काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई पर्यटन, हवाई सम्पर्क र जनस्तरको आदानप्रदानमार्फत थप सुदृढ बनाउनुपर्ने बताएका छन्। नेपाल पर्यटन बोर्ड र नयाँदिल्लीस्थित नेपाली राजदूतावासले बुधबार साँझ भारतको नयाँदिल्लीमा संयुक्त रूपमा आयोजना गरेको ‘नेपाल कलिङ’ गन्तव्य प्रवर्द्धन कार्यक्रममा मन्त्री पौडेलले नेपाल–भारत पर्यटन साझेदारीलाई नयाँ उचाइमा पुर्याउन पर्यटन क्षेत्र प्रभावकारी माध्यम बन्न सक्ने बताए। उनले नेपाल र भारतबीचको सम्बन्ध कूटनीतिमा मात्र सीमित नभई साझा संस्कृति, सभ्यता, आस्था र जनस्तरको आत्मीयतासँग जोडिएको उल्लेख गरे। पर्यटनले दुई देशका नागरिकबीचको सम्पर्क र आर्थिक अवसर विस्तार गर्न सक्ने भन्दै उनले भारतीय पर्यटकलाई नेपाल भ्रमणमा आउन आग्रह गरे। नेपालका धार्मिक तथा आध्यात्मिक गन्तव्य, प्राकृतिक सम्पदा, साहसिक पर्यटन, सांस्कृतिक विविधता तथा स्वास्थ्य र आरोग्य पर्यटन भारतीय पर्यटकका लागि विशेष आकर्षण बन्न सक्ने मन्त्री पौडेलको भनाइ थियो। उनले पर्यटन प्रवर्द्धनसँगै हवाई तथा स्थलमार्गको सम्पर्क विस्तार, सहज आवागमन र निजी क्षेत्रबीच सहकार्य बढाउनुपर्नेमा जोड दिए। कार्यक्रमका क्रममा मन्त्री पौडेलले भारतका केन्द्रीय नागरिक उड्डयनमन्त्री राममोहन नायडु किन्जारापुसँग शिष्टाचार भेटवार्तासमेत गरे। भेटमा नेपाल–भारत हवाई उड्डयन क्षेत्रको विकास, द्विपक्षीय सहकार्य विस्तार र दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ। कार्यक्रममा भारतका पर्यटन तथा संस्कृतिमन्त्री गजेन्द्र सिंह शेखावतले नेपाल र भारतबीचको पर्यटन सम्बन्ध तथा साझा सांस्कृतिक सम्पदाको महत्त्वबारे चर्चा गरे। उत्तराखण्डका पर्यटनमन्त्री सतपाल महाराजले पनि नेपाल र उत्तराखण्डबीच पर्यटन सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे। भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरसहित भुटान, पोल्यान्ड र भियतनामका कूटनीतिक नियोगका प्रतिनिधिले पनि ‘नेपाल कलिङ’ अभियानप्रति समर्थन जनाएका थिए। कार्यक्रममा भारतीय टुर अपरेटर सङ्घ (आईएटीओ), नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) लगायत दुवै देशका पर्यटन क्षेत्रका प्रतिनिधिको सहभागिता थियो। उनीहरूको सहभागिताले निजी क्षेत्रबीच सहकार्य र नयाँ पर्यटन अवसर विस्तार गर्ने सम्भावनालाई बल पुर्याएको आयोजकले जनाएको छ।
भारतीय पर्यटकलाई नेपाल घुम्न आउन मन्त्री पौडेलको आग्रह

Read Complete Original Article
Published originally on नेपालन्युज






