मौसम पूर्वानुमानमा एआई प्रयोगदेखि हिमाली अनुसन्धान गरिने

काठमाडाैं । सरकारले मौसम पूर्वानुमानमा एआई प्रयोगदेखि हिमाली अनुसन्धानसम्मको योजना अघि सारेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयअन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र र नेपाल मौसम विज्ञान विभागले आइतबार छुट्टाछुट्टै सार्वजनिक गरेको श्वेतपत्र सार्वजनिक गरेका छन् । नेपाल मौसम विज्ञान विभागले श्वेतपत्र जारी गर्दै मौसमको पूर्वानुमानलाई थप विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यसहित आधुनिक प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई), उच्च क्षमताको कम्प्युटिङ प्रणाली र हिमाली जलवायु अनुसन्धानलाई प्राथमिकतामा राखेर सुधार योजना अघि सारेको हो । विभागको श्वेतपत्रको मस्यौदामा मौसम राडार सञ्जाल विस्तारदेखि स्थानीय तहसम्म पूर्वसूचना पुर्याउने, हवाई मौसम सेवा व्यवस्थित गर्ने र जलवायु परिवर्तनका प्रभावबारे अध्ययन गर्ने योजनासम्म समेटिएका छन् । मस्यौदाअनुसार मौसमसम्बन्धी तथ्यांक संकलन र विश्लेषणलाई आधुनिक बनाउँदै पूर्वानुमानको गुणस्तर सुधार गर्ने, जोखिमयुक्त मौसमजन्य घटनाबारे समयमै जानकारी दिने र मौसम सूचनालाई कृषि, स्वास्थ्य, ऊर्जा, पर्यटन तथा पूर्वाधार विकासजस्ता क्षेत्रमा उपयोगी बनाउने लक्ष्य राखिएको छ । विभागको अहिले मौसम अनुगमनका लागि सुर्खेत, पाल्पा र उदयपुरमा तीनवटा मौसम राडार सञ्चालनमा रहेको छ । यी राडारले प्रतिकूल मौसमी घटनाको पहिचान र अनुगमनमा सहयोग पुर्याउँदै आएका छन् । मस्यौदामा विद्यमान राडारबाट पर्याप्त अवलोकन हुन नसकेका उपत्यका तथा अन्य जोखिमयुक्त क्षेत्रमा आवश्यकताअनुसार राडार सञ्जाल विस्तार गर्ने प्रस्ताव छ । विशेषगरी काठमाडौं उपत्यकाको मौसम अनुगमन, तत्कालीन मौसम पूर्वानुमान र हवाई मौसम सेवा सुदृढ गर्न एक्स-ब्याण्ड मौसम राडार स्थापना गर्ने योजना अघि सारिएको छ । राडारको विस्तारले वर्षा, मेघगर्जन तथा अन्य प्रतिकूल मौसमी गतिविधिको निगरानीमा सहयोग पुग्ने विभागको अपेक्षा छ । विभागकाअनुसार मौसम पूर्वानुमान प्रणालीलाई वैज्ञानिक र प्रविधिमैत्री बनाउने अर्को महत्वपूर्ण योजना उच्च क्षमताको कम्प्युटिङ प्रणाली (एचपीसी) र उच्च विभेदनयुक्त संख्यात्मक मौसम पूर्वानुमान मोडेलको विकास तथा सञ्चालन हो । नेपालको भौगोलिक विविधता र स्थानअनुसार फरक पर्ने मौसमी अवस्थालाई ध्यानमा राखेर पूर्वानुमानलाई अझ सूक्ष्म बनाउने लक्ष्य मस्यौदामा राखिएको छ । यसका लागि मौसम अवलोकन केन्द्र, राडार, उपग्रह, संख्यात्मक मौसम पूर्वानुमान मोडेल तथा सम्भाव्यतामा आधारित पूर्वानुमानबाट प्राप्त तथ्यांकलाई एकीकृत रूपमा प्रयोग गर्ने योजना छ । ती तथ्यांकको विश्लेषणमा कृत्रिम बुद्धिमत्ता र मेसिन लर्निङ प्रविधि उपयोग गर्ने प्रश्ताव पनि मस्यौदामा समेटिएको छ । एकीकृत डिजिटल प्रणालीमार्फत जोखिमको सम्भाव्यता विश्लेषण, स्वचालित शतर्कता संकेत, मौसम बुलेटिन तथा चेतावनीको प्रारम्भिक मस्यौदा तयार गर्न सकिने व्यवस्था विकास गर्ने लक्ष्य विभागको छ । तर प्रणालीले तयार पारेका सूचना मौसम पूर्वानुमानकर्ताले परीक्षण र स्वीकृति गरेपछि मात्रै वेबसाइट, मोबाइल एप, एपीआई तथा अन्य सञ्चारमाध्यमबाट प्रवाह गर्ने व्यवस्था प्रस्ताव गरिएको छ । यसले तथ्यांक विश्लेषणको गति बढाउन र सूचना प्रकाशनमा लाग्ने समय घटाउन सहयोग पुर्याउन सक्ने विभागको अपेक्षा छ । श्वेतपत्रमा स्थानीय आवश्यकताअनुसार मौसम पूर्वानुमानको क्षमता बढाउने र तीनदेखि सात दिनसम्मको पूर्वानुमानलाई थप विश्वसनीय बनाउने लक्ष्य राखिएको छ । स्थानीय स्तरमा वर्षा, तापक्रम तथा अन्य मौसमी अवस्थाको जानकारी उपलब्ध गराउनसके किसानलाई बाली लगाउने, सिंचाई गर्ने र बाली भित्र्याउने समय निर्धारण गर्न सहज हुने अपेक्षा गरिएको छ भने निर्माण आयोजना, सडक यातायात, पर्यटन तथा विपद् व्यवस्थापनमा पनि मौसम सूचनाको उपयोग बढ्न सक्नेछ । मस्यौदामा छोटो अवधिको पूर्वानुमानसँगै साप्ताहिकदेखि मौसमी अवधिसम्मको पूर्वानुमान विकास गर्ने योजना पनि छ । यसअन्तर्गत मनसुन, हिउँद, वर्षा, तापक्रम तथा खडेरीजस्ता अवस्थाबारे अग्रिम जानकारी दिने प्रणाली सुदृढ गर्ने प्रश्ताव गरिएको छ । यस्ता पूर्वानुमानले कृषि योजना, जलस्रोत व्यवस्थापन र जोखिम न्युनिकरणका निर्णयमा सहयोग पु¥याउने अपेक्षा राखिएको छ । स्वेत्तपत्र अनुसार विश्वसनीय मौसम पूर्वानुमानका लागि सतहको मौसम मापन मात्र पर्याप्त हुँदैन । माथिल्लो वायुमण्डलको तापक्रम, चाप, आर्द्रता र हावाको अवस्थासम्बन्धी तथ्यांक पनि आवश्यक हुन्छ । यही आवश्यकतालाई ध्यानमा राख्दै मस्यौदामा थप प्रदेशमा छवटा रेडियोसोन्डे केन्द्र स्थापना गर्ने प्रश्ताव छ ।हालको माथिल्लो वायुमण्डलीय अवलोकन क्षमतालाई विस्तार गर्नसके मौसम प्रणालीको विकास र त्यसको सम्भावित प्रभाव विश्लेषण गर्न थप आधार प्राप्त हुनेछ । यस्तो तथ्यांक संख्यात्मक मौसम पूर्वानुमान मोडेलको गुणस्तर सुधार गर्नसमेत उपयोगी हुने विभागले स्वेत्तपत्रमा उल्लेख गरेको छ । यससँगै विभागले मौसमसम्बन्धी तथ्यांकको संकलन, प्रशोधन, भण्डारण र आदानप्रदानलाई व्यवस्थित गर्ने लक्ष्य राखेको छ भने खुला डिजिटल तथ्यांक तथा एपीआईमार्फत आवश्यक सूचना उपलब्ध गराउने व्यवस्थाले अनुसन्धानकर्ता, सरकारी निकाय र अन्य सरोकारवालालाई मौसमसम्बन्धी जानकारी प्रयोग गर्न सहज बनाउन सक्ने विभागको अपेक्षा छ । मौसमको प्रभाव हवाई उडान सुरक्षासँग पनि प्रत्यक्ष जोडिएकाले यसैलाई व्यवस्थित गर्न विभागअन्तर्गत हवाई मौसम निर्देशनालयको व्यवस्था गर्ने प्रस्ताव मस्यौदामा छ । निर्देशनालयमार्फत विमानस्थल मौसम सेवा, उडान मार्गको मौसम पूर्वानुमान, सेवा गुणस्तर व्यवस्थापन र सम्बन्धित निकायसँगको समन्वयलाई व्यवस्थित गर्ने लक्ष्य राखिएको छ । मस्यौदामा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईसीएओ) र विश्व मौसम विज्ञान संगठन (डब्लूएमओ) का लागू हुने मापदण्डअनुसार सेवा स्तरोन्नति गर्ने तथा गुणस्तर व्यवस्थापन प्रणाली लागू गर्ने विषय पनि समेटिएको छ । यसले हवाई मौसम सेवाको विश्वसनीयता, निरन्तरता र अन्तर्राष्ट्रिय मापदण्डअनुरूप सञ्चालनलाई प्राथमिकता दिनेछ । नेपालको हिमाली भूगोल, तापक्रमको परिवर्तन, हिमपात, वर्षा र चरम मौसमी घटनाको अध्ययनका लागि छुट्टै अनुसन्धान क्षमताको विकास गर्ने योजना पनि मस्यौदामा छ । मौसम तथा जलवायु अनुसन्धान केन्द्र स्थापना गरी हिमाली जलवायु, जलवायु परिवर्तन र चरम मौसमी घटनाको अध्ययनलाई व्यवस्थित गर्ने प्रस्ताव गरिएको छ । विभागकाअनुसार नेपालको भौगोलिक विविधताका कारण जलवायु परिवर्तनको प्रभाव सबै क्षेत्रमा समान हुँदैन । त्यसैले स्थानीय तथ्यांकमा आधारित अनुसन्धानले जोखिम पहिचान, अनुकूलन योजना र दीर्घकालीन नीति निर्माणमा सहयोग पु¥याउनेछ । यससँगै राष्ट्रिय जलवायु सेवा रूपरेखा (एनएफसीएस) विकास गरी कृषि, स्वास्थ्य, ऊर्जा, पर्यटन, जलस्रोत र पूर्वाधारजस्ता क्षेत्रमा जलवायु सूचनाको उपयोग बढाउने लक्ष्य छ । मस्यौदामा बहुप्रकोप पूर्वसूचना प्रणाली सुदृढ गर्ने, प्रभावमा आधारित पूर्वानुमान विकास गर्ने र स्थानीय तहसम्म चेतावनी तथा सूचना पुर्याउने विषयलाई प्राथमिकता दिइएको छ । वेबसाइट, सामाजिक सञ्जाल, रेडियो, टेलिभिजन, मोबाइल तथा अन्य सञ्चारमाध्यम प्रयोग गरी सूचना प्रवाह गर्ने योजना छ । चारवटा उच्च जोखिमयुक्त हिमतालको पानीको सतह घटाउने योजना यस्तै, जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको स्वेत्तपत्रमा विपद् जोखिम न्यूनीकरण तथा बाढीको पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन ६ वटा प्रमुख नदी बेसिनमा पूर्वसूचना प्रणाली विस्तार गर्ने र चारवटा उच्च जोखिमयुक्त हिमतालको पानीको सतह घटाउने योजना अघि सारिएको छ । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम वृद्धि भई हिमनदी पग्लिने, हिमपहिरो जाने र हिमताल विस्फोटको जोखिम बढ्दै गएपछि जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले उक्त योजना बनाएको हो । केन्द्रको श्वेतपत्रमा अत्याधिक जोखिममा रहेका मनाङको ठुलागी, संखुवासभाको लोअर अरुण तथा सोलुखुम्बुका लुम्दिङ छो र होंगु-२ हिमतालको पानीको सतह घटाउन ‘ग्लोफ सञ्जीवनी आयोजना’ अघि सारिएको छ । सन् २०२६ देखि २०३३ सम्म सञ्चालन हुने यस आयोजनाको कुल बजेट करिव ४९.९ मिलियन अमेरिकी डलर रहेको छ । यसअघि दोलखाको रोल्वादिङ उपत्यकामा रहेको छो-रोल्पा र सोलुखुम्बुको इम्जा हिमतालको पानीको सतह सफलताका साथ घटाइसकिएको अनुभवलाई आधार मानी यी नयाँ हिमतालहरूमा पनि जोखिम न्युनिकरणका उपाय अपनाइनेछ । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले ‘प्राथमिकता प्राप्त नदी बेसिन बाढी जोखिम व्यवस्थापन आयोजना’ (२०२२-२०२८) अन्तर्गत ७.५४ मिलियन डलरको लागतमा ६ वटा नदी बेसिनहरूमा बाढी पूर्वसूचना प्रणाली जडान गरिरहेको छ । साथै, केन्द्रले जेठ १ देखि असोज मसान्तसम्म २४ सै घण्टा बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा सञ्चालन गर्ने योजना बनाएको छ भने चालु आर्थिक वर्षमा कर्णाली र नारायणी नदी बेसिनका लागि नयाँ बाढी पूर्वसूचना मोडल विकास गर्ने र बागमती सुधार आयोजना अन्तर्गत २ करोड ६१ लाख रुपैयाँको लागतमा समुदायमा आधारित बाढी पूर्वसूचना प्रणाली निर्माण गर्ने योजना रहेको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

दसैँ मनाउना साथ भारत फर्किँनेको ओइरो
धनगढी । सुदूरपश्चिमका सीमा नाकामा यतिबेला भारततिर जाने नेपालीको लस्कर देखिन्छ । दसैँ मनाएर कमाइका लागि भारत जाने नेपालीको चहलपहल अहिले सुदूरपश्चिमका सीमा नाकामा बढेको छ । कैलालीको जानकी गाउँपालिका–३ का... ...

एनपीएल सुरक्षामा दैनिक एक हजार प्रहरी, ड्रोन र सीसीटीभीबाट निगरानी
• नेपाल प्रिमियर लिग (एनपीएल) को सुरक्षाका लागि एक हजारभन्दा बढी प्रहरी परिचालन गरिनेछ। • खेलाडी, होटल, ट्राफिक व्यवस्थापन र दर्शकको सुरक्षामा विशेष ध्यान दिइनेछ। • सुरक्षाका लागि सीसीटीभी, ड्रोन र तालिमप्राप्त कुकुरको प्रयोग गरिनेछ। ...

अमेरिकामा अउडीको ४.२ अर्ब डलर लगानी
वासिङटन।जर्मन कार निर्माता कम्पनी अउडीले अमेरिकामा आफ्नो पहिलो कारखाना निर्माण गर्न चार दशमलव दुई अर्ब अमेरिकी डलर लगानी गर्ने योजना बनाएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन्। उक्त कारखानाबाट वार्षिक दुई लाख सवारीसाधन उत्पादन हुनेछन्। अउडीले विज्ञप्तिमार्फत लगानीको पुष्टि गर्दै प्रस्तावित कारखानाबाट करिब चार हजार ५०० रोजगारी सिर्जना हुने जनाएको छ। अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनभन्दा १० दिनअघि ...

प्राध्यापक र विद्यार्थीलाई परिचय पत्र साथमै राख्न त्रिवि विश्वविद्यालय क्याम्पसको आग्रह
त्रिभुवन विश्वविद्यालय विश्वविद्यालय क्याम्पसले प्राध्यापक, कर्मचारी एवम् विद्यार्थीलाई परिचय पत्र साथमै राख्न आग्रह गरेको छ। त्रिवि विश्वविद्यालय क्याम्पस प्रिन्सिपलको कार्यालय कीर्तिपुरले कात्तिक ८ गते सूचना प्रकाशित गरी यस्तो आग्रह गरेको हो। ‘यहि मिति २०८३ कार्तिक ९ गते देखि मंसिर ५ गते सम्म संचालन हुन गैरहेको एनपीएल तेश्रो संस्करणको क्रिकेट खेल... ...


