काठमाडौँ । मुक्तिनाथ विकास बैंक कोष प्रवर्धक र मुक्तिनाथ क्यापिटल योजना व्यवस्थापक रहेको ‘मुक्तिनाथ म्युचुअल फन्ड’ अन्तर्गत सञ्चालित दुवै योजनाको २०८३ कार्तिक मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणले मिश्रित नतिजा देखाएको छ । कुल २ अर्ब ५० करोड रुपैयाँ पुँजी परिचालन गरिरहेका यी दुई योजनामध्ये परिपक्व भइसकेको पहिलो योजना नाफासहित स्थिर देखिएको छ भने भर्खरै सुरु भएको दोस्रो योजना प्रारम्भिक खर्च र बजार उतारचढावका कारण दबाबमा देखिएको छ । समग्रमा, ‘मुक्तिनाथ म्युचुअल फण्ड १’ ले दुई वर्षमा लगातार लाभांश वितरण गर्दै आधार मूल्यभन्दा माथि आफ्नो स्थान सुरक्षित राखेको छ, यद्यपि यसको प्रतिफल दर भने अपेक्षित तुलनामा सुस्त देखिन्छ । ‘मुक्तिनाथ म्युचुअल फण्ड २’ सञ्चालनमा आएको पहिलो महिनामै नोक्सानीमा देखिए पनि पर्याप्त तरलतासहित लगानी विस्तारको चरणमा छ ।२०८१ मङ्सिर ४ गतेदेखि सञ्चालनमा आएको १ अर्ब २५ करोड रुपैयाँ आकारको ‘मुक्तिनाथ म्युचुअल फन्ड १’ कार्तिक मसान्तसम्म १ करोड ७९ लाख २ हजार रुपैयाँ खुद नाफामा रहेको छ । यसले आर्थिक वर्ष २०१÷८२ मा ३.८० प्रतिशत र २०८२/८३ मा २.२० प्रतिशत गरी लगातार दुई वर्ष इकाईधनीलाई कुल ६ प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ । लाभांश समायोजनपछि पनि फन्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) आधार मूल्य १० रुपैयाँभन्दा माथि अर्थात् १० रुपैयाँ १४ पैसा र असोजको तुलनामा ४ पैसाले सुधार भएको छ । नेपाल धितोपत्र बोर्डबाट २०८३ भदौ १० गते अनुमति पाएको र असोज २८ गतेदेखि योजना अवधि सुरु भएको १ अर्ब २५ करोड रुपैयाँको ‘मुक्तिनाथ म्युचुअल फन्ड २’ भने सुरुवाती चरणमै १ करोड ५० लाख २३ हजार रुपैयाँ खुद नोक्सानीमा देखिएको छ । असोज मसान्तमा ९ रुपैयाँ ९५ पैसा रहेको यसको न्याभ कार्तिक मसान्तमा १० पैसाले घटेर ९ रुपैयाँ ८५ पैसामा झरेको छ । सञ्चालनमा आएको एक महिनाभित्रै करिब ९० करोड ५ लाख रुपैयाँ पुँजी बजारमा परिचालन गरेको फन्डले अझै २ करोड ६६ लाख रुपैयाँ बैंक मौज्दातमा राखेको छ । प्रतिफल र व्यवस्थापकीय शुल्कको सन्तुलनवित्तीय विवरण अनुसार दुवै फन्डले कार्तिक मसान्तसम्म योजना व्यवस्थापक, डिपोजिटरी र कोष सुपरिवेक्षक शुल्क बापत नियमित खर्च लेखाङ्कन गरेका छन् । फन्ड–१ ले व्यवस्थापक तथा डिपोजिटरी शुल्कमा ६६ लाख २७ हजार रुपैयाँ र कोष सुपरिवेक्षक शुल्कमा ३ लाख २३ हजार रुपैयाँ खर्च गरेको छ भने नोक्सानीमा रहेको फन्ड २ ले पनि व्यवस्थापक तथा डिपोजिटरी शुल्कमा १९ लाख ५४ हजार रुपैयाँ खर्च गरेको छ । संस्थागत नाफामा रहेको फन्ड– १ का लागि यो खर्च स्वाभाविक देखिए पनि नोक्सानीमा रहेको फन्ड– २ का लगानीकर्ताका लागि भने प्रतिफल नआउँदै शुल्कको भार थपिएको देखिन्छ ।
मुक्तिनाथका म्युचुअल फन्ड : पहिलो नाफा र लाभांशमा स्थिर,दोस्रो सुरुवाती दबाबमा

Read Complete Original Article
Published originally on टक्सार






