भूमिहीनको समस्या समाधान र सहकारीपीडितको रकम फिर्ता गर्ने काम तीव्र बनाउँछौँ : मन्त्री रावल

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले दशैँ–तिहारपछि भूमिहीन नागरिकको समस्या समाधान र सहकारीपीडित बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रियालाई तीव्रता दिने बताएकी छन् । सोमबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री रावलले भूमिहीन नागरिक र सहकारीपीडितका समस्या सरकारको प्राथमिकतामा रहेको बताएकी हुन् । दुवै क्षेत्रका समस्या समाधानका लागि आवश्यक कानुनी तथा नीतिगत जटिलता हटाउँदै काम अघि बढाइएको उनले जानकारी दिइन् । मन्त्री रावलका अनुसार सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया सुरु भइसकेको छ । लामो समयदेखि बचत फिर्ता नपाएर पीडामा रहेका नागरिकको रकम जतिसक्दो छिटो फिर्ता गर्नुपर्ने उनको भनाइ छ । ‘सहकारीमा बचत डुबेका बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया सुरु भइसकेको छ । सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारीको बचत फिर्ता गर्ने काम अघि बढिरहेको छ । तर यसलाई अझ तीव्रता दिनुपर्ने आवश्यकता छ,’ उनले भनिन् । भूमिहीन नागरिकको समस्या समाधानमा बाधक बनेका कानुनी जटिलता अध्यादेशमार्फत हटाइएको उल्लेख गर्दै मन्त्री रावलले अब समस्या समाधानको कामलाई तीव्र गतिमा अघि बढाइने बताइन् । यसअघि कानुनी व्यवस्थाका कारण भूमिहीन नागरिकलाई उनीहरू बसोबास गरिरहेको स्थानमै व्यवस्थापन गर्न कठिनाइ हुँदै आएको उनको भनाइ छ । भूमिहीन नागरिकमा आफूहरू बसिरहेको स्थानबाट हटाइने वा डोजर चलाइने हो कि भन्ने त्रास रहेको उल्लेख गर्दै उनले सरकारले गरिरहेका काम र आगामी योजनाबारे उनीहरूलाई स्पष्ट जानकारी गराउन आवश्यक रहेको बताइन् । ‘अहिले आफूहरू बसिरहेको ठाउँबाट उठाइदिने हो कि, डोजर लगाइदिने हो कि भन्ने त्रास भूमिहीन नागरिकमा देखिएको छ । यस्तो त्रासपूर्ण वातावरण अन्त्य गर्न पनि हामी उनीहरूलाई सरकारले के काम गरिरहेको छ र उनीहरूको हकमा के–कस्ता काम अघि बढेका छन् भन्ने स्पष्ट पार्न चाहन्छौँ,’ उनले भनिन् । मन्त्री रावलले दशैँ–तिहारपछि भूमिहीनको समस्या समाधान गर्ने कामलाई अझ आक्रामक रूपमा अघि बढाइने बताइन् । यो काम चितवनमा मात्र सीमित नरहने र देशभर तीव्रताका साथ अघि बढाइने उनको भनाइ छ । ‘अब दशैँ–तिहारपछि भूमिहीन नागरिकका समस्या समाधान गर्ने कामलाई अझ आक्रामक रूपमा अघि बढाएको देख्नुहुनेछ । यो काम चितवनमा मात्र सीमित रहने छैन, देशैभरि तीव्रताका साथ अघि बढाइनेछ,’ उनले भनिन् । सरकार समस्या समाधानको सुरुवाती चरण पार गरेर कामलाई तीव्रता दिने दोस्रो चरणमा प्रवेश गरेको उल्लेख गर्दै उनले आगामी दिनमा थप कानुनी तथा नीतिगत समस्या देखिए तिनलाई पनि सुधार गर्दै जाने बताइन् । सहकारीसम्बन्धी समस्यामा पनि सरकारले काम गरिरहेको र यसअघि जारी गरिएको अध्यादेशमार्फत केही कानुनी अस्पष्टता हटाउने प्रयास गरिएको उनले जानकारी दिइन् । सहकारीका विषयमा कसले के गर्ने भन्ने स्पष्टता आवश्यक रहेकाले त्यसलाई सम्बोधन गर्दै अघि बढिएको उनको भनाइ छ । मन्त्री रावलले सरकार जनताका समस्या सुन्न र समाधानका लागि पहल गर्न जनताकै बीचमा पुग्नुपर्ने मान्यताअनुसार आफू चितवन आएको बताइन् । भ्रमणका क्रममा भूमिसम्बन्धी समस्या भोगिरहेका नागरिक र सहकारीपीडित बचतकर्तासँग भेटेर उनीहरूका गुनासा, सुझाव तथा समस्या समाधानको अवस्थाबारे जानकारी लिने उनको उद्देश्य रहेको छ । मन्त्री रावलले चितवनमा भूमिहीन नागरिक तथा सहकारीपीडित बचतकर्तासँग छलफलसमेत गरेकी छन् ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

दशैंमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते
दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार देशभर भएको सवारी दुर्घटनामा १२४ जनाको मृत्यु भएको छ भने दुई हजार ९८८ जना घाइते भएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले गत असोज २५ देखि कात्तिक ८ गतेसम्म भएका एक हजार ३३९ सवारी दुर्घटनामा ८३ पुरुष, ३९ महिला, ...

नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक नोभेम्बर वा डिसेम्बरमा नेपालमा गर्न प्रस्ताव
९ कात्तिक, काठमाडौं । नेपाल सरकारले नेपाल र मलेसियाबीच श्रमिक छनोट तथा भर्ना प्रक्रियामा देखिएका समस्या समाधानका लागि संयुक्त कार्यदल (ज्वाइन्ट वर्किङ ग्रुप–जेडब्लूजी) को बैठक नेपालमा आयोजना गर्न प्रस्ताव गरेको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत मलेसियाली पक्षलाई पत्राचार गर्दै आगामी नोभेम्बर १८–१९ वा डिसेम्बर २–३ मा काठमाडौंमा बैठक आयोजना गर्ने प्रस्ताव… ...

साइबर सुरक्षा जोखिम बढेपछि राष्ट्र बैंकका तीन प्रणालीको गुनासो सुनुवाइ इमेलबाट मात्रै
नेपाल राष्ट्र बैंकले साइबर सुरक्षा जोखिम बढेको जनाउँदै आफ्ना विभिन्न विद्युतीय प्रणालीसँग सम्बन्धित गुनासो तत्कालका लागि इमेलमार्फत मात्र संकलन गर्ने व्यवस्था गरेको छ। राष्ट्र बैंकको बालुवाटारस्थित कार्यालयले जारी गरेको जरुरी सूचनाअनुसार विश्वभर फैलिएको पीएचपीसँग सम्बन्धित साइबर सुरक्षा जोखिमका कारण बैंकबाट उपलब्ध हुँदै आएका गुनासो सुनुवाइ पोर्टल, एनसीटीएस तथा एलसी र एफएक्सओएल प्रणालीसँग सम्बन्धित गुनासो व्यवस्थापनमा वैकल्पिक व्यवस्था गरिएको हो। बैंकले अर्को प्रणाली ...

सिद्धबाबा नजिकै बसको ठक्करले स्कुटरमा सवार महिलाको मृत्यु
मृत्यु हुनेमा गुल्मीको धुर्कोट गाउँपालिका ४ जैसीथोक निवासी ३७ वर्षीया माया कुवँर रहेको प्रहरीले जनाएको छ । ...


