काठमाडौं । काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस मकवानपुरको भीमफेदीमा दुर्घटना हुँदा १० जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा अन्य यात्रु पनि परेको आशंकामा खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। नेपाल प्रहरीका अनुसार बिहीबार बिहान करिब पौने ६ बजे काठमाडौं–कुलेखानी–भीमफेदी सडकखण्डअन्तर्गत भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढी नजिक माइक्रोबस दुर्घटनामा परेको हो। माइक्रोबस सडकबाट करिब ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ। घटनास्थलमा रहेका नेपाल प्रहरीका सई दीपेन्द्र ढकालका अनुसार दुर्घटनामा १० जना गम्भीर घाइते भएका छन्। अन्य यात्रुको खोजी भइरहेको छ। ‘दुर्घटनामा परेर गम्भीर घाइते भएका १० जना हुनुहुन्छ। अरूको खोजी गर्दैछौं। भीरमा भएकोले खोजीमा पनि समस्या भएको छ,’ उनले भने। घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको टोली परिचालन गरी घाइतेको उद्धार तथा बेपत्ता यात्रुको खोजी भइरहेको छ। दुर्घटनामा परेको माइक्रोबसको नम्बर खुल्न सकेको छैन। उक्त माइक्रोबसमा करिब १३ देखि १४ जना यात्रु सवार रहेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। उद्धार कार्य जारी रहेकाले दुर्घटनामा परेका यात्रुको यकिन विवरण आउन बाँकी छ।
भीमफेदीमा माइक्रो बस दुर्घटना, १० जना गम्भीर घाइते

Read Complete Original Article
Published originally on नेपालन्युज






