माओको मीमले एम्बाप्पेलाई धक्का

एजेन्सी । फ्रान्सेली फुटबल स्टार किलियन एम्बाप्पेले चीनका संस्थापक नेता माओत्से तुङलाई ‘तानाशाह’ भनेको बुझिने टिप्पणीमा माफी माग्नुभएको छ । उहाँको टिप्पणीलाई लिएर चीनमा आलोचना बढेपछि तीन चिनियाँ कम्पनीले उहाँसँगको व्यावसायिक सम्झौता अन्त्य गरेका छन् । एम्बाप्पेले मंगलबार वक्तव्य जारी गर्दै आफ्नो टिप्पणी गलत आँकलनमा आधारित रहेको स्वीकार गर्नुभएको हो । ‘मेरो टिप्पणी उचित थिएन । यसले चीन र विश्वभरका चिनियाँ समुदायका धेरै मानिसलाई चोट पुर्याएको रहेछ भन्ने मैले अहिले बुझेको छु’, उहाँले भन्नुभएको छ, ‘मेरो भनाइबाट दुःखी भएका सबैसँग म माफी माग्छु । मेरो उद्देश्य त्यस्तो थिएन । चिनियाँ जनता र उनीहरूको इतिहासप्रति मेरो गहिरो सम्मान छ । म हृदयदेखि नै क्षमाप्रार्थी छु ।’ चीनमा एम्बाप्पेको लोकप्रियता र व्यावसायिक उपस्थिति ठूलो छ । सबवे स्टेसनदेखि भवनका लिफ्टसम्म उहाँका तस्वीरसहितका विज्ञापन देखिन्छन् । तर, विवादपछि पेय पदार्थ उत्पादक कम्पनी डोङपेङ, दुग्ध पदार्थ उत्पादक कम्पनी मेङनिउ र चिज उत्पादक कम्पनी मिल्क ग्राउण्डले मंगलबार उहाँसँगका सम्झौता अन्त्य गर्ने घोषणा गरेका छन् । तीनवटै कम्पनीले जारी गरेका वक्तव्यको भाषा लगभग समान थियो । उनीहरूले ‘राष्ट्रिय भावनामा चोट पुर्याउने कुनै पनि भनाइ र व्यवहार’को विरोध गर्ने बताएका छन् । यद्यपि, कम्पनीहरूले सम्झौता अन्त्य गर्नुको प्रत्यक्ष कारण स्पष्ट पारेका छैनन् । उनीहरूका वक्तव्य फ्रान्सेली अनलाइन टक शो ‘द ब्रिज’ मा सहभागी हुनुअघि एम्बाप्पेको अन्तर्वार्ता लिइएको देखिने एउटा भिडियो सामाजिक सञ्जाल एक्समा फैलिएको केही समयपछि सार्वजनिक भएका हुन् । भिडियोमा एम्बाप्पेलाई आफूलाई लिएर बनाइएको मन पर्ने इन्टरनेट मीमबारे सोधिएको छ । जवाफमा उहाँले एक व्यक्तिको भिडियो आफ्नो मन पर्ने मीम भएको बताउँदै ती व्यक्ति ‘चिनियाँ तानाशाह’ भएको आफूलाई लागेको उल्लेख गर्नुभएको छ । त्यसपछि भिडियोमा माओत्से तुङको निलो सुट लगाएको शरीरमा एम्बाप्पेको अनुहार जोडेर बनाइएको सम्पादित तस्वीर देखाइन्छ । फुटबल समर्थकहरूले एम्बाप्पेले आफ्ना टोलीका अन्य खेलाडी र आफू आबद्ध टोलीलाई समेत ओझेलमा पार्ने गरेको भन्दै उहाँलाई ठट्टामा ‘तानाशाह’ भन्ने गरेका छन् । माओत्से तुङलगायत अन्य निरंकुश शासकको शरीरमा एम्बाप्पेको अनुहार जोडेर बनाइएका मीम पनि सामाजिक सञ्जालमा व्यापकरूपमा फैलिने गरेका छन् । विवादबारे सोधिएको प्रश्नमा चीनको विदेश मन्त्रालयका प्रवक्ता गुओ चियाकुनले चिनियाँ जनताको भावनामा चोट पुर्याउने भनाइ र व्यवहारको चिनियाँ समाजका विभिन्न क्षेत्रबाट स्वाभाविकरूपमा विरोध हुने बताउनुभयो । चिनियाँ सामाजिक सञ्जाल रेडनोटले पनि एम्बाप्पेको आलोचना गरेको छ । कम्पनीले उहाँसँगको सामग्री साझेदारी सम्झौता सन् २०२४ डिसेम्बर ३१ मै समाप्त भएको स्पष्ट पार्दै सम्बन्धित प्रचार सामग्री हटाउने बताएको छ । रेडनोटले पनि राष्ट्रिय भावनामा चोट पुर्याउने व्यवहारको विरोध गरेको छ । मंगलबार एम्बाप्पेको खातालाई नयाँ फलोअर थप्न नमिल्ने गरी प्रतिबन्ध लगाइएको थियो । एम्बाप्पे चीनमा विद्युतीय पेय पदार्थदेखि दूध र चिजसम्मका उत्पादनको विज्ञापनमा देखिँदै आउनुभएको थियो । डोङपेङको एउटा विज्ञापनमा उहाँले चिनियाँ भाषामै नारा बोल्नुभएको थियो ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

जनकपुर र काठमाडौँ तथा कर्णाली र विराटनगर भिड्दै, हेड टु हेडमा को अगाडि ?
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत बिहीबार दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज आमनेसामने हुनेछन् ।... ...

सरकारले चिकित्सा शिक्षा क्षेत्र सुधारका माग सम्बोधन गर्ने भनेपछि गोविन्द केसीले २ दिन सारे सत्याग्रह
काठमाडौं । स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग सरकारले विगतमा गरेका सहमतिको समीक्षा गर्दै त्यसको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बसेको स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकारसहितको बैठकले कार्यान्वयन हुन बाँकी सहमतिका विषयलाई समन्वयका साथ समयमै टुङ्ग्याउने निर्णय गरेको हो। साथै, बैठकमा हालसम्म ...

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह
डुबानको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय झापाले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। ...

सराय नाचको महिमा
गणेश खनालअर्घाखाँची, कात्तिक १२ गते । पश्चिम नेपालमा ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको सराय नाच कोजाग्रत पूर्णिमाको अवसरमा सम्पन्न भएको छ । लुम्बिनी प्रदेशको पहाडी जिल्ला अर्घाख... ...


