हुम्ला । हुम्लाको सिमकोट गाउँपालिकामा रहेका माध्यमिक विद्यालय स्तरीय दोस्रो अध्यक्ष रनिङ कप प्रतियोगिताको प्रथम हुँदै मानसरोवर नमुना माध्यमिक विद्यालयले सिल्ड उचालेको छ । चार दिनसम्म सञ्चालन भएको प्रतियोगितामा मानसरोवर माविले सबैभन्दा बढी स्वर्ण पदक जित्दै विजेता बनेको हो । प्रतियोगितामा मानसरोवर माविले ११ वटा स्वर्ण पदक जितेको छ । त्यस्तै बालमन्दिर माविले १० स्वर्ण पदक प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेको छ । कर्णाली मावि चौगानफया र सैपाल हिमाल मावि स्याँडाले दुईरदुई स्वर्ण पदक जित्दै तेस्रो स्थान हासिल गरेको आयोजक विद्यालयका शिक्षक फुन्जोक लामाले बताउनुभयो । कैलाश मावि डाँडाफयाले एक स्वर्ण पदक जितेको थियो भने सहभागी दुई विद्यालय रामदेव मावि ठेहे र रनिङ मावि बरगाउँले कुनै पनि स्वर्ण पदक जित्न नसकेको शिक्षक लामाले जानकारी दिनुभयो । भलिबलतर्फ छात्रमा बालमन्दिर मावि प्रथम र कर्णाली मावि द्वितीय भएका थिए । छात्रातर्फ मानसरोवर मावि प्रथम र रनिङ मावि द्वितीय भएका थिए । प्रतियोगितामा छात्र तथा छात्रातर्फका विभिन्न खेलहरू सञ्चालन गरिएका थिए । कुल २६ वटा इभेन्टमा खेलाडीहरूबीच प्रतिस्पर्धा भएको सिमकोट गाउँपालिका-८ का वडाध्यक्ष कमल बुढाले जानकारी दिनुभयो । छात्रछात्रा गरी डेढ सयभन्दा बढी खेलाडीले प्रतियोगितामा सहभागिता जनाएको उहाँले बताउनुभयो । प्रतियोगिताका विजेता खेलाडीहरूलाई पदक, प्रमाणपत्र र पुरस्कार प्रदान गरिएको थियो भने विजेता विद्यालयलाई सिल्ड प्रदान गरिएको थियो । सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईं, गाउँपालिका उपाध्यक्ष सुशीला रोकाय लगायतले सिल्ड तथा पदक वितरण गरेका थिए । प्रतियोगिताको आयोजना सैपाल हिमाल माध्यमिक विद्यालयले गरेको थियो भने सिमकोट गाउँपालिकाको आर्थिक सहयोग रहेको थियो । जिल्लाका अन्य गाउँपालिकामा पनि यस्ता प्रतियोगिता सञ्चालन गर्न बाँकी रहेको छ ।
मानसरोवरले उचाल्यो दोस्रो अध्यक्ष रनिङ कपको सिल्ड

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






