लण्डन । अन्तर्राष्ट्रिय फुटबलमा अप्रत्याशित नतिजाहरू आएका छन् । भिनिसियस जुनियरले दुई शानदार गोल गरे पनि ब्राजिल जापानसँग ३-२ गोलले पराजित भयो । यस्तै, क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएपछिको पहिलो खेल खेलेको पोर्चुगल डेनमार्कसँग ४-१ गोलको फराकिलो अन्तरले स्तब्ध बन्यो । सिंगापुरमा शनिबार राति भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जापानले इन्जुरी समयको पहिलो मिनेटमा निर्णायक गोल गर्दै ब्राजिलमाथि ऐतिहासिक जित निकालेको हो । जापानले १३ महिनाभित्र दोस्रो पटक ब्राजिललाई पराजित गरेको छ । विदेशी भूमिमा ब्राजिलविरुद्ध जापानको यो पहिलो जित हो । खेलमा जापानले सुरुआतमै दुई गोलको अग्रता बनाएको थियो । ताकेफुसा कुबोले १५औँ मिनेटमा गोल गर्दै जापानलाई अघि बढाउनुभएको थियो । त्यसको चार मिनेटपछि केइटो नाकामुराले अग्रता दोब्बर बनाउनुभयो । दुई गोलले पछि परेको ब्राजिललाई रियल म्याड्रिडका स्टार भिनिसियसले खेलको ३०औँ मिनेटमा गोल गर्दै खेलमा फर्काउने प्रयास गर्नुभयो । खेल सकिन १५ मिनेट बाँकी रहँदा भिनिसियसले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिललाई २-२ को बराबरीमा पुर्याउनुभयो । तर, जापानले अन्तिम समयसम्म दबाब कायम राख्यो । इन्जुरी समयको पहिलो मिनेटमा टाट्सुहिरो साकामोटोले गोल गर्दै जापानलाई ३-२ को जित दिलाउनुभयो । निर्णायक गोल हुनु अघिको घटनालाई लिएर ब्राजिलले फाउल भएको भन्दै विरोध गरेको थियो । विवादका क्रममा ब्राजिलका प्रशिक्षक कार्लो एन्सेलोटी र बार्सिलोनाका राफिन्हाले रातो कार्ड पाउनुभयो । यता, युइएफए नेसन्स लिगअन्तर्गत भएको खेलमा पोर्चुगल डेनमार्कसँग ४-१ ले पराजित भयो । रोनाल्डोबिनाको पहिलो खेलमै पोर्चुगलले घरेलु मैदानमा अप्रत्याशित हार बेहोरेको हो । डेनमार्कको जितमा रासमुस होइलुन्डले दुई तथा पिएर एमिल होइबर्ग र जोआखिम एण्डरसनले समान एक गोल गर्नुभयो । पोर्चुगलका बर्नार्डो सिल्भाले इन्जुरी समयमा एक गोल फर्काउनुभयो । डेनमार्कका होइबर्गले ४३औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाउनुभएको थियो । दोस्रो हाफ सुरु भएको चार मिनेटमै होइलुण्डले गोल थप्नुभयो । उहाँले ६०औँ मिनेटअघि नै व्यक्तिगत दोस्रो गोल गरेपछि डेनमार्क बलियो अवस्थामा पुगेको थियो । ७५औँ मिनेटमा एण्डरसनले हेडरमार्फत गोल गर्दै अग्रता ४-० बनाउनुभयो । सिल्भाले इन्जुरी समयको तेस्रो मिनेटमा गोल गर्दै हारको अन्तर घटाए पनि पोर्चुगल खेलमा फर्कन सकेन । यसैबीच, नेसन्स लिगका अन्य खेलमा नर्वे, स्विडेन र अस्ट्रियाले पनि जित निकाले। नर्वेले वेल्सलाई ३-१ गोलले पराजित गर्दा एर्लिङ हालाण्डले अन्तिम समयमा पेनाल्टीमार्फत गोल गर्नुभएको थियो । नर्वेका एन्टोनियो नुसा र आन्द्रेयास शेल्डेरुपले पनि गोल गरे। वेल्सका डेभिड ब्रुक्सले एक गोल फर्काउनुभयो । स्विडेनले बोस्निया एण्ड हर्जगोभिनालाई ३-२ ले हरायो । स्विडेनका भिक्टर ग्योकेरेसले दुई तथा डानियल स्वेन्सनले एक गोल गर्नुभयो । बोस्नियाका आर्मिन गिगोभिच र सेड कोलासिनाचले गोल गर्नुभएको थियो । अस्ट्रियाले सासा कालाजिचको निर्णायक गोलमा आयरल्यान्डलाई १-० ले पराजित गर्दै लिग बीबाट लिग ए मा बढुवा पक्का गर्यो । अन्य खेलमा हंगेरीले जर्जियालाई २-०, नर्दन आयरल्याण्डले युक्रेनलाई १-० र रोमानियाले पोल्याण्डलाई २-१ गोलले हराए । कोसोभो र इजरायलले भने गोलरहित बराबरी खेले । एजेन्सी
भिनिसियसको दुई गोल खेर, रोनाल्डोबिनाको पोर्चुगल पराजित

Read Complete Original Article
Published originally on हिमालय टाइम्स





