नासाका मंगल ग्रह अन्वेषण अभियानमा रहेका दुई अन्तरिक्ष यान प्राविधिक समस्याका कारण अहिले निष्क्रिय अवस्थामा छन्। नासाले केहि दिनअघि अर्थात्नो भेम्बर १९ मा सार्वजनिक गरेको जानकारीअनुसार पर्सिभरेन्स रोभर र मार्स ओडिसी अर्बिटरले प्राविधिक समस्या देखिएपछि वैज्ञानिक अनुसन्धानका काम रोकेका छन्। पर्सिभरेन्समा एन्टेनासम्बन्धी समस्या देखिएको छ भने लामो समयदेखि मंगल ग्रहको परिक्रमा गरिरहेको ओडिसीको एउटा रियाक्सन ह्विलमा समस्या आएको छ। नासाले नोभेम्बरको अन्त्यसम्म दुवैलाई पुनः काममा फर्काउने आशा गरेको छ। पर्सिभरेन्सको सञ्चार प्रणालीमा समस्या पर्सिभरेन्स रोभर सन् २०२१ को फेब्रुअरीमा मंगल ग्रहको जेजेरो क्रेटरमा अवतरण गरेको थियो। यसलाई उक्त क्षेत्रमा विगतमा जीवनलाई अनुकूल वातावरण थियो कि थिएन भन्ने अध्ययन गर्न र भविष्यमा पृथ्वीमा ल्याएर परीक्षण गर्न दर्जनौँ नमुना सङ्कलन गर्ने जिम्मेवारी दिइएको थियो। रोभरले यी कामसँगै अन्य महत्त्वपूर्ण उपलब्धि पनि हासिल गरेको छ। पर्सिभरेन्स टोलीले जेजेरो क्रेटरमा अर्बौँ वर्षअघि जीवनका लागि अनुकूल हुन सक्ने ताल रहेको निष्कर्ष निकालेको छ। कारको आकारको यस रोभरले मंगल ग्रहका चट्टानमा विभिन्न जटिल जैविक यौगिक पनि फेला पारेको छ। तीमध्ये केही विगतमा जीवन रहेको संकेत हुन सक्ने वैज्ञानिकहरूको भनाइ छ। यद्यपि यस सम्भावनाको पूर्ण परीक्षण गर्न पर्सिभरेन्सले सङ्कलन गरेका नमुना पृथ्वीमा ल्याएर विश्लेषण गर्नुपर्ने उनीहरूको जोड छ। यसैबीच, पर्सिभरेन्सले पृथ्वीबाहिर कुनै रोबोटले यात्रा गरेको सबैभन्दा लामो दूरीको नयाँ कीर्तिमान पनि बनाएको छ। यसले नासाकै सानो अपर्च्युनिटी रोभरले बनाएको २८.०६ माइल अर्थात् ४५.१६ किलोमिटरको कीर्तिमान तोडेको हो। पर्सिभरेन्सले अक्टोबर ११ मा उक्त कीर्तिमान बनाएको थियो। तर त्यसको १९ दिनपछि अभियान टोलीले समस्या देख्यो। रोभरको मुख्य यूएचएफ डाउनलिङ्क रेडियोले पृथ्वीमा सूचना पठाउन प्रयोग गर्ने नियमित ‘हार्टबिट’ सङ्केत मुख्य कम्प्युटरमा पठाउन छाडेको थियो। मंगल ग्रहको कक्षमा रहेका सञ्चार उपग्रहमार्फत यसले पृथ्वीमा सूचना पठाउने गर्छ। स्पर्स डटकमका अनुसार रोभरले आफैँ समस्या पहिचान गरेर पूर्वनिर्धारित प्रक्रियाअनुसार प्रतिक्रिया जनायो। छ पाङ्ग्रे रोबोटले आफ्नो वैकल्पिक यूएचएफ रेडियो प्रयोग गर्न थाल्यो र सुरक्षात्मक ‘सेफ मोड’ मा गयो। यस क्रममा आवश्यक नभएका सबै प्रणाली बन्द गरिए। रोभर टोलीले पर्सिभरेन्सलाई सेफ मोडबाट बाहिर ल्याए पनि अर्को समस्या देखियो। नासाका अधिकारीहरूले बिहीबार सार्वजनिक गरेको विवरणमा वैकल्पिक यूएचएफ रेडियोले अपेक्षा गरिएको क्षमताको करिब आधा मात्र प्रसारण शक्ति दिइरहेको उल्लेख छ। त्यसपछि रोभर सञ्चालन गर्ने टोलीले वैकल्पिक रेडियोको प्रयोग पनि रोकेको छ। अहिले पर्सिभरेन्सले मंगल ग्रहको कक्षमा रहेका सञ्चार उपग्रहको सहयोगबिना आफ्नै उच्च क्षमता भएको एन्टेनामार्फत सिधै पृथ्वीसँग सञ्चार गरिरहेको छ। यसले नासाको डीप स्पेस नेटवर्कका एन्टेनामा सङ्केत पठाइरहेको छ। यो सञ्चार विधिमा तथ्याङ्क पठाउने गति कम हुने भएकाले अभियान टोलीले प्राविधिक समस्या पहिचान गर्न आवश्यक सूचना पठाउन प्राथमिकता दिएको छ। त्यसैले रोभरका विभिन्न क्यामेराबाट हुने अवलोकनसहित वैज्ञानिक अनुसन्धानका काम रोकिएका छन्। यस समस्याले पर्सिभरेन्सका नियमित तस्बिर हेर्नेहरू निराश हुन सक्छन्। अभियानको वेबसाइटमा नोभेम्बर ७ यता कुनै नयाँ कच्चा तस्बिर सार्वजनिक भएको छैन। तर नासाले यसलाई लिएर चिन्ता गर्नुपर्ने अवस्था नरहेको जनाएको छ। नासाका अधिकारीहरूले बिहीबारको विवरणमा भनेका छन्, ‘रोभर स्थिर अवस्थामा छ र अभियान टोलीसँग सञ्चार गरिरहेको छ। टोलीले नोभेम्बरको अन्त्यसम्म रोभरलाई पुनः वैज्ञानिक काममा फर्काउन सकिने आशा गरेको छ। समस्या समाधानका लागि काम भइरहँदा नासाले थप जानकारी सार्वजनिक गर्नेछ।’ मार्स ओडिसीको अर्को रियाक्सन ह्विलमा समस्या मार्स ओडिसीको समस्या भने अझ गम्भीर हुन सक्ने देखिएको छ। सन् २००१ को अक्टोबरमा मंगल ग्रह पुगेको यो अर्बिटरले हालै आफ्नो एउटा रियाक्सन ह्विल प्रयोग गर्न नसक्ने भएको छ। अन्तरिक्षमा आफ्नो दिशा र अवस्था नियन्त्रणमा राख्न ओडिसीमा चारवटा रियाक्सन ह्विल छन्। यो काम गर्न तीमध्ये कम्तीमा तीनवटा सञ्चालनमा हुनुपर्छ। ओडिसीले यसअघि सन् २०१३ मा पनि एउटा रियाक्सन ह्विल गुमाएको थियो। पछिल्लो समस्या नोभेम्बर ४ मा देखिएको थियो। त्यसपछि ओडिसी सेफ मोडमा गएको थियो। अभियान टोलीका सदस्यहरूले समस्या पहिचान र समाधान गर्ने प्रयास गर्दा यो नोभेम्बर ६ सम्म त्यही अवस्थामा रह्यो। टोलीले केही प्रगति पनि गरेको छ। एक पटक आदेश दिँदा खराब भएको ह्विललाई घुमाउन सफल भएको थियो। नासाका अधिकारीहरूले बिहीबारको विवरणमा भनेका छन्, ‘उक्त ह्विल पुनः सञ्चालनमा ल्याउन सकिन्छ कि सकिँदैन भन्ने पुष्टि गर्न थप परीक्षण भइरहेको छ।’ सेफ मोडबाट बाहिर आएको दुई साता बितिसक्दा पनि ओडिसीले वैज्ञानिक अनुसन्धान र तथ्याङ्क सञ्चारको काम पुनः सुरु गरेको छैन। यो अर्बिटरले लामो समयदेखि मंगल ग्रहको सतहमा रहेका नासाका यानलाई पृथ्वीमा सूचना पठाउन सहयोग गर्दै आएको छ। नासाका अधिकारीहरूले भनेका छन्, ‘नोभेम्बरको अन्तिम सातामा परीक्षण र विश्लेषण पूरा भएपछि ओडिसीलाई वैज्ञानिक अनुसन्धान र सञ्चारसम्बन्धी काममा फर्काउने लक्ष्य छ। टोलीले थप जानकारी प्राप्त गर्दै जाँदा नासाले यसको अवस्था र समयतालिकाबारे जानकारी दिनेछ।’ यदि रियाक्सन ह्विल पुनः सञ्चालनमा ल्याउन नसकिए ओडिसीको अभियान अन्त्य हुने अवस्था आउन सक्छ। त्यसपछि टोलीले अर्बिटरको दिशा नियन्त्रण गर्न त्यसका थ्रस्टर मात्र प्रयोग गर्नुपर्ने हुन्छ। नासाका अनुसार ओडिसीमा बाँकी रहेको हाइड्राजिन इन्धनले यसरी बढीमा एक वा दुई महिना मात्र काम गर्न सक्छ। रियाक्सन ह्विलको समस्या जे भए पनि ओडिसीको अभियानलाई ठूलो सफलता मानिएको छ। यो मंगल ग्रहमा सबैभन्दा लामो समयदेखि सञ्चालनमा रहेको अन्तरिक्ष यान हो। यसले वैज्ञानिक अनुसन्धानमा धेरै महत्त्वपूर्ण योगदान दिएको छ। नासाका अधिकारीहरूले बिहीबारको विवरणमा भनेका छन्, ‘ओडिसीले पहिलो पटक मंगल ग्रहको सतहको संरचना देखाउने विश्वव्यापी नक्सा तयार गरेको थियो। ती नक्सा मंगल ग्रहको भूगर्भ अध्ययन गर्ने वैज्ञानिकहरूका लागि आधारभूत सामग्री बनेका छन्।’ अर्बिटरले तयार पारेका सतहका नक्साले अवतरण गर्ने स्थानमा हुन सक्ने जोखिम पहिचान गर्न, ल्यान्डर र रोभरले अध्ययन गर्न सक्ने वैज्ञानिक महत्त्वका क्षेत्र पत्ता लगाउन तथा सतहको माथिल्लो तीन फिट (एक मिटर) गहिराइसम्म पानीका अणुहरूको नक्साङ्कन गर्न पनि महत्त्वपूर्ण भूमिका खेलेका छन्। यसमा जमिनमुनि रहेको बरफ पनि समावेश छ, जुन मंगल ग्रहमा पुग्ने पहिलो अन्तरिक्षयात्रीका लागि उपयोगी हुन सक्छ। The post मंगल ग्रहमा नासाका दुई अभियानमा प्राविधिक समस्या, पर्सिभरेन्स र ओडिसीले वैज्ञानिक काम रोके appeared first on Technology Khabar.
मंगल ग्रहमा नासाका दुई अभियानमा प्राविधिक समस्या, पर्सिभरेन्स र ओडिसीले वैज्ञानिक काम रोके

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर






