काठमाडौं – म्याग्दी, पर्वत र बागलुङमा बाढीपहिरोका कारण आफन्त गुमाएका परिवार, प्रभावित बस्ती तथा स्थानीय तहका विपद् व्यवस्थापन कोषमा करिब १७ लाख रुपैयाँ राहत सहयोग उपलब्ध गराइएको छ । पुनमगर समाज नेपाल र बेलायतको सहकार्यमा सङ्कलन गरिएको १६ लाख ७४ हजार ३७५ रुपैयाँ सोमबार प्रभावित परिवार तथा समुदायलाई वितरण गरिएको हो । समाजका योगकुमार फगामीका अनुसार म्याग्दीमा बाढीपहिरोमा ज्यान गुमाएका ११ जनाका परिवारलाई जनही २५ हजार रुपैयाँका दरले राहत उपलब्ध गराइएको छ । यसका लागि पुन मगर समाज यूकेले दुई लाख २५ हजार र नेपाल पुन मगर समाज केन्द्रले ५० हजार रुपैयाँ सहयोग गरेका थिए । त्यसैगरी, बागलुङमा विपद्मा ज्यान गुमाएका १३ जनाका परिवारलाई जनही १० हजार रुपैयाँका दरले एक लाख ३० हजार रुपैयाँ वितरण गरिएको छ । पर्वत जिल्लाका लागि दुई लाख ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराइएको छ । म्याग्दीका प्रभावित बस्ती तथा स्थानीय तहका विपद् व्यवस्थापन कोषमा पनि रकम हस्तान्तरण गरिएको छ । रघुगङ्गा गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा ५० हजार तथा मालिका र मङ्गला गाउँपालिकाको कोषमा जनही २५ हजार रुपैयाँ सहयोग गरिएको छ । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनमार्फत विभिन्न प्रभावित क्षेत्रका लागि पनि राहत रकम उपलब्ध गराइएको छ । पाउद्वार, खोलापार, गोल्पानी र गिवाङका प्रभावितका लागि तीन लाख, धस्केखोर, किन्दु, शिख र स्वाँत क्षेत्रका लागि दुई लाख, काफलडाँडाका लागि दुई लाख तथा ठूलोबगर, भुरुङ, तातोपानी र नारच्याङ क्षेत्रका लागि ६४ हजार ३७५ रुपैयाँ हस्तान्तरण गरिएको समाजले जनाएको छ । यसैगरी, पर्वतका मिर्गौला पीडितका लागि एक लाख ५५ हजार रुपैयाँ सहयोग गरिएको छ । विपद्का बेला पीडित परिवार र प्रभावित समुदायलाई सहयोग पुर्याउने उद्देश्यले स्वदेश तथा विदेशमा रहेका पुन मगर समुदायबाट रकम सङ्कलन गरिएको समाजले जनाएको छ ।
म्याग्दी, पर्वत र बागलुङका विपद् प्रभावितलाई करिब १७ लाख राहत

Read Complete Original Article
Published originally on विश्वखबर






