भारतीय विदेश सचिव विक्रम मिस्रीले भोटेकोशी बाढीबाट क्षतिग्रस्त नेपालको पूर्वाधार पुनर्निर्माण तथा पुनःस्थापनाका लागि सहयोग गर्न भारत तयार रहेको बताएका छन् । बुधबार नेपालको भ्रमणका क्रममा परराष्ट्र सचिव अमृतबहादुर राईसहितको नेपाली प्रतिनिधिमण्डलसँगको छलफलमा उनले बाढीबाट नेपालको पूर्वाधारमा ठूलो क्षति पुगेको उल्लेख गर्दै पुनर्निर्माणमा भारत सहयोग गर्न इच्छुक रहेको बताएका हुन् । यसअघि पनि यस विषयमा छलफल भएको स्मरण गराउँदै मिस्रीले नेपालले पुनर्निर्माण तथा पुनःस्थापनाको चरण अघि बढाउँदा आवश्यक सहयोग र परियोजनासम्बन्धी प्रस्तावबारे थप छलफल गर्न भारत तयार रहेको स्पष्ट पारे । नेपाल र भारतबीचको सम्बन्ध विशिष्ट रहेको उल्लेख गर्दै उनले दुवै देश सुख र दुःख दुवै परिस्थितिमा एकअर्काका साझेदार रहँदै आएको बताए । भोटेकोशी बाढीपछिको कठिन परिस्थितिमा भारतले सहयोग उपलब्ध गराएको पनि उनले स्मरण गरे । ‘भारत र नेपालबीच विभिन्न दृष्टिकोणबाट विशिष्ट सम्बन्ध रहेको छ । हामी सुख र दुःख दुवै परिस्थितिमा एकअर्काका साझेदार रहँदै आएका छौँ । विशेषगरी भोटेकोशीमा आएको बाढी र त्यसपछिको कठिन परिस्थितिमा यो सम्बन्धलाई व्यवहारमा देखाउने अवसर प्राप्त भयो । भारतले सहयोग उपलब्ध गराएको छ’, मिस्रीले भने । बाढीबाट नेपालको पूर्वाधारमा ठूलो क्षति र विनाश भएको उल्लेख गर्दै उनले पुनर्निर्माण तथा पुनःस्थापनाका लागि आवश्यक सहयोग र परियोजनासम्बन्धी प्रस्तावमा भारतले विचार गर्ने बताए । ‘यस विषयमा प्रारम्भिक छलफल भइसकेको छ । नेपालका नेतृत्वसँग यसबारे थप विवरणसहित छलफल गर्न हामी इच्छुक छौँ’, उनले भने । दुई देशबीचका विभिन्न महत्त्वपूर्ण पहल तथा सहकार्यलाई अघि बढाउन दुवै पक्षका अधिकारीले गरेको कामको प्रशंसा गर्दै मिस्रीले लामो समयदेखि बाँकी रहेका विषय समाधान गर्नुका साथै अघि बढाइएका पहलको कार्यान्वयनमा पनि प्रगति भएको बताए । ‘यसका लागि दुवै पक्षका सहकर्मीहरू प्रशंसा र बधाईका पात्र हुनुहुन्छ । यसै सन्दर्भमा हामीलाई निरन्तर सहयोग प्रदान गर्नुभएकोमा तपाईं र तपाईंको टोलीलाई पनि धन्यवाद दिन चाहन्छु’, उनले भने । भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका सन्दर्भमा अघि बढाउनुपर्ने विभिन्न महत्त्वपूर्ण पहल तथा एजेन्डाबारे छलफल केन्द्रित हुने पनि मिस्रीले बताए । त्यसका लागि विस्तृत कार्यसूची तयार गरिएको र नेपाली पक्षसँग छलफल गर्न आफू उत्सुक रहेको उनको भनाइ छ ।
भोटेकोशी बाढीबाट क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणमा सहयोग गर्न भारत तयार

Read Complete Original Article
Published originally on पर्दाफास






