जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन्। शनिबार प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन्। प्रदेशसभामा विश्वासको मत प्राप्त गर्ने आवश्यक बहुमत नजुट्ने देखिएपछि मुख्यमन्त्री यादवले राजीनामा दिएका हुन्। उनले प्रदेशसभाको अंकगणितमा अल्झिनुभन्दा मधेशमा स्थिर सरकार निर्माण र राजनीतिक निकासका लागि राजीनामा दिएको बताएका छन्। पदभन्दा जनताको सेवा र विश्वास ठूलो रहेको उल्लेख गर्दै उनले राजनीतिक स्थिरताका लागि मार्गप्रशस्त गरेको बताए। मुख्यमन्त्री यादवले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक बोलाइएको थियो। यसअघि सत्ता साझेदार नेकपा (एमाले) ले असोज ३० गते चार मन्त्रीलाई फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। त्यसपछि संविधानअनुसार ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने बाध्यता मुख्यमन्त्री यादवमाथि थियो। गत कात्तिक २० गते नेपाली कम्युनिस्ट पार्टीले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनको सरकार थप संकटमा परेको थियो। १०२ सदस्यीय मधेश प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न कम्तीमा ५२ सांसदको समर्थन आवश्यक थियो। तर मुख्यमन्त्री यादव आबद्ध नेपाली कांग्रेससँग २२ सांसद मात्रै थिए। प्रदेशसभामा जनता समाजवादी पार्टी नेपालका २७, नेकपा (एमाले) का २४, नेपाली कांग्रेसका २२, नेपाली कम्युनिस्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन्। त्यस्तै, संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद छन्।
मधेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






