भोटेकोशी बाढीपीडितले अझै किन पाएनन् घरभाडा सहायता ?

काठमाडौं । भोटेकोशी बाढीबाट घरबारविहीन भएका परिवारलाई अस्थायी आवासका लागि मासिक १५ हजार रुपैयाँ घरभाडा उपलब्ध गराउने सरकारको निर्णय कार्यान्वयनमा आउन सकेको छैन । मन्त्रिपरिषद्ले निर्णय गरेको दुई महिना बितिसक्दा पनि प्रभावित परिवारले सहायता नपाउनुको मुख्य कारण लाभग्राही पहिचान, विवरण प्रमाणीकरण र रकम माग गर्ने प्रशासनिक प्रक्रियामा भएको ढिलाइ देखिएको छ । गत भदौ २५ गते बसेको मन्त्रिपरिषद् बैठकले बाढीबाट घरमा क्षति पुगेका परिवारलाई अस्थायी आवासका लागि घरभाडा उपलब्ध गराउने निर्णय गरेको थियो । चार जनासम्मको परिवारलाई मासिक १५ हजार रुपैयाँ र चार जनाभन्दा बढी सदस्य भए प्रतिव्यक्ति थप दुई हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको थियो । तर निर्णय कार्यान्वयनका लागि आवश्यक प्रक्रिया पूरा नहुँदा सहायता वितरण रोकिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार स्थानीय तहले प्रभावित परिवारको विवरण पुनर्निर्माण व्यवस्थापन सूचना प्रणाली (आरएमआईएस)मा प्रविष्ट नगर्दा र औपचारिक रूपमा रकम माग नगर्दा केन्द्रबाट रकम निकासा हुन सकेको छैन । अर्थात्, सरकारले सहायता दिने निर्णय गरे पनि वास्तविक लाभग्राहीको विवरण प्रमाणीकरण भएर रकम माग गर्ने चरणसम्म पुग्न नसक्दा पीडितले सहायता पाउन नसकेका हुन् । लाभग्राही पहिचान र विवरण संकलनमा स्थानीय तहले विभिन्न समस्या झेलिरहेका छन । बाढीले वडा कार्यालयका भवन र कागजातमा क्षति पुर्याएको छ । प्रभावित परिवारमध्ये धेरै काठमाडौं, धादिङ र नुवाकोटका विभिन्न स्थानमा आफन्तको आश्रय लिएर बसेका छन् । उनीहरूलाई सम्पर्कमा ल्याएर आवश्यक कागजात संकलन तथा प्रमाणीकरण गर्न कठिनाइ भइरहेको स्थानीय तहको भनाइ छ । त्यस्तै, परिवारका सदस्य संख्या यकिन गर्न र भाडामा बस्ने तथा सुकुमवासी परिवारको विवरण संकलन गर्न कठिनाइ हुँदा वास्तविक पीडित पहिचानमा समस्या भएको छ । आरएमआईएसमा विवरण प्रविष्ट गर्ने क्रममा स्थानीय तहका कर्मचारीलाई प्राविधिक समस्या परेको हुनसक्ने भन्दै प्राधिकरणले सहजीकरणका लागि टोलीनै परिचालन गरेको छ । उक्त टोलीले रसुवा, नुवाकोट र धादिङका प्रभावित वडा तथा पालिकाका कर्मचारीलाई प्रणालीमा विवरण प्रविष्ट गर्ने विषयमा प्रशिक्षण दिइरहेको छ । सहायता वितरणमा ढिलाइ हुनुको अर्को कारण संघीय सरकारले आवश्यक फाराम तथा कार्यविधि ढिलो गरी पठाउनु पनि हो । विदुर नगरपालिकाका अनुसार राहत तथा आवास सहायताका लागि आवश्यक अनलाइन फाराम र कार्यविधि संघीय सरकारले हालै मात्र उपलब्ध गराएकाले काम अघि बढाउन समय लागेको हो । स्थानीय तहले प्रभावित परिवारको विवरण संकलन गरेपछि क्षतिको अवस्था पुष्टि गर्ने, लाभग्राहीको विवरण प्रमाणीकरण गर्ने र अनलाइन प्रणालीमा प्रविष्ट गर्नुपर्ने हुन्छ । त्यसपछि मात्रै केन्द्रमा रकम माग गर्न सकिन्छ । ठूलो संख्यामा प्रभावित परिवार रहेका कारण यो प्रक्रिया पूरा गर्न समय लागिरहेको पालिकाहरूको भनाइ छ । विदुर नगरपालिकामा मात्रै प्रारम्भिक तथ्यांकअनुसार एक हजार ७८६ घर पूर्ण रूपमा क्षति भएका छन् भने दुई हजार ६५७ कित्ता जग्गामा क्षति पुगेको छ । नगरले पहिलो चरणमा तीन करोड रुपैयाँ माग गर्ने निर्णय गरे पनि केन्द्रबाट रकम बैंक खातामा आइपुगेको छैन । नगरपालिकाका अनुसार कम प्रभावित वडामा विवरण संकलन छिटो हुन सक्ने भएपनि ४५० भन्दा बढी घर गुमाएका वडामा प्रभावित परिवारलाई कार्यालयमा बोलाएर कागजात रुजु गर्ने, औंठाछाप लिने र अनलाइनमा विवरण प्रविष्ट गर्ने काम जटिल छ । यसका लागि १५ देखि २० दिनभन्दा बढी समय लाग्न सक्ने अवस्था रहेको पालिकाको भनाइ छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष सञ्चालन समितिले गत भदौमै कोषमा रहेको रकममध्ये एक अर्ब रुपैयाँ विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उपलब्ध गराउने निर्णय गरेको थियो । हाल उक्त कोषमा १८ अर्ब २८ करोड रुपैयाँ मौज्दात रहेको जनाइएको छ । तर प्राधिकरणबाट थप रकम माग नभएकाले कोष सञ्चालन समितिले थप रकम विनियोजन नगरेको जनाएको छ । समितिका अनुसार रकम माग भएपछि आवश्यक निर्णय गरी उपलब्ध गराउने जिम्मेवारी समितिको हो भने जिल्ला तथा स्थानीय तहसँग समन्वय गरेर रकम खर्च गर्ने र राहत वितरणको प्रक्रिया अघि बढाउने जिम्मेवारी प्राधिकरणको हो । यसबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले असोज २८ गतेसम्म रसुवा, नुवाकोट र धादिङका चार हजार १०८ घरधुरीलाई प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद वितरण गरिएको जनाएको थियो । विश्व खाद्य कार्यक्रमले उपलब्ध गराएको रकमलाई एकद्वार प्रणालीमार्फत वितरण गरिएको सरकारको भनाइ थियो । रेडक्रस, प्लान इन्टरनेसनल र विश्व खाद्य कार्यक्रमले पनि विभिन्न प्रभावित वडाका परिवारलाई नगद तथा खाद्यान्न सहयोग उपलब्ध गराएका छन् । तर सरकारले वितरण गरेको ४५ हजार रुपैयाँ र घरभाडाबापत दिने भनिएको मासिक १५ हजार रुपैयाँ छुट्टाछुट्टै सहायता हुन । ४५ हजार रुपैयाँ पाएका सबै परिवारले घरभाडा सहायता पाइसकेका छैनन् । अस्थायी आवास निर्माण अनुदान मापदण्ड, २०८१ अनुसार प्रभावित परिवारले छ महिनाभित्र अस्थायी वा मध्यकालीन आवास निर्माण गरिसक्नुपर्ने व्यवस्था छ । सोही अवधिका लागि घरभाडा सहायता उपलब्ध गराउने सरकारको योजना हो । तर लाभग्राहीको सूची नै अन्तिम रूप नपाउँदा घरबार गुमाएका नागरिक भाडाको कोठा खोज्न, घरभाडा तिर्न र दैनिक गुजारा चलाउन संघर्ष गरिरहेका छन् ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

५ ओभरमा विराटनगरको विश्व कीर्तिमान
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको खेलमा विराटनगर किङ्सले पाँच ओभरको खेलमा सर्वाधिक रन बनाउने कीर्तिमान कायम गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सविरुद्ध... ...

सर्वोच्चका न्यायाधीश फुयालबारे रास्वपाले तय गरेका तीन विकल्प
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ‘न्यायालय क्षेत्रमा देखिएका विकृति र विवाद’ समाधानका लागि संसदबाटै आवश्यक प्रक्रिया अगाडि बढाउने निचोडमा पुगेको छ। सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोज शर्मा र न्यायाधीश हरिप्रसाद फुयाललगायत केही न्यायाधीशहरू बिचौलिया इनम सापकोटासँग सम्पर्कमा रहेको समाचार आएपछि सत्तारुढ रास्वपाले यसलाई ‘न्य... ...

विराटनगरद्वारा सुदूरपश्चिमलाई विशाल लक्ष्य
विराटनगरले वर्षाका कारण पाँच ओभरमा छोट्याइएको खेलमा दुई विकेट गुमाउँदै १०५ रन बनाएपछि सुदूरपश्चिमले १०६ रनको लक्ष्य पाएको छ। ...

एनपीएलमा विराटनगरले सुदूरपश्चिमलाई दियो पाँच ओभरमा १०६ रनको चुनौती
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको आठौँ खेलमा विराटनगर किंग्सले कीर्तिमानी रन खडा गरेको छ ...


