काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भोटेकोसी बाढीबाट प्रभावितहरूलाई सुरक्षित स्थानमा पुनर्स्थापना गर्न जग्गा उपलब्ध गराउनुपर्ने बताएका छन्। आइतबार रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनपछि थापाले सार्वजनिक जग्गा नभए निजी जग्गा खरिद गरेर भए पनि पीडितलाई दिनुपर्नेमा जोड दिएका हुन्। थापाले बस्ती बसाल्नुअघि सडकको मार्ग तय गरिनुपर्ने बताए। उनले भने, ‘अब बन्ने सडक कहाँबाट कहाँसम्म बन्ने हो, पहिले त्यो टुंगो हुनुपर्ने देखिन्छ। बाटो बन्न समय लाग्ला, तर यहाँबाट बन्छ भन्ने टुंगो भइसकेपछि बस्ती कहाँ-कहाँ बस्ने भन्ने कुरा आउँछ।’ उनले सार्वजनिक जग्गाको तथ्यांक खोजी गर्न समय नलाग्ने उल्लेख गर्दै जग्गा व्यवस्थापनमा ढिलाइ गर्न नहुने बताए। बाढी प्रभावितको पुनर्स्थापनामा संघीय सरकार उदासीन देखिएको आरोप लगाउँदै थापाले आफू दोस्रो पटक प्रभावित क्षेत्रमा आएको स्पष्ट पारे। उनले भने, ‘म अहिले यहाँ आएको कारण खासगरी संघीय सरकारमा के धारणा रह्यो भने विपद्पछि जे गर्नुपर्ने हो, गरिसक्यौँ, तल कुनै पनि समस्या छैन र सामान्य हिसाबले भइहाल्छ भन्ने जसरी भान परेको हो वा भान पार्न खोजेको हो, थाहा छैन।’ विपद्का घटनामा सुरुमा चासो देखिए पनि पछि ओझेलमा पर्ने गरेको भन्दै उनले गुनासो गरे। गत भदौ १० गते भोटेकोसीमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएको थियो। थापाले प्रभावित क्षेत्रको अवलोकनपछि विस्तृत प्रतिवेदन तयार गरी सरकारलाई बुझाउने जानकारी दिएका छन्।
भोटेकोसी बाढीपीडितलाई जग्गा उपलब्ध गराउन थापाको माग

Read Complete Original Article
Published originally on नेपालन्युज



.jpeg)


