काठमाडौं।डेभिड मिलरको आक्रामक ब्याटिङका बाबजुद कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको छ। शुक्रबार भएको खेलमा सुदूरपश्चिमले कर्णालीलाई ३९ रनले हराउँदै प्रतियोगितामा तेस्रो जित दर्ता गरेको छ। सुदूरपश्चिमले दिएको १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३७ रन मात्रै बनाउन सक्यो। कर्णालीका लागि डेब्यु खेल खेलेका डेभिड मिलरले अविजित ९३ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्। उनले ५५ बलमा ७ छक्का र ५ चौका प्रहार गरे। अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्। सुदूरपश्चिमका स्कट कुगेलेइनले २ विकेट लिए। हेमन्त धामी, अनिल खरेल, दीपेन्द्रसिंह ऐरी, थारिन्दु रत्नायके र अविनाश बोहोराले समान १ विकेट हात पारे। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको थियो। उसका लागि सैफ जैबले सर्वाधिक ३५ रन बनाए। विनोद भण्डारीले २७, ब्रान्डन म्याकमुलेनले २४, इशान पाण्डेले २३ र थारिन्दु रत्नायकेले २२ रनको योगदान दिए। कर्णालीका मार्क वाटले २ विकेट लिँदा हुसेन टालट, नन्दन यादव र सूर्य तामाङले समान १ विकेट लिए। जितसँगै पाँच खेलबाट ६ अंक जोडेको सुदूरपश्चिम अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। चार अंक रहेको कर्णाली एक खेल कम खेलेर पाँचौं स्थानमा छ।
मिलरको शतक खेर गयो, सुदूरपश्चिम ३९ रनले विजयी

Read Complete Original Article
Published originally on नेपालन्युज






