Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/भैरहवामा ३ अर्ब ८२ करोड लगानीमा क्यान्सर अस्पताल बन्दै, २८५ जनाले रोजगारी पाउने

भैरहवामा ३ अर्ब ८२ करोड लगानीमा क्यान्सर अस्पताल बन्दै, २८५ जनाले रोजगारी पाउने

Share:WhatsAppFacebookX (Twitter)Telegram
भैरहवामा ३ अर्ब ८२ करोड लगानीमा क्यान्सर अस्पताल बन्दै, २८५ जनाले रोजगारी पाउने

रुपन्देही । रुपन्देहीको भैरहवामा ३ अर्ब ८२ करोड रुपैयाँ लगानीमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल निर्माण हुने भएको छ। सिद्धार्थनगर नगरपालिका–८, अञ्चलपुरमा प्रस्तावित अस्पतालको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भएसँगै निर्माण प्रक्रिया अघि बढ्ने भएको हो। कृषि, वन तथा वातावरण मन्त्रालयको २०८३ असोज १२ गतेको मन्त्रीस्तरीय निर्णयबाट अस्पतालको ईआईए प्रतिवेदन स्वीकृत भएको हो। लुम्बिनी क्यान्सर हस्पिटल प्रालिमार्फत निर्माण गर्न लागिएको अस्पतालमा करिब ३ अर्ब ८२ करोड रुपैयाँ लगानी हुने अनुमान गरिएको छ। प्रारम्भिक विवरणमा भने आयोजनाको लागत साढे चार अर्ब रुपैयाँ हाराहारी हुने उल्लेख छ। अस्पतालका सञ्चालक तथा लगानीकर्ता कमल भण्डारीका अनुसार ईआईए स्वीकृत भएसँगै निर्माणका बाँकी प्रक्रिया पूरा गरेर आयोजना अघि बढाइनेछ। वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनअनुसार भौतिक संरचना निर्माण सम्पन्न गरी इजाजतपत्र प्राप्त गरेको तीन वर्षभित्र अस्पताल सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। आठ तलाको भवन, अत्याधुनिक उपचार सेवा प्रस्तावित अस्पताल करिब तीन बिघा क्षेत्रफलमा निर्माण हुनेछ। अस्पतालको कुल प्रस्तावित संरचना १९ हजार ६१६.०४ वर्गमिटर क्षेत्रफलमा फैलिनेछ। अस्पताल भवनको क्षेत्रफल एक हजार ४५८.८८ वर्गमिटर रहनेछ भने ९०० वर्गमिटर क्षेत्रफलको बंकर संरचनासमेत निर्माण गरिनेछ। करिब ३५ मिटर अग्लो भवनमा बेसमेन्ट र भुइँतलासहित आठ तलाको संरचना रहने प्रस्ताव गरिएको छ। अस्पतालमा प्रयोगशाला, रेडियोलोजी, अल्ट्रासाउन्ड, प्याथोलोजी, शल्यक्रिया, सघन उपचार कक्ष (आईसीयू), बहिरङ्ग सेवा (ओपीडी), २४ घण्टे आकस्मिक सेवा, किमोथेरापी र रेडियोथेरापीलगायत सेवा उपलब्ध गराउने योजना छ। त्यसैगरी, बोनम्यारो प्रत्यारोपण तथा क्यान्सरसम्बन्धी अन्य विशिष्टीकृत उपचार सेवा पनि सञ्चालन गर्ने प्रस्ताव गरिएको छ। भवनको बेसमेन्टमा पार्किङ, क्याफे तथा क्यान्टिन, भूमिगत पानी ट्याङ्की, जेनेरेटर कक्ष र वातानुकूलन प्रणाली रहनेछन्। भुइँतलामा आकस्मिक सेवा, रेडियोलोजी, फार्मेसी र २४ शय्याको व्यवस्था गरिनेछ। पहिलो तलामा प्रयोगशाला, रक्तसम्बन्धी सेवा, क्यान्सर उपचारको बहिरङ्ग सेवा र ३४ शय्या रहने प्रस्ताव छ। दोस्रो तलामा शल्यक्रिया कक्ष, शल्यक्रियापछिको उपचार कक्ष, केन्द्रीय उपकरण शुद्धीकरण सेवा र पेट स्क्यान मेसिन राखिनेछ। चौथो तलामा शल्यचिकित्सा वार्ड, आईसीयू, क्रिटिकल केयर र एचडीयूसहित ५० शय्या रहनेछन्। पाँचौँ तलामा प्रशामक उपचार तथा बाल क्यान्सर उपचार सेवासहित २५ शय्या प्रस्ताव गरिएको छ। अन्य तलामा ज्येष्ठ नागरिकका लागि डे केयर सेवा, प्रशासनिक कक्ष, बैठक तथा सम्मेलन कक्ष, योग तथा ध्यान, उपचार र पुनःस्थापना सेवा तथा खुला छतको व्यवस्था गरिनेछ। अस्पताललाई अपाङ्गतामैत्री तथा बिरामीमैत्री बनाउने योजना पनि छ। त्यसका लागि सातवटा लिफ्ट, ह्वीलचेयरमैत्री संरचना, अपाङ्गतामैत्री शौचालय र एम्बुलेन्स सेवाको व्यवस्था प्रस्ताव गरिएको छ। २८५ जनाले रोजगारी पाउने अनुमान अस्पताल सञ्चालनमा आएपछि २८५ जनाले प्रत्यक्ष रोजगारी पाउने अनुमान गरिएको छ। तीमध्ये २२० जना प्राविधिक तथा ६५ जना प्रशासनिक र अन्य अप्राविधिक कर्मचारी रहनेछन्। लगानीकर्ता भण्डारीका अनुसार लुम्बिनी र गण्डकी प्रदेशका नागरिकलाई गुणस्तरीय क्यान्सर उपचार सेवा उपलब्ध गराउने उद्देश्यले भैरहवामा अस्पताल निर्माण गर्न लागिएको हो। अस्पताल सञ्चालनमा आएपछि क्यान्सर उपचारका लागि काठमाडौं, चितवन तथा भारतका विभिन्न सहर जानुपर्ने बिरामीको बाध्यता कम हुने अपेक्षा गरिएको छ। विशेषगरी नियमित किमोथेरापी, रेडियोथेरापी तथा अन्य उपचारका लागि टाढा जानुपर्ने बिरामी र उनीहरूका परिवारलाई यातायात, बसोबास तथा खानपानमा लाग्ने खर्च घटाउन सहयोग पुग्ने विश्वास गरिएको छ। रुपन्देहीसहित कपिलवस्तु, नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा र दाङका बिरामीले समेत अस्पतालबाट सेवा लिन सक्ने अपेक्षा गरिएको छ। क्यान्सर अस्पतालनजिकै एडभान्स अस्पताल पनि बन्दै भण्डारीकै लगानी समूहले भैरहवामा १५० शय्याको एडभान्स अस्पताल निर्माण गरी सञ्चालनको तयारीसमेत गरिरहेको छ। प्रस्तावित एडभान्स अस्पताल र लुम्बिनी क्यान्सर अस्पतालबीचको दूरी करिब ५०० मिटर रहने जनाइएको छ। एडभान्स अस्पतालमा क्यान्सर उपचारबाहेक अन्य रोगको उपचार सेवा उपलब्ध गराउने योजना छ। यी दुई अस्पताल सञ्चालनमा आएपछि यस क्षेत्रको विशिष्टीकृत स्वास्थ्य सेवा विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। ईआईए प्रतिवेदन स्वीकृत भएसँगै लुम्बिनी क्यान्सर अस्पताल निर्माणको प्रक्रिया अघि बढ्ने भए पनि निर्माण सुरु हुने निश्चित मिति र सेवा सञ्चालनको विस्तृत समयतालिका भने सार्वजनिक गरिएको छैन। लगानीकर्ता भण्डारीले अब आवश्यक प्रक्रिया मिलाएर निर्माण कार्य सुरु गरिने बताउनुभएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

अब हातमा ‘एक्स्ट्रिम’ को क्यान, साथमा मनपर्ने टिमको लोगो
ताजा खबरJust now

अब हातमा ‘एक्स्ट्रिम’ को क्यान, साथमा मनपर्ने टिमको लोगो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्स्ट्रिम इनर्जी ड्रिङ्कले सात टोलीको लोगो अंकित विशेष क्यान बजारमा ल्याएको छ । क्रिकेट समर्थकले आफ्नो मनपर्ने टोलीप्रतिको माया र समर्थन देखाउन सकून् भन्ने उद्देश्यले कम्पनीले विशेष क्यान सार्वजनिक गरेको हो । अब समर्थकले आफूले मन पराउने टोलीको लोगो भएको क्यानमार्फत पनि आफ्नो समर्थन […] ...

लोकपथ
तेक्वान्दोमा वैभवीले जितिन् दुई रजत पदक
ताजा खबरJust now

तेक्वान्दोमा वैभवीले जितिन् दुई रजत पदक

काठमाडौं।तेक्वान्दो खेलाडी वैभवी सापकोटाले थाइल्यान्डमा भएको १४औं रोयल प्रिन्सेस कप अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै दुई रजत पदक जितेकी छिन्। बैङ्ककस्थित माहिडोल विश्वविद्यालयको हातामा रहेको स्पोट्रस हलमा भएको उक्त प्रतियोगितामा वैभवीले पुम्से विधा र क्योरुगी विधा दुवैमा दोस्रो हुँदै रजत पदक जितेकी हुन्। उक्त प्रतियोगितामा थाइल्यान्ड, फिलिपिन्स, म्यान्मा, भियतनाम, चीन, भारत, हङकङ, लाओस, कम्बोडिया, टर्की, ब्राजिल, अमेरिका, रसिया, इन्डोनेसिया, सिङ्गापुर, काजकिस्तानलगायत ...

नेपालन्युज
राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना
ताजा खबरJust now

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

भक्तपुर, कात्तिक ८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा आइतबार भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगेर... ...

गोरखापत्र
पूरा भयो एनपीएलको तयारी : विजेतालाई डेढ करोड, ७० करोडको कारोबार हुने
ताजा खबरJust now

पूरा भयो एनपीएलको तयारी : विजेतालाई डेढ करोड, ७० करोडको कारोबार हुने

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को तयारी पूरा भएको छ।  भोलिदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने एनपीएलको सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट संघ (क्यान)ले जानकारी दिएको हो।  तेस्रो संस्करणमा क्यानले ७० करोडको कारोबार हुने आशा राखेको छ। यस संस्करणमा २० करोड आम्दानी हुने अनुमान क्यानको छ।  ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play