काठमाडौं। सिरहाको मिर्चैयामा प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीलाई देखेपछि भाग्न खोज्ने अर्का एक जना भने फरार भएका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले मंगलबार राति १०ः३५ बजे मिर्चैया नगरपालिका-३ बलुवा टोलस्थित सडकखण्डमा उनीहरूलाई नियन्त्रणमा लिएको हो। बलुवाबाट मिर्चैयातर्फ आउँदै गरेको प्रदेश २-०२-०१० प ३९८१ नम्बरको मोटरसाइकलमा तीन जना सवार थिए। प्रहरीले जाँच गर्ने क्रममा पहेँलो प्लास्टिकको पोकामा लुकाएर राखिएको २४.११० ग्राम ब्राउन सुगर बरामद गरेको छ। पक्राउ पर्नेमा धनुषाको शहीदनगर नगरपालिका-९ का १८ वर्षीय रजनीश यादव र सिरहाको मिर्चैया नगरपालिका-११ का २० वर्षीय नितेश कुमार साह रहेका छन्। फरार हुने व्यक्तिको पहिचान सिरहाको कल्याणपुर नगरपालिका-४ निवासी २० वर्षीय काशिन्द्र साहका रूपमा खुलेको छ। प्रहरीले उनको खोजी कार्य जारी राखेको छ। पक्राउ परेका दुवै युवक, बरामद लागुऔषध र मोटरसाइकललाई इलाका प्रहरी कार्यालय मिर्चैयामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मिर्चैयामा ब्राउन सुगरसहित दुई युवक पक्राउ

Read Complete Original Article
Published originally on नेपालन्युज





