‘मुटुलाई रातो मासु र चिल्लो मन पर्दैन’

दसैँमा खसीको मासुका विभिन्न परिकार खाने चलन छ। आफन्तसँगको भेटघाट र रमाइलोमा मदिरा तथा गुलिया पेय पदार्थको सेवन पनि बढ्न सक्छ। चाडपर्वका बेला खानपानसँगै दैनिक दिनचर्या फेरिन्छ। राति अबेरसम्म जाग्राम बस्ने, धेरै खाने र कम हिँडडुल गर्ने बानीले विशेषगरी मुटुका बिरामीको स्वास्थ्यमा असर पार्न सक्छ। अत्यधिक मदिरा सेवनले मुटुको धड्कन अनियमित बनाउनेदेखि हृदयाघातको जोखिम बढाउनेसम्मका समस्या निम्त्याउन सक्छ। मुटुरोग, उच्च रक्तचाप, मधुमेह र उच्च कोलेस्ट्रोल भएका व्यक्तिले अझ बढी सावधानी अपनाउनुपर्छ। दसैँमा मासु कति खाने, कुन परिकारबाट जोगिने, मदिराले मुटुमा कस्तो असर गर्छ र स्वास्थ्य समस्या हुन नदिन के गर्ने भन्ने विषयमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीसँग सृष्टि बरालले गरेको कुराकानीको सम्पादित अंश : दसैँमा खसीको मासु र चिल्लो परिकार धेरै खाने चलन छ। यसले मुटुलाई कस्तो असर गर्छ? मुटुलाई धेरै चिल्लो र रातो मासु मन पर्दैन। कम चिल्लो भएको माछा, कुखुराको मासुजस्ता खानेकुरा मुटुका लागि तुलनात्मक रूपमा राम्रो हुन्छन्। दसैँमा खसीको मासु खाने हाम्रो चलन छ। मासुसँगै मदिरा, बियर वा कोक, फ्यान्टाजस्ता गुलिया पेय पदार्थ पनि खाइन्छन्। बिदाको बेला परिवारसँग बसेर खाने, पिउने र रमाइलो गर्ने चलन छ। यही बेला अस्पतालको आकस्मिक उपचार कक्ष पनि व्यस्त हुन्छ। दसैँमा कतिपय अस्पतालका बहिरंग सेवा बन्द हुने भएकाले बिरामी आकस्मिक उपचार कक्षमा पुग्छन्। खानपान र जीवनशैली बिग्रिएका कारण मुटु तथा पेटसम्बन्धी समस्या लिएर आउनेहरू पनि हुन्छन्। अलिअलि खसीको मासु खाँदैमा समस्या हुन्छ भन्ने होइन। ठिक्क खायो, त्यसअनुसार हिँडडुल र व्यायाम गर्यो भने सामान्यतया समस्या हुँदैन। तर अत्यधिक मासु, चिल्लो पदार्थ र मदिरा सेवन गर्दा जोखिम बढ्छ। मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी धेरै मासु र मदिरा सेवन गर्दा मुटुको धड्कन बिग्रिन्छ भनिन्छ। त्यो कस्तो समस्या हो? अत्यधिक मदिरा सेवन गर्दा मुटुको धड्कन अनियमित हुन सक्छ। यसलाई ‘हलिडे हार्ट सिन्ड्रोम’ भनिन्छ। यस्तो अवस्थामा ‘एट्रियल फिब्रिलेसन’ भनिने समस्या देखिन सक्छ। यसमा मुटु एकदम छिटोछिटो धड्किने, सास फेर्न गाह्रो हुने, छातीमा असहजता हुने, चक्कर लाग्ने वा बेहोस हुनेजस्ता लक्षण देखिन सक्छन्। यस्तो समस्या पहिलेदेखि मुटुको रोग भएका व्यक्तिमा मात्रै हुन्छ भन्ने छैन। धेरै मदिरा सेवन गरेपछि अन्य व्यक्तिमा पनि मुटुको चाल बिग्रन सक्छ।छाती बेस्सरी दुख्ने, सास फेर्न अत्यन्त गाह्रो हुने वा बेहोस हुने अवस्था आए तुरुन्त अस्पताल पुर्याउनुपर्छ। दसैँको समयमा हृदयाघातको जोखिम पनि बढ्छ? बढ्न सक्छ। विशेषगरी पहिलेदेखि मुटुको रोग, उच्च रक्तचाप, मधुमेह वा मुटुको रक्तनली साँघुरिएको समस्या भएका व्यक्तिमा जोखिम बढी हुन्छ।चाडपर्वमा धेरै खाने, मदिरा पिउने, व्यायाम नगर्ने र रातभरि तास खेलेर बस्ने बानी हुन सक्छ। यसले पहिलेदेखि रहेको समस्या झन् बिगार्न सक्छ। मुटुको चाल अनियमित हुने, हृदयाघात हुने र मुटुको कार्यक्षमता कमजोर हुनेजस्ता समस्या हामीले देखिरहेका हुन्छौँ। त्यसैले चाडपर्वमा खानपानसँगै सुत्ने, उठ्ने र हिँडडुल गर्ने बानीमा पनि ध्यान दिनुपर्छ। कस्ता व्यक्तिले रातो मासु खाँदा बढी सावधानी अपनाउनुपर्छ? विशेषगरी मुटुको रोग भएका, कोलेस्ट्रोल धेरै भएका, युरिक एसिड बढ्ने समस्या भएका र मिर्गौलाका बिरामीले ध्यान दिनुपर्छ। रातो मासुमा बोसो बढी हुन सक्छ। धेरै बोसो भएको मासु नियमित रूपमा खाँदा कोलेस्ट्रोल र मुटुसम्बन्धी समस्या भएका व्यक्तिलाई असर पर्न सक्छ। मिर्गौलाको कार्यक्षमता घटेका व्यक्तिले पनि प्रोटिनको मात्रामा सावधानी अपनाउनुपर्छ। युरिक एसिड बढी हुने र ‘गाउट’को समस्या भएकालाई रातो मासु अझ समस्या हुन सक्छ। गाउट हुँदा विशेषगरी खुट्टाको बूढीऔँलालगायत जोर्नी सुन्निने र निकै दुख्ने हुन्छ। त्यसैले यस्तो समस्या भएका व्यक्तिले रातो मासु र मदिराको सेवनमा विशेष ध्यान दिनुपर्छ। मिर्गौलाको कार्यक्षमता घटेका व्यक्तिले पनि प्रोटिनको मात्रामा सावधानी अपनाउनुपर्छ। कति मासु खाने भन्ने कुरा रोगको अवस्था र उपचारअनुसार मिलाउनुपर्छ। यसको अर्थ सबैले मासु पूर्ण रूपमा छाड्नुपर्छ भन्ने होइन। आफ्नो स्वास्थ्य अवस्थाअनुसार मात्रा मिलाएर खानुपर्छ। मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीसँग कुराकानी गर्दै सृष्टि बराल। मासु खाने हो भने कति खाने? अरू केसँग मिलाएर खाने? हामीले भन्ने कुरा हो- थोरै खाऊ, स्वस्थ खाऊ। दसैँमा मासु खानै हुँदैन भनेको होइन। तर स्वास्थ्य बिग्रने गरी खानु हुँदैन। मासु मात्रै धेरै खाने बानी राम्रो होइन। मासुसँग प्रशस्त सलाद खानुपर्छ। काँक्रो, गाजर, मुला, बन्दा, गोलभेँडा मिसाएर सलाद बनाउन सकिन्छ। मासुभन्दा बढी सलाद र सागसब्जी खाने बानी बसाल्नुपर्छ। फलफूल र गेडागुडी पनि खानुपर्छ। खानाको सुरुवात नै सलादबाट गर्न सकिन्छ। मासु खायो भने हिँडडुल पनि गर्नुपर्छ। बिदा छ भनेर दिनभरि कोठाभित्र बसेर खाने, पिउने र तास खेल्ने मात्रै गर्नु हुँदैन। परिवारसँग बाहिर घुम्न जान सकिन्छ। पहिले गाउँघरमा पिङ खेल्ने चलन थियो। अहिले पनि सकेसम्म शारीरिक गतिविधि बढाउनुपर्छ। मासुको छाला, कलेजो, फोक्सो, मिर्गौला र गिदीजस्ता परिकारबारे के भन्नुहुन्छ? मासुको छालामुनि बोसो बढी हुन्छ। त्यसैले विशेषगरी मुटुका बिरामीले छाला र देखिने बोसो हटाएर मासु खानु राम्रो हुन्छ। कलेजो, गिदी र अन्य भित्री अंगका परिकारमा कोलेस्ट्रोल वा ‘प्युरिन’ बढी हुन सक्छ। उच्च कोलेस्ट्रोल, युरिक एसिड र गाउटको समस्या भएका व्यक्तिले यस्ता परिकार सकेसम्म नखानु राम्रो हुन्छ। मुटु र मिर्गौलाका बिरामीले पनि सावधानी अपनाउनुपर्छ। स्वादका लागि धेरै बोसो भएको मासु र भित्री अंगका परिकार खाने चलन छ। तर स्वादभन्दा स्वास्थ्यलाई प्राथमिकता दिनुपर्छ। मासुसँगै नुनिलो अचार पनि धेरै खाइन्छ। नुनले मुटुमा कस्तो असर गर्छ? हामी रातो मासु र कोलेस्ट्रोलको कुरा धेरै गर्छौं। तर नुनको मात्रामा पनि उत्तिकै ध्यान दिनुपर्छ। धेरै नुन खाँदा रक्तचाप बढ्न सक्छ। उच्च रक्तचापले मुटु र मिर्गौलामा असर गर्छ। मुटुको कार्यक्षमता कमजोर भएका व्यक्तिमा धेरै नुनले शरीरमा पानी जम्मा हुने र सास फेर्न गाह्रो हुने समस्या पनि बढाउन सक्छ। अत्यधिक मदिरा सेवनसँग सम्बन्धित अर्को गम्भीर समस्या ‘एक्युट प्यान्क्रियाटाइटिस’ हो। यो अग्न्याशयमा अचानक हुने सूजन हो। दसैँमा मासु पकाउँदा नुन बढी हालिन्छ। त्यसमाथि काँक्रोलगायतका नुनिला अचार खाइन्छन्। दाल, तरकारी र अन्य परिकारबाट पनि नुन शरीरमा पुगिरहेको हुन्छ। विश्व स्वास्थ्य संगठनले वयस्कलाई दैनिक पाँच ग्रामभन्दा कम नुन खान सिफारिस गरेको छ। यसमा सबै परिकारबाट शरीरमा पुग्ने नुन पर्छ। त्यसैले मासुमा नुन कम हाल्नुपर्छ। थप नुन र धेरै नुनिलो अचार खाने बानी पनि घटाउनुपर्छ। मासु र मदिरा सँगै खाँदा कस्तो असर पर्छ? रक्सी र मासुको संयोजन स्वास्थ्यका लागि राम्रो होइन। मदिरा सेवन आफैँमा हानिकारक हुन्छ। यसले मुटुको धड्कन बिगार्न सक्छ। रक्तचाप बढ्न सक्छ। मदिरासँगै धेरै चिल्लो मासु खाँदा शरीरमा क्यालोरीको मात्रा पनि बढ्छ। युरिक एसिड र गाउटको समस्या भएकालाई यसले थप असर गर्न सक्छ। पेटसम्बन्धी समस्या पनि देखिन सक्छन्। अत्यधिक मदिरा सेवनसँग सम्बन्धित अर्को गम्भीर समस्या ‘एक्युट प्यान्क्रियाटाइटिस’ हो। यो अग्न्याशयमा अचानक हुने सूजन हो। पित्तथैलीमा पत्थरी हुँदा पनि यस्तो समस्या हुन सक्छ। कतिपय अवस्थामा यो ज्यानै जाने खालको गम्भीर समस्या बन्न सक्छ। चाडपर्व रमाइलो गर्ने अवसर हो। तर खानपानमा लापरबाही गर्दा त्यही रमाइलो दुःखद अवस्थामा बदलिन सक्छ। त्यसैले मेरो सल्लाह मदिरा सेवन नगर्नु नै राम्रो भन्ने हो। मासु पनि मात्रा मिलाएर खानुपर्छ। मदिरासँगै कोक, फ्यान्टाजस्ता गुलिया पेय पदार्थ पनि धेरै पिइन्छन्। ती कत्तिको हानिकारक छन्? हामी मदिराको कुरा धेरै गर्छौं, तर गुलिया पेय पदार्थलाई बिर्सिन्छौँ। दसैँमा बजारमा यस्ता पेय पदार्थका विभिन्न छुट र विशेष बिक्री योजना आउँछन्। परिवारमा पनि धेरै किनेर ल्याउने चलन हुन्छ। यिनमा चिनी र क्यालोरी धेरै हुन सक्छ। बढी सेवन गर्दा तौल बढ्ने, रगतमा चिनीको मात्रा नियन्त्रण गर्न कठिन हुने र मुटुसम्बन्धी समस्या बढ्ने जोखिम हुन्छ। खान र पिउन दुवै जान्नुपर्छ। दसैँ भनेर जथाभावी खाने, पिउने गर्नु हुँदैन। यसको सट्टा सादा पानी, चिनी नहालेको कागती पानी वा मोहीजस्ता विकल्प रोज्न सकिन्छ। दहीबाट लस्सी बनाएर पिउन पनि सकिन्छ, तर त्यसमा धेरै चिनी हाल्नु हुँदैन। फलफूलको रस पिउनुभन्दा फलफूल नै खानु पनि राम्रो हो। खान र पिउन दुवै जान्नुपर्छ। दसैँ भनेर जथाभावी खाने, पिउने गर्नु हुँदैन। मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी। मासु कुन समयमा र कसरी पकाएर खाँदा राम्रो हुन्छ? मासु खाँदा मात्रा र पकाउने तरिका दुवैमा ध्यान दिनुपर्छ। सकेसम्म दिउँसोको खानामा मासु खाने र बेलुका हलुका खाना रोज्ने बानी राम्रो हुन्छ। विशेषगरी राति धेरै मासु खाएर सुत्नु हुँदैन। मासु पकाउँदा तेल कम हाल्नुपर्छ। धेरै तेलमा डुबाएर तार्नेभन्दा सामान्य तरिकाले पकाएर खानु राम्रो हुन्छ। खसीको मासु मात्रै खानुपर्छ भन्ने पनि छैन। कम बोसो भएको कुखुराको मासु वा माछा पनि खान सकिन्छ। माछा र कुखुराका पनि विभिन्न परिकार बनाउन सकिन्छन्। मासुसँग सागसब्जी, सलाद र फलफूललाई छुटाउनु हुँदैन। दसैँमा एकैपटक धेरै मासु पकाएर पाँच-सात दिनसम्म खाने चलन छ। यसले कस्तो असर गर्छ? यो पनि ध्यान दिनुपर्ने विषय हो। पहिले दसैँताका मौसम चिसो हुन्थ्यो। अहिले चाडपर्वको समयमा पनि धेरै ठाउँमा गर्मी हुन्छ। यस्तो अवस्थामा पकाएको मासु लामो समय राख्दा बिग्रने जोखिम हुन्छ। कतिपयले फूलपातीभन्दा अगाडि नै मासु ल्याउँछन् र दसैँभरि खाने गरी राख्छन्। पकाएको मासु पटकपटक फ्रिजबाट निकाल्ने, तताउने, खाने र फेरि फ्रिजमा राख्ने गर्छन्। यसरी सही तापक्रम कायम नगरी मासु राख्दा स्वास्थ्यमा समस्या हुन सक्छ। समयमा सुत्नुपर्छ, समयमा उठ्नुपर्छ। नियमित व्यायाम गर्ने बानी छ भने चाडपर्वमा पनि त्यसलाई निरन्तरता दिनुपर्छ। त्यसैले मेरो सुझाव हो- आज पकाऊ, सकेसम्म आजै खाऊ। लामो समय राख्नैपर्ने भए सुरक्षित रूपमा फ्रिज वा फ्रिजरमा राख्नुपर्छ। खानाको सरसफाइ र भण्डारणमा ध्यान दिनुपर्छ। बिग्रिएको मासु खाएर स्वास्थ्य जोखिम लिनु हुँदैन। चाडपर्वमा रातभरि तास खेल्ने, अबेरसम्म बस्ने र व्यायाम नगर्ने बानीले कस्तो असर गर्छ? यसले धेरै असर गर्न सक्छ, विशेषगरी पहिलेदेखि स्वास्थ्य समस्या भएकालाई। दसैँमा रातभरि बस्ने, खाने, पिउने र बिहान ढिलो उठ्ने चलन हुन्छ। यसले नियमित जीवनशैली बिगार्छ। युवाहरूले पनि स्वास्थ्यको ख्याल गर्नुपर्छ। तर उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रोल र मुटुरोग भएका व्यक्तिले अझ बढी सावधानी अपनाउनुपर्छ। समयमा सुत्नुपर्छ, समयमा उठ्नुपर्छ। नियमित व्यायाम गर्ने बानी छ भने चाडपर्वमा पनि त्यसलाई निरन्तरता दिनुपर्छ। बिदा छ भनेर दिनभरि निष्क्रिय बस्नु हुँदैन। परिवारसँग बाहिर निस्केर हिँडडुल गर्न सकिन्छ। मुटुरोग, उच्च रक्तचाप र मधुमेहका बिरामीले औषधि तथा स्वास्थ्य परीक्षणमा के ध्यान दिनुपर्छ? यो एकदमै महत्त्वपूर्ण कुरा हो। चाडपर्वको रमाइलोमा कतिपयले नियमित औषधि खानै बिर्सन्छन्। मासु धेरै खाइएको छ, मदिरा सेवन गरिएको छ, व्यायाम छैन, निद्रा पुगेको छैन, त्यसमाथि औषधि पनि छुट्यो भने स्वास्थ्यमा गम्भीर समस्या आउन सक्छ। केही औषधि जीवन बचाउन अत्यन्त आवश्यक हुन्छन्। कतिपय अवस्थामा एक मात्रा छुट्दा पनि असर पर्न सक्छ। त्यसैले मुटुको धड्कन, रक्तचाप वा अन्य दीर्घकालीन रोगका लागि औषधि खाइरहेका व्यक्तिले समयमै औषधि सेवन गर्नुपर्छ। आफैँले औषधि घटाउने, बढाउने वा बन्द गर्ने गर्नु हुँदैन। विशेषगरी मुटुरोग, उच्च रक्तचाप, मधुमेह वा कोलेस्ट्रोलको समस्या भएकाले आफ्नो स्वास्थ्य अवस्था थाहा पाउनुपर्छ। अर्को कुरा स्वास्थ्य परीक्षण हो। चाडपर्व सुरु हुनुअघि एकपटक स्वास्थ्य परीक्षण गराउनु राम्रो हुन्छ। विशेषगरी मुटुरोग, उच्च रक्तचाप, मधुमेह वा कोलेस्ट्रोलको समस्या भएकाले आफ्नो स्वास्थ्य अवस्था थाहा पाउनुपर्छ। चार-पाँच महिनाअघि परीक्षण गरेको छ भने अहिले रक्तचाप, सुगर वा कोलेस्ट्रोलको अवस्था कस्तो छ भन्ने थाहा नहुन सक्छ। चाडपर्वअघि जाँच गराउन नपाएको भए पनि स्वास्थ्यको ख्याल गर्नुपर्छ। आवश्यकताअनुसार चाडपर्वपछि परीक्षण गराउन सकिन्छ। अन्त्यमा, दसैँलाई स्वस्थ र सुरक्षित बनाउन के सुझाव दिनुहुन्छ? दसैँ परिवारसँग बसेर रमाइलो गर्ने, खुसी साटासाट गर्ने पर्व हो। यो अवसरलाई अस्वस्थ खानपान र जीवनशैलीका कारण दुःखद अवस्थामा बदल्न दिनु हुँदैन। सबैभन्दा पहिले खानेकुराको मात्रामा ध्यान दिनुपर्छ। स्वादका लागि शरीरलाई चाहिनेभन्दा धेरै खाने बानी राम्रो होइन। मासु ठिक्क खानुपर्छ। चिल्लो र नुन कम गर्नुपर्छ। मासुसँगै सलाद, सागसब्जी, फलफूल र गेडागुडी खानुपर्छ। मदिरा र गुलिया पेय पदार्थबाट टाढा रहनु राम्रो हुन्छ। दोस्रो, नियमित हिँडडुल र व्यायाम गर्नुपर्छ। तेस्रो, समयमा सुत्नुपर्छ। चौथो, औषधि सेवन गरिरहेका व्यक्तिले औषधि छुटाउनु हुँदैन। वृद्धवृद्धा, मुटुरोग, मधुमेह र उच्च रक्तचाप भएका व्यक्तिले अझ बढी ध्यान दिनुपर्छ। चाडपर्वलाई खुसीको अवसर बनाउनुपर्छ, स्वास्थ्य बिगार्ने होइन।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

बुबाबिनाको दसैं औपचारिकता जस्तै : रेखा थापा
म चार–पाँच वर्षकी थिएँ होला, स्कर्ट लगाएकी थिएँ । लिंगेपिङमा मेरो पालो आउँदा जामा उडेर लाज होला भन्ने डरले कुनामा गएर टोलाएर बसेँ । ...

सप्तकोशीमा डुबेर बेपत्ता युवा मृत फेला
सुनसरी। सप्तकोशीमा पौडी खेल्ने क्रममा आइतबार साँझ बेपत्ता भएका बराहक्षेत्रका एक युवक साेमबार बिहान मृत फेला परेका छन्। बराहक्षेत्र नगरपालिका–१० बकुल्लाचापका २३ वर्षीय ओसन कोइरालाको शव आज बिहान फेला परेको... ...

बढ्यो सुन र चाँदी दुवैको भाउ
नेपाली बजारमा सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) छापावाल सुनको भाउ प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँ कायम गरिएको हो। हिजो आइतबार सुनको मूल्य तोलाको २ लाख ८९ हजार ७ सय रुपैयाँ थियो। यस्तै अघिल्लो दिनको तुलनामा चाँदीको भाउ पनि बढेको छ। सुनचाँदी व्यवसा... ...

सप्तकोशीमा डुबेर बेपत्ता युवा मृत फेला
सुनसरी।सप्तकोशीमा पौडी खेल्ने क्रममा आइतबार साँझ बेपत्ता भएका बराहक्षेत्रका एक युवक आज बिहान मृत फेला परेका छन्। बराहक्षेत्र नगरपालिका–१० बकुल्लाचापका २३ वर्षीय ओसन कोइरालाको शव आज बिहान फेला परेको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार निजको शव परीक्षणका लागि इनरुवास्थित जिल्ला अस्पताल पठाइएको इलाका प्रहरी कार्यालयले जनाएको छ। ...


