Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

भारतले हवाई रुट दिन सहमति जनाएपछि गौतमबुद्ध विमानस्थल सञ्चालनको बाटो खुल्दै

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारतले हवाई रुट दिन सहमति जनाएपछि गौतमबुद्ध विमानस्थल सञ्चालनको बाटो खुल्दै
Photo / Coverage: हिमालय टाइम्स

रुपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने वर्षौंदेखिको प्रतीक्षामा सकारात्मक संकेत देखिएको छ । भारतले भैरहवाका लागि हवाई प्रवेशमार्ग उपलब्ध गराउन सहमति जनाएसँगै क्षेत्रीय पर्यटन, व्यापार र अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारको सम्भावना बढेको छ । नेपालले एक दशकभन्दा लामो समयदेखि उठाउँदै आएको हवाई रुटसम्बन्धी माग प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा सम्बोधन भएको हो । नेपाल र भारतबीच भएको सहमतिअनुसार हाल एकतर्फी रूपमा सञ्चालन हुँदै आएको बी–३४५ काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाइने भएको छ । यसले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि देखिएको प्रमुख अवरोधमध्ये एक हटाउने अपेक्षा गरिएको छ । प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भएको द्विपक्षीय छलफलपछि जारी संयुक्त वक्तव्यमा हवाई रुटलाई दुईतर्फी बनाउने सहमति उल्लेख गरिएको छ । यससम्बन्धी प्राविधिक पक्ष, सञ्चालनको मोडालिटी तथा नागरिक उड्डयन क्षेत्रका अन्य प्रस्ताव टुंग्याउन दुवै देशका अधिकारीबीच थप छलफल हुने जनाइएको छ । यसअघि पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक हवाई प्रवेशमार्गको विषय पटक–पटक उठ्दै आएको थियो । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएर सञ्चालनमा आए पनि सहज हवाई रुटको अभाव, प्राविधिक जटिलता, एयरलाइन्सको व्यावसायिक आकर्षण र नियमित अन्तर्राष्ट्रिय उडान कायम गर्न नसक्दा विमानस्थलले अपेक्षित गति लिन सकेको थिएन । भारतसँग हवाई रुटमा सहमति जुटेसँगै अब गौतमबुद्ध विमानस्थलको सञ्चालनले नयाँ गति लिने अपेक्षा गरिएको छ । सांसद अग्रवालको ‘गुड न्यूज’ अब कार्यान्वयनतर्फ हवाई रुटसम्बन्धी सहमति जुट्नुअघि नै रुपन्देही क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा सदस्य पूनमकुमारी अग्रवालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबारे छिट्टै सकारात्मक खबर आउने संकेत गर्नुभएको थियो । भैरहवामा चेम्बर अफ कमर्स रुपन्देहीले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै अग्रवालले विमानस्थलको नियमित सञ्चालन र अन्तर्राष्ट्रिय हवाई रुटको समस्या समाधानका विषयमा चाँडै ‘गुड न्यूज’ आउने बताउनुभएको थियो । उहाँले प्रधानमन्त्रीको भारत भ्रमणलाई यस विषयमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्ने अवसरका रूपमा लिनुभएको थियो । ‘हामी एकदमै छिट्टै गुड न्यूज पाउनेवाला छौँ । त्यसका लागि सम्माननीय प्रधानमन्त्रीज्यूको भारत भ्रमणको प्रतीक्षा गर्नुपर्नेछ,’ उहाँले कार्यक्रममा भन्नुभएको थियो । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा हवाई रुटसम्बन्धी सहमति जुटेसँगै अग्रवालले व्यक्त गर्नुभएको अपेक्षा सकारात्मक परिणामतर्फ अघि बढेको देखिएको छ । विमानस्थल सञ्चालनका लागि संसद्मा पाँच पटकसम्म आवाज उठाइसकेको बताउँदै आउनुभएकी उहाँले गौतमबुद्ध विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्नु आफ्नो प्रमुख प्राथमिकता रहेको स्पष्ट पार्नुभएको थियो । उहाँका अनुसार विमानस्थल सञ्चालनको विषय भौतिक पूर्वाधार निर्माणमा मात्रै सीमित छैन । हवाई रुट, प्राविधिक सहजता, अन्तर्राष्ट्रिय एयरलाइन्सको आकर्षण, निजी क्षेत्रको सहभागिता र व्यावसायिक सञ्चालनको वातावरण पनि उत्तिकै महत्त्वपूर्ण छन् । उडान भए, तर नियमितता कायम हुन सकेन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको चार वर्ष बितिसकेको छ । यस अवधिमा फ्लाई दुबई, थाई एयर र जजिरा एयरजस्ता अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले भैरहवाबाट उडान सञ्चालन गरे पनि ती उडान दीर्घकालीन रूपमा नियमित हुन सकेनन् । विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुँदै नहुने अवस्था नभए पनि निरन्तरता कायम गर्न नसक्नु मुख्य चुनौतीका रूपमा रहँदै आएको छ । यात्रुको उपलब्धता, एयरलाइन्सको व्यावसायिक सम्भावना, हवाई रुटको सहजता तथा प्राविधिक र सञ्चालन खर्चलगायतका पक्षले उडान नियमिततामा प्रभाव पारेका छन् । सांसद अग्रवालले पनि विमानस्थलको समस्या निर्माण वा पूर्वाधारसँग मात्रै सम्बन्धित नभई अन्तर्राष्ट्रिय हवाई रुट र एयरलाइन्सलाई आवश्यक व्यावसायिक वातावरणसँग जोडिएको बताउनुभएको थियो । अब भारतसँग हवाई रुटका विषयमा सहमति जुटेपछि विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न एयरलाइन्सका लागि थप सहज वातावरण बन्न सक्ने अपेक्षा गरिएको छ । एक दशकदेखिको प्रयासमा ब्रेक थ्रु नेपालले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालन गर्न भारतसँग थप हवाई प्रवेशमार्गको माग गर्दै आएको थियो । सीमित प्रवेशमार्गका कारण अन्तर्राष्ट्रिय उडान सञ्चालनमा कठिनाइ हुँदै आएको नेपालको भनाइ थियो । भारतको हवाई क्षेत्र प्रयोग गरेर नेपालका क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलसम्म सहज प्रवेश पाउने व्यवस्था भएमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई उडान योजना बनाउन, समय र दूरी व्यवस्थापन गर्न तथा व्यावसायिक सम्भावना मूल्यांकन गर्न सहज हुने अपेक्षा गरिएको छ । यसअघि नेपालका प्रधानमन्त्रीहरूको भारत भ्रमणमा समेत हवाई रुटको विषय उठ्ने गरे पनि ठोस सहमति हुन सकेको थिएन । प्राविधिक विषय, सुरक्षा चासो तथा हवाई क्षेत्र व्यवस्थापनका विषयमा दुई देशबीच मतभिन्नता रहँदै आएको थियो । यसपटक प्रधानमन्त्री शाहको भारत भ्रमणमा उक्त विषयले प्राथमिकता पाउँदै सहमति जुटेपछि नेपालको हवाई पूर्वाधारमा भएको ठूलो लगानीलाई व्यावसायिक प्रतिफलमा बदल्ने सम्भावना बढेको छ । भैरहवाको अर्थतन्त्रमा नयाँ आशा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित रूपमा सञ्चालन हुन सके त्यसको प्रभाव लुम्बिनी प्रदेशमा मात्रै नभई समग्र पश्चिम क्षेत्रमा पर्ने नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुरकुमार श्रेष्ठको भनाइ छ । विमानस्थलको नियमित सञ्चालनले पर्यटन, होटल, यातायात, ट्राभल व्यवसाय, व्यापार तथा रोजगारीका अवसर विस्तार गर्नुका साथै स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने उहाँले बताउनुभयो । ‘दुई देशबीचको यो सम्झौताले हामीलाई खुसी बनाएको छ । यसको हामी स्वागत गर्छौँ,’ उहाँले भन्नुभयो, ‘अब यहाँ नियमित उडान हुनुपर्छ । यसका लागि सरकारलाई निजी क्षेत्रको आवश्यकता परे हामी सहकार्य गर्न तयार छौँ ।’ विमानस्थल नियमित सञ्चालनमा आएर लुम्बिनी आउने विदेशी पर्यटकलाई सहज हवाई पहुँच उपलब्ध गराउन सके बुद्ध जन्मस्थलको पर्यटन प्रवर्द्धनमा समेत नयाँ अवसर सिर्जना हुने उहाँको विश्वास छ । भारत, तेस्रो मुलुक तथा विभिन्न बौद्ध धर्मावलम्बी राष्ट्रबाट आउने पर्यटकलाई भैरहवा हुँदै लुम्बिनी प्रवेश सहज बनाउन विमानस्थल महत्त्वपूर्ण माध्यम बन्न सक्ने उहाँको भनाइ छ । सहमतिपछि अब कार्यान्वयनको परीक्षा भारतसँग हवाई रुटसम्बन्धी सहमति हुनु महत्त्वपूर्ण उपलब्धि भए पनि यसको वास्तविक प्रभाव कार्यान्वयनपछि मात्रै देखिनेछ । दुईतर्फी रुट सञ्चालनको प्राविधिक मोडालिटी टुंग्याउने, आवश्यक प्रक्रिया पूरा गर्ने, एयरलाइन्सलाई आकर्षित गर्ने र उडान तालिका नियमित बनाउने काम अब प्राथमिकतामा रहनेछ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई रुटको सहजता मात्रै पर्याप्त नहुने सरोकारवालाको भनाइ छ । इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आईएलएस) प्रयोग गर्दा भारतीय हवाई क्षेत्रको उपयोग गर्नुपर्ने भएकाले त्यस विषयमा पनि सहमति आवश्यक रहेको उनीहरूको तर्क छ । तर, अहिलेको सहमतिमा यस विषयबारे स्पष्ट उल्लेख नभएकाले यस क्षेत्रका व्यवसायीमा अन्योल कायमै छ । यसका अतिरिक्त यात्रुको माग, एयरलाइन्सको व्यावसायिक हित, विमानस्थलका सेवा सुविधा, भिसा तथा पर्यटन सहजीकरण, प्रचारप्रसार र निजी क्षेत्रको सक्रिय सहभागिता पनि उत्तिकै आवश्यक हुने अध्यक्ष श्रेष्ठको भनाइ छ । यद्यपि, एक दशकभन्दा लामो समयदेखि उठ्दै आएको हवाई रुटको मुद्दामा सहमति जुट्नु गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि महत्त्वपूर्ण मोड बनेको छ । भैरहवाले वर्षौंदेखि प्रतीक्षा गरेको ‘गुड न्यूज’ अब आश्वासनमा मात्रै सीमित नरही अन्तर्राष्ट्रिय उडानको नियमितता, विमानस्थलको पूर्ण सञ्चालन र क्षेत्रीय आर्थिक विकासमा रूपान्तरण हुने अपेक्षा गरिएको छ । -राधेश्याम विश्वकर्मा

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
प्रधानमन्त्री बालेन भारत भ्रमणबाट स्वदेश फिर्ता
Latest NewsJust now

प्रधानमन्त्री बालेन भारत भ्रमणबाट स्वदेश फिर्ता

काठमाण्डु – भारतको २ दिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ सोमबार साँझ स्वदेश फिर्ता भएका छन् । उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले स्वागत गरे । यसअघि प्रधानमन्त्री शाहलाई इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थलमा बिदाइ गर्न भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला, […] ...

काठमाण्डुपाटी
अनावश्यक नियन्त्रणमुखी ऐनहरू खारेज गर्दैछौं -मन्त्री सोविता गौतम
Latest NewsJust now

अनावश्यक नियन्त्रणमुखी ऐनहरू खारेज गर्दैछौं -मन्त्री सोविता गौतम

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उच्चस्तरीय आर्थिक सुझाव आयोगको प्रतिवेदनको सुझाव अनुसार अनावश्यक नियन्त्रणमुखी ऐनहरू खारेज गर्न लागिएको बताएकी छन् । सिंहदरबारमा सोमबार बसेको अर्थसम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयकमाथिको छलफलका क्रममा मन्त्री गौतमले नागरिक तथा व्यवसायीको आर्थिक स्वतन्त्रता कुण्ठित गर्ने, लागत अनावश्यक बढाउने, गलत प्रयोग हुन सक्ने र वर्तमान सन्दर्भमा असान्दर्भिक तथा अनावश्यक ...

केन्द्रबिन्दु
काठमाडौं आइपुगे प्रधानमन्त्री शाह
Latest NewsJust now

काठमाडौं आइपुगे प्रधानमन्त्री शाह

काठमाडौं । भारतको दुई दिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री बालेन्द्र शाह आज अपराह्न स्वदेश फर्किएका छन् । प्रधानमन्त्री शाहलाई केहीबेर अघि नेपाल एयरलाइन्सको विमानबाट काठमाडौं आइपुगेका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आइतबार भारत भएका प्रधानमन्त्री शाहलाई आज नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे, नेपालका लागि भारतीय ...

कर्पोरट खबर
आज दिनभर देश-दुनियाँमा के-के भयो ? यस्ता छन् आजका प्रमुख समाचार
Latest NewsJust now

आज दिनभर देश-दुनियाँमा के-के भयो ? यस्ता छन् आजका प्रमुख समाचार

प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण अर्थपूर्ण बन्यो, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मु र भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरे, आजै स्वदेश फर्किने जनकपुरधाम–अयोध्या रेल सेवा सुरु, प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा भर्चुअल माध्यमबाट उद्घाटन गरे, दुई देशबीचको धार्मिक पर्यटन र सीमापार आवागमनलाई अझ सहज बनाउने विश्वास भारतले नेपाललाई ५६ अर्ब अनुदान र १ खर्ब ८४ ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement