काठमाडौँ । नेपालको पहिलो व्यवसायिक केबलकार ‘मनकामना केबलकार’ आफ्नो २८औँ वर्षको सञ्चालन पूरा गरी २९औँ वर्षमा प्रवेश गरेको छ । विसं. २०५५ साल मङ्सिर ८ गते (सन् १९९८ नोभेम्बर २४) देखि सञ्चालनमा आएको यस केबलकारले आज आफ्नो स्थापनाको २८ वर्ष पूरा गरेको हो । चितवन को–इ समूह अन्तर्गतको मनकामना दर्शन प्रा.लि. द्वारा सञ्चालित केबलकारले सञ्चालनमा आएदेखि हालसम्म २ करोड १२ लाखभन्दा बढी यात्रुहरूलाई सुरक्षित र भरपर्दो सेवा प्रदान गरिसकेको जनाएको छ । कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “मनकामना माताको कृपाले चितवन को–इ समूह अन्तर्गतको मनकामना दर्शन प्रा.लि. द्वारा सञ्चालित नेपालको पहिलो केबलकार मनकामना केबलकार (मङ्सिर ८ गते) आफ्नो २८औँ वर्षको सफल सञ्चालन पूरा गरी २९औँ वर्षमा प्रवेश गरेको छ । हालसम्म हामीले २ करोड १२ लाख भन्दा बढी यात्रुहरूलाई केबलकार सेवा प्रदान गरिसकेका छौँ ।” चितवन को–इ समूहका संस्थापक स्वार्गीय लक्ष्मण बाबु श्रेष्ठको परिकल्पना तथा स्थापनामा सुरु भएको यस केबलकारले नेपालको पर्यटन र पूर्वाधार विकासको क्षेत्रमा एक अग्रणी उद्यमको रूपमा आफूलाई स्थापित गरेको विज्ञप्तिमा उल्लेख छ । २९औँ वर्ष प्रवेशको विशेष अवसरमा कम्पनीले स्वर्गीय संस्थापक श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उनले देखाएको मार्गनिर्देशन र दूरदृष्टिलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरेको छ । कम्पनीले यस उचाइसम्म आइपुग्न साथ र विश्वास प्रदान गर्ने सम्पूर्ण ग्राहकवर्ग, अहोरात्र खटिने कर्मचारी, पर्यटन तथा आतिथ्य क्षेत्रका साझेदारहरूप्रति आभार प्रकट गरेको छ । साथै, निरन्तर सहयोग पुर्याउने सहिद लखन गाउँपालिका, इच्छाकामना गाउँपालिका, स्थानीय समुदाय तथा चितवन र गोरखा जिल्ला प्रशासन कार्यालयहरूप्रति पनि कम्पनीले कृतज्ञता ज्ञापन गरेको छ । आगामी योजनाबारे विज्ञप्तिमा थप भनिएको छ, “आगामी वर्षहरूमा यात्रुहरूलाई अझ उत्कृष्ट सेवा तथा स्तरीय अनुभव प्रदान गर्न कम्पनी सदैव प्रतिबद्ध रहने विश्वास दिलाउन चाहन्छौँ ।” मनकामना केबलकार विसं. २०५५ साल मङ्सिर ८ गतेदेखि (सन् १९९८ नोभेम्बर २४) मा सञ्चालनमा आएको थियो ।
मनकामना केबलकार २९औँ वर्षमा प्रवेश, २८ वर्षमा २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा

Read Complete Original Article
Published originally on टक्सार






