन्छ । त्यसैगरी दसैँको अष्टमीको रातलाई कालरात्रि भनिन्छ भने लक्ष्मी पूजाको रातलाई सुखरात्रि भनिन्छ,’ उनले भने । उनका अनुसार सुख, समृद्धि र ऐश्वर्य प्राप्तिको कामनासहित लक्ष्मीको आराधना गरिने भएकाले यस रातलाई सुखरात्रि भनिएको हो । मानिसले जीवनमा धनसम्पत्तिसँगै विद्या, सन्तान, स्वास्थ्य, ऐश्वर्य र विभिन्न प्रकारका सुख प्राप्तिको कामना गर्दै लक्ष्मीको पूजा गर्ने परम्परा रहेको उनले बताए । ‘अलक्ष्मी, अलच्छी जति सबै जाओस्, सम्पूर्ण लक्ष्मी नै लक्ष्मीहरू प्राप्ति होस् भन्नका लागि हामीले लक्ष्मीको पूजा–अर्चना गर्दछौँ । विशेष गरी सम्पूर्ण चल लक्ष्मी, अचला लक्ष्मी, ऐश्वर्य लक्ष्मी, विद्या लक्ष्मी, धन लक्ष्मी, सन्तान लक्ष्मी, भोग लक्ष्मी, राज्य लक्ष्मी सम्पूर्ण कुराहरू आफूमा प्राप्ति होस् भनेर लक्ष्मीको विधि–विधानपूर्वक पूजा गरिन्छ,’ उनले भने । उनका अनुसार लक्ष्मी पूजाको मुख्य आराधना मध्यरातमा गर्ने धार्मिक परम्परा छ । यस दिन दिउँसैदेखि घर सफा गर्ने, सिँगार्ने र साँझ परेपछि दीप तथा झिलिमिली बत्ती बाल्ने गरिन्छ । घरमा सेलरोटी, विभिन्न मिष्ठान्न तथा लक्ष्मीलाई प्रिय मानिने पायस र नरिवलको खीरलगायत परिकार तयार गरी एकान्त र एकाग्र भावले पूजा गर्ने परम्परा रहेको उनले बताए । ‘विशेष गरी लक्ष्मीको पूजा भनेको मध्यरातमा गर्ने हो । दिउँसोतिर घर सिँगारपटार गरेका हुन्छौँ, साँझमा झिलिमिली बत्ती बालेका हुन्छौँ । अनेक प्रकारका मिष्ठान्नहरू पकाएका हुन्छौँ, सेलरोटीहरू पकाएका हुन्छौँ । विशेष गरी लक्ष्मीलाई मन पर्ने पायसहरू, नरिवलका खीरहरू पकाएर साँझ सुनसान भएपछि एकान्त र एकाग्र भावले लक्ष्मीको पूजा–अर्चना गर्नुपर्दछ,’ उनले भने । लक्ष्मी पूजाको उज्यालो केवल घरलाई प्रकाशमय बनाउने विषयमा मात्र सीमित नरहेको उनको भनाइ छ । घर उज्यालो भए पनि धनसम्पत्ति र सुखको अभावमा मानिसको मन उज्यालो हुन नसक्ने भएकाले मनको उज्यालो र जीवनको कल्याणका लागि समेत लक्ष्मीको आराधना गरिने उनले बताए । ‘देख्दाखेरि घर त उज्यालो छ, तर लक्ष्मीको धनसम्पत्तिको अभावमा मन उज्यालो हुन सक्दैन नि । तसर्थ मेरो मन पनि उज्यालो होस्, हे माता लक्ष्मी, सधैँभरि हामीलाई कल्याण गर्नुहोस् भन्ने भावले हामी लक्ष्मीको पूजा–अर्चना र वन्दना गर्दछौँ,’ उनले भने । उनका अनुसार दीपावली शब्द आफैँले पनि यस पर्वको महत्त्वलाई स्पष्ट पार्छ । ‘दीप’ भनेको बत्ती र ‘आवली’ भनेको पङ्क्ति अर्थात् लहर हो । त्यसैले बत्तीको पङ्क्ति वा लहरले घर तथा वरपरको वातावरण उज्यालो बनाउने पर्वलाई दीपावली भनिएको हो । सफा र उज्यालो घरमा माता लक्ष्मीको स्वागत गर्ने धार्मिक विश्वासअनुसार दीपावली मनाउने परम्परा विकास भएको उनले बताए । ‘दीपावली भनेको दीप अर्थात् बत्ती र आवली भनेको पङ्क्ति, बत्तीको लहर हो । लक्ष्मी अँध्यारोको ठाउँमा, अँध्यारो घरमा आउनुहुन्न भन्ने धार्मिक मान्यता छ । त्यसैले सफा–सुग्घर भएको, बत्तीले झलमल्ल बलेको ठाउँमा लक्ष्मीको स्वागतका लागि गरिएको कर्मलाई नै दीपावली भनिन्छ,’ उनले भने । लक्ष्मी पूजामा दीप, कलश र गणेशको स्थापना गरी शास्त्रीय विधिअनुसार पूजा गरिने उनले बताए। लक्ष्मी कलश स्थापना गरेर गरगहना, आभूषणलगायतका सामग्रीसमेत राखी लक्ष्मी र कुबेरको पूजा गर्ने परम्परा रहेको उनको भनाइ छ । नेपाल र भारतलगायत विभिन्न स्थानमा पूजाका विधिमा केही भिन्नता देखिए पनि तिनको आधार वैदिक तथा शास्त्रीय परम्परासँग जोडिएको उनले स्पष्ट पारे । ‘आफ्ना–आफ्ना परम्परा हुन्छन् । ब्राह्मण ग्रन्थ र आरण्यक ग्रन्थअनुसार पूजा गर्ने विधिहरू आएका हुन्छन् । चार वेदका आ–आफ्नै ब्राह्मण ग्रन्थ र आरण्यक ग्रन्थ हुन्छन्। त्यहीअनुसार नेपाल, भारतलगायत विभिन्न ठाउँमा पूजा–आराधना गर्ने परम्परा रहेको छ,’ उनले भने । लक्ष्मी पूजासँगै जोडिएको अर्को महत्त्वपूर्ण सांस्कृतिक पक्ष देउसी–भैलो हो । ढकालका अनुसार लक्ष्मी पूजाको अवसरमा घरका बालबालिकालाई मिठा परिकार खुवाउने, रमाइलो गराउने र दक्षिणा दिने परम्पराबाट विस्तारै देउसी–भैलो खेल्ने चलन विकास भएको हो । सुरुमा घरपरिवार र छरछिमेकमा सीमित रहेको यो परम्परा पछि टाढाटाढाका मानिससम्म फैलिएको उनले बताए । देउसी–भैलोसँग राजा बलिको धार्मिक प्रसङ्ग पनि जोडिएको छ । उनका अनुसार कार्तिक कृष्ण त्रयोदशी, औँसी र शुक्ल प्रतिपदाका तीन दिनलाई बलिको राज्यका रूपमा लिने धार्मिक मान्यता छ । ‘भगवान् वामनले बलिसँग तीन पाउ जमिन माग्नुभयो। बलिले आफ्नो सर्वस्व भगवान्लाई अर्पण गरेपछि उनी सुतल लोकको अधिपति बने । भगवान्ले तिमी के चाहन्छौ भनेर सोध्दा उनले कार्तिक कृष्ण त्रयोदशी, औँसी र शुक्ल प्रतिपदाका तीन दिन मत्र्यलोकको आधिपत्य प्राप्त गरूँ भने । भगवानले तथास्तु भन्नुभयो । त्यसैले यी तीन दिनलाई बलिको राज्य भनिएको हो,’ उनले भने । यसै धार्मिक प्रसङ्गका कारण देउसी खेल्ने क्रममा ‘हामी त्यसै आएनौँ, बलि राजाले पठाएको’ भन्ने भनाइ प्रचलनमा आएको उनले बताए । देउसी–भैलो केवल मनोरञ्जन र दक्षिणा संकलन गर्ने माध्यम मात्र नभई दान, समर्पण र भक्तिको भावसँग समेत जोडिएको उनको भनाइ छ । ‘बलिले आफ्नो सर्वस्व समर्पण गरेका थिए । त्यसैले हामीले पनि यो तेरो, यो मेरो भनेर बस्नु हुँदैन । ‘त्वदीयं वस्तु गोविन्द तुभ्यमेव समर्पयामि’ अर्थात् यो सम्पूर्ण चराचर जगत् हजुरकै हो, म पनि हजुरकै हुँ भन्ने भावले सबै कुरा अर्पण गर्नुपर्छ,’ उनले भने । देउसी–भैलो खेल्न आउनेलाई दान दिनु, लक्ष्मीको आराधना गर्नु र सम्पूर्ण जीवजन्तुमा पनि भगवान्को अंश रहेको बोध गर्नु यस पर्वको महत्त्वपूर्ण सन्देश भएको उनले बताए । लक्ष्मी पूजाका दिन शुद्ध र सात्त्विक भोजन गर्नुपर्ने धार्मिक मान्यता रहेको पनि उपप्राध्यापक ढकालले बताए । व्रत तथा पूजाका क्रममा माछा, मासु र मदिराजस्ता तामसिक भोजनबाट टाढा रही सात्त्विक आहार ग्रहण गर्दा मन शान्त र एकाग्र हुने धार्मिक विश्वास रहेको उनको भनाइ छ । ‘कुनै पनि व्यक्तिले व्रत बस्दा उसलाई सहज होस्, आनन्दसँग भगवान्को ध्यान लागोस् भनेर सात्त्विक भोजन गर्नुपर्छ। तामसिक भोजन ग¥यो भने एकाग्र भएर बस्न सकिँदैन, धैर्य हुँदैन । सात्त्विक भोजन गर्नाले सहनशीलता र एकाग्रता बढ्छ। त्यसैले लक्ष्मी पूजाका दिन गाईको घिउमा पकाएका शुद्ध सेलरोटी हामी अर्पण गर्छौँ,’ उनले भने । लक्ष्मी पूजा धनसम्पत्तिको कामना गर्ने पर्व मात्र नभई मनको शुद्धता, समर्पण, दान, पारिवारिक सद्भाव र धार्मिक आस्थासँग जोडिएको पर्वका रूपमा स्थापित रहेको उपप्राध्यापक ढकालको व्याख्या छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
६ दिनमा ३ हजार बढी पर्यटक सिक्लेस पुगे
OthersJust now

६ दिनमा ३ हजार बढी पर्यटक सिक्लेस पुगे

२२ कात्तिक, पोखरा । पर्यटकीय याम सुरु भएसँगै कास्कीको पर्यटकीय गाउँसिक्लेसमा पर्यटक आगमन उल्लेख्य रूपमा बढेको छ । पछिल्लो छ दिनमा तीन हजारभन्दा बढी पर्यटकले सिक्लेसको भ्रमण गरेका छन् । मादी गाउँपालिका-१ का वडाध्यक्ष देविजङ्ग गुरुङका अनुसार नोभेम्बर १ देखि ६ तारिख (कात्तिक १५-२० गते) सम्म तीन हजार १४६ जना पर्यटक सिक्लेस पुगेका छन् ।… ...

अनलाइन खबर
गौरीफन्टा नाकामा तिहार मनाउन फर्किनेको घुइँचो, चोकजाँचमा सास्ती
OthersJust now

गौरीफन्टा नाकामा तिहार मनाउन फर्किनेको घुइँचो, चोकजाँचमा सास्ती

झन्डै पाँच घण्टा कुरेर भारतीय सुरक्षाकर्मीको जाँच सकेर निस्किएका उनी नेपालतर्फको चेकजाँचको पालो पर्खिरहेका थिए । भोकभोकै सुरक्षा जाँचका निम्ति झोलाझिम्टासहित पुगेका उनी थकित थिए भने सरकारसँग आक्रोशित पनि सुनिए । ...

अनलाइन खबर
तराईमा तिहार : सरसफाइ, झिलिमिली र लक्ष्मीपूजाको दिन रातभर जाग्राम बस्ने परम्परा
OthersJust now

तराईमा तिहार : सरसफाइ, झिलिमिली र लक्ष्मीपूजाको दिन रातभर जाग्राम बस्ने परम्परा

तराई–मधेस क्षेत्रमा तिहार अर्थात् दीपावली मनाउने परम्परा पहाडी तथा उपत्यकाका क्षेत्रको तुलनामा केही फरक र विशिष्ट छ । घरआँगनको विशेष सरसफाइ, माटोका दियो बालेर उज्यालो बनाउने, रातभर जाग्राम बसेर लक्ष्मीको पूजा गर्ने र भाइटीकालाई ‘भरद्वितीया’ का रूपमा मनाउने परम्पराले तराईको तिहारलाई सांस्कृतिक रूपमा अलग पहिचान दिएको छ । संस्कृतिविद् शितल महत्तोका अनुसार तराई–मधेसमा तिहारलाई विशेषगरी दीपावलीका रूपमा मनाइन्छ । यस अवसरमा ...

पर्दाफास
पाँच मिनेटको दूरी पार गर्न दुई घण्टा, पक्की पुल नहुँदा भरबलियावासीलाई सास्ती
OthersJust now

पाँच मिनेटको दूरी पार गर्न दुई घण्टा, पक्की पुल नहुँदा भरबलियावासीलाई सास्ती

रूपन्देहीको मर्चवारस्थित सम्मरीमाई गाउँपालिका–५ को भरवलिया गाउँका बासिन्दा वर्षौंदेखि आधारभूत पूर्वाधार र सेवाको अभाव झेलिरहेका छन् । तिनाउ–दानव नदीमा पक्की पुल नहुँदा नजिकैको बस्ती पुग्नसमेत घण्टौँ घुम्नुपर्ने बाध्यता छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play