मत होइन, विश्वास गुमाएका हौँ, कांग्रेसबाट टाढिएका १० लाख मानसम्म पुग्छौँ : गगन थापा

काठमाडौं, कात्तिक ९ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीले गुमाएको मतभन्दा जनताको विश्वास पुनःस्थापित गर्नु अहिलेको प्रमुख चुनौती भएको बताउनुभएको छ। जनताको विश्वास जित्न सके मत स्वतः कांग्रेसको पक्षमा आउने उल्लेख गर्दै उहाँले सङ्गठन सुदृढीकरण, पार्टीको छवि सुधार र जनतासँगको सम्बन्ध विस्तारमा जोड दिनुभएको छ। सोमबार स्याङ्जामा आयोजित स्वागत तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै सभापति थापाले कांग्रेसबाट टाढिएका मतदाता र परिवारसम्म पुगेर उनीहरूको धारणा बुझ्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो। ‘हामीले गुमाएको मत होइन, हामीले गुमाएको विश्वास हो। विश्वासलाई पुनःस्थापित गरेपछि मत विश्वासलाई पछ्याउँदै आउँछ,’ उहाँले भन्नुभयो, ‘जनताको विश्वास पुनःस्थापित गर्न सङ्गठनका प्रत्येक सदस्यको मेहनत र पार्टीप्रतिको जनधारणा सुधार दुवै आवश्यक छन्।’ सभापति थापाले कांग्रेसले आफ्नो छवि र जनतामा बनेको धारणाको गम्भीर समीक्षा गर्दै विश्वास गुम्नुका आन्तरिक तथा बाह्य कारण पहिचान गर्नुपर्ने बताउनुभयो। विगतका निर्वाचनमा पराजय भोग्नुपरे पनि कांग्रेसले लोकतान्त्रिक मूल्य–मान्यता, व्यक्तिगत स्वतन्त्रता र शान्ति प्रक्रियाको पक्षमा दृढतापूर्वक काम गरेको उहाँको भनाइ थियो। उहाँले पार्टीका संस्थापक नेताहरूले स्थापित गरेका मूल्य र मान्यतालाई आत्मसात् गर्दै वर्तमान समयका चुनौती र युवापुस्ताका प्रश्न सम्बोधन गर्न सक्ने कांग्रेस निर्माण गर्नुपर्ने बताउनुभयो। सभापति थापाले कांग्रेसबाट टाढिएका करिब १० लाख मानिससम्म पुग्ने लक्ष्यसहित पार्टीले अभियान सञ्चालन गर्नुपर्ने बताउनुभएको छ। आगामी मङ्सिर महिनाभित्रै पहिले कांग्रेसमा रहेका तर अहिले पार्टीबाट टाढिएका परिवार तथा मतदाताको घरदैलोमा पुग्न उहाँले नेता–कार्यकर्तालाई आग्रह गर्नुभयो। ‘पहिले कांग्रेसमा रहेका तर अहिले पार्टीमा नरहेका परिवारलाई भेट्नुपर्छ, चिन्नुपर्छ र उनीहरूको घरमा पुग्नुपर्छ,’ उहाँले भन्नुभयो। जनतासँगको सम्बन्ध विस्तार नगरी पार्टीको छवि सुधार गर्न नसकिने उल्लेख गर्दै उहाँले नयाँ समितिले नयाँ सोच र प्रतिबद्धतासहित जनतामाझ पुग्नुपर्ने बताउनुभयो। आगामी अधिवेशन र पार्टीको आन्तरिक संरचनाबारे अनावश्यक चिन्ता गर्नुभन्दा तत्काल जनताको विश्वास जित्ने काममा केन्द्रित हुनुपर्ने उहाँको भनाइ थियो। सभापति थापाले पार्टीभित्र आन्तरिक प्रतिस्पर्धाका कारण जिम्मेवारी प्राप्त गर्न नसकेका नेता तथा कार्यकर्तालाई पनि समेटेर कांग्रेसलाई नयाँ ढङ्गले सञ्चालन गरिने बताउनुभयाे । कांग्रेस चार पुस्ताको पार्टी भएको उल्लेख गर्दै उहाँले केन्द्रीय समितिमा प्रतिस्पर्धा गरेका तथा वडा, क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रका विभिन्न तहमा जिम्मेवारी प्राप्त गर्न नसकेका नेता–कार्यकर्तालाई अन्य भूमिकामार्फत सक्रिय बनाइने बताउनुभयो। ‘पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा एक जनाले जित्ने र अर्कोले हार्ने भन्ने हुँदैन। हामी सबै समान हैसियत राख्छौँ। मैले अहिले प्राप्त गरेको कुरा जिम्मेवारी मात्र हो, यो स्थायी पद होइन,’ उहाँले भन्नुभयो। काम गर्ने इच्छा, क्षमता र योग्यता भएका नेता–कार्यकर्तालाई विधानअनुसार जिम्मेवारी दिइने बताउँदै उहाँले लामो समयसम्म कसैलाई भूमिकाविहीन बनाएर राख्ने परिपाटी अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । पार्टीभित्र पदका आधारमा ठूलो–सानो ठान्ने तथा आसन ग्रहण र प्राथमिकताका विषयमा विभेद गर्ने परम्परासमेत परिवर्तन गर्नुपर्ने उहाँको भनाइ थियो। पार्टीलाई प्रभावकारी बनाउन सबैलाई जिम्मेवारी, अवसर र सम्मान प्रदान गर्दै अघि बढ्नुपर्ने उहाँले बताउनुभयो। सभापति थापाले जनतासँगको सम्बन्ध स्थापित गर्दै कांग्रेस स्थानीय तहको निर्वाचनमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ। निर्वाचनका बेला अन्तिम समयमा उम्मेदवार छनोट गर्ने पुरानो प्रवृत्तिको अन्त्य गर्दै विधानअनुसार समयमै उम्मेदवार छनोट प्रक्रिया अघि बढाइने उहाँले स्पष्ट पार्नुभयो। ‘पहिलाको जस्तो निर्वाचनको बेलामा दुई दिन, दुई घण्टा अगाडि टिकट लिने, खोस्ने कुनै कुरा हुँदैन। पार्टीको विधानमा व्यवस्था गरेका छौँ। हामीले सबैको सदस्यता अद्यावधिक गरिसकेका छौँ। बाँकीको पनि गर्छौँ,’ उहाँले भन्नुभयो। उम्मेदवार छनोटको प्रारम्भिक काम आगामी पुस–माघभित्रै सम्पन्न गरिने जानकारी दिँदै उहाँले तल्लो तहका नेता तथा कार्यकर्ताको सहभागितामा डिजिटल मतदानमार्फत उम्मेदवार छनोट गरिने बताउनुभयो। ‘साथीहरूले छान्नुहुन्छ, त्यही प्रारम्भिक सूचीबाट नै हामी उम्मेदवार बनाउँछौँ,’ उहाँले भन्नुभयो। उहाँले पार्टीको आगामी कार्ययोजना र सङ्गठन सञ्चालनका विषयमा शपथग्रहणपछि बस्ने केन्द्रीय समिति बैठकले आवश्यक निर्णय गर्ने जानकारीसमेत दिनुभयो। नयाँ सोच, स्पष्ट प्रतिबद्धता र जनतासँगको निकटताका आधारमा कांग्रेसलाई अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

एनपिएलको तेस्रो संस्करणलाई गगन थापाको शुभकामना : नेपाली क्रिकेटले अझ उचाइ हासिल गरोस्
नेपाली कांग्रेसका सभापति गगन थापाले आजदेखि सुरु हुँदै गरेको नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ (क्यान) र क्रिकेटप्रेमीहरूलाई शुभकामना व्यक्त गरेका छन् । सोमबारदेखि उद्घाटन हुन लागेको एनपिएलको सन्दर्भमा सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले नेपाली क्रिकेटले आगामी दिनमा अझ धेरै उचाइ हासिल गरोस् भन्ने कामना गरेका हुन् । उनले नेपाली क्रिकेट आजको अवस्थासम्म ...

लोहनी, थापा र पाण्डे पर्सादेखि झापासम्मको भ्रमणमा, राप्रपामा महाधिवेशनको तयारीमा जुटे
काठमाण्डु- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्षद्वय डा. प्रकाशचन्द्र लोहनी र कमल थापा तथा वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेसहितका नेताहरू जिल्ला भ्रमणमा जाने भएका छन्। आगामी मंसिरमा पार्टीको महाधिवेशन गर्ने तयारी भइरहेका बेला नेताहरू जिल्ला भ्रमणमा निस्कन लागेका हुन्। पार्टी नेताका अनुसार कात्तिक ११ गते पर्साको वीरगञ्जबाट सुरु हुने भ्रमण बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, […] ...
कानुन मन्त्री गौतम भन्छिन्- एनपिएल एकताको सुन्दर सङ्गम हो
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले नेपाल प्रिमियर लिग (एनपिएल)तेस्रो संस्करणसँगै नेपाली क्रिकेटको उत्साहले नयाँ उचाइ लिएको बताएकी छिन् । प्रतियोगिताअघि मन्त्री गौतमले नेपाली क्रिकेटको उत्साहले नयाँ उचाइ लिएको बताउँदै एनपिएल नेपाली प्रतिभा, निजी क्षेत्रको सामर्थ्य र राष्ट्रिय एकताको सुन्दर सङ्गम रहेको जिकिर गरिन् । “आजबाट सुरु हुने नेपाल प्रिमियर लिगको तेस्रो संस्करणसँगै नेपाली क्रिकेटको उत्साहले नयाँ उचाइ लिँदै छ ...
.jpg)
सभामुख अर्यालसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलको भेट
काठमाडौँ, कात्तिक ९ गते । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त राज्य अमेरिकाको तल्लो सदनको वेज एण्ड मिन्स कमिटीका सभापति जेसन स्मिथसहितको संसदीय प्रतिनिधिमण्डलले शिष्टाचार भेट... ...


