भारतमा अर्थमन्त्रीले सीमा नाघे, दीर्घकालीन सम्बन्धको उपहास गर्दै चाकडीपूर्ण ब्यवहार गरे : राजेश हमाल

काठमाडौं, कात्तिक ९ । चर्चित अभिनेता राजेश हमालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सीमा बाहिर गएर नेपाल–भारत सम्बन्धबारे आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै आक्रोश पोख्नुभएको छ । नेपाल–भारत सम्बन्ध र राष्ट्रवादबारे अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै हमालले फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो । उहाँले अर्थमन्त्री वाग्लेले नेपालको सार्वभौमसत्ता, राष्ट्रिय स्वाभिमान र परराष्ट्र नीतिको मर्यादा कायम नराखेको भन्दै सचेत पनि गराउनु भएको छ । हमालले ’अर्थमन्त्रीले आफ्नो मन्त्रीस्तरीय जिम्मेवारीको सीमाभन्दा बाहिर गएर अभिव्यक्ति दिएको’ उल्लेख गर्दै यस्ता टिप्पणीले नेपालको लामो समयदेखिको सिद्धान्तमा आधारित परराष्ट्र नीतिको आधारलाई प्रभावित पार्न सक्ने बताउनु भएको छ । ’अर्थमन्त्रीले आफ्नो मन्त्रीस्तरीय जिम्मेवारीको सीमाभन्दा बाहिर गएर अभिव्यक्ति दिएको देखिन्छ । उहाँका टिप्पणीहरूले नेपालको लामो समयदेखि कायम रहेको सिद्धान्तमा आधारित परराष्ट्र नीतिको जगलाई नै विकृत पार्ने जोखिम छ,’ हमालले भन्नुभएको छ, ’यस्तो चाकरीपूर्ण व्यवहारले नेपालको सार्वभौमसत्ताको गरिमालाई कमजोर बनाउनुका साथै नेपाल र भारत दुवै देशले उच्च सम्मानका साथ कायम राख्दै आएको दीर्घकालीन सम्बन्धको उपहास समेत गर्छ ।’ नेपाली चलचित्रका महानायक हमालले नेपाल–भारत सम्बन्धको ऐतिहासिक महत्त्व स्वीकार गर्दै छिमेकीसँगको सम्बन्ध सुदृढ बनाउन आवश्यक भए पनि त्यसका लागि नेपालको राष्ट्रिय हित र स्वाभिमानमा सम्झौता गर्न नहुनेमा जोड दिनुभएको छ ।अर्थमन्त्री वाग्लेले भारतको नयाँदिल्लीमा आयोजित ’एनडिटिभी वल्र्ड समिट २०२६’ मा बोल्दै नेपाली राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोडेर हेर्ने युग समाप्त भएको घोषणा गर्नुभएको थियो । ’कुनै समय राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोडेर हेर्ने गरिन्थ्यो, तर अहिले त्यो युग सकिएको छ । यो घोषणा गर्दा मलाई गर्व लागेको छ,’ अर्थमन्त्री वाग्लेले भन्नुभएको थियो । उहाँको यो बोली नेपालीको छातीमा गोली सरह रहेको भन्दै तीब्र आलोचना भइरहेको बेला कुटनीतिज्ञ पिता चुडाबहादुर हमालका छोरासमेत रहनुभएका महानायक राजेशले चाकडीको पराकाष्टा भन्ने तथ्य औंल्याउनु भएको हो । हमालको भनाई जस्ताको तस्तै अर्थमन्त्रीले आफ्नो मन्त्रीस्तरीय जिम्मेवारीको सीमाभन्दा बाहिर गएर अभिव्यक्ति दिएको देखिन्छ। उहाँका टिप्पणीहरूले नेपालको लामो समयदेखि कायम रहेको सिद्धान्तमा आधारित परराष्ट्र नीतिको जगलाई नै विकृत पार्ने जोखिम छ। यस्तो चाकरीपूर्ण व्यवहारले नेपालको सार्वभौमसत्ताको गरिमालाई कमजोर बनाउनुका साथै नेपाल र भारत दुवै देशले उच्च सम्मानका साथ कायम राख्दै आएको दीर्घकालीन सम्बन्धको उपहास समेत गर्छ। नेपालको परराष्ट्र नीति सधैं राष्ट्रिय सार्वभौमसत्ता, स्वाभिमान र चिरस्थायी सिद्धान्तहरूमा आधारित रहँदै आएको छ। यो कुनै व्यक्तिको स्वविवेक वा राजनीतिक स्वार्थ अनुसार चल्ने विषय बन्नु हुँदैन। कुनै पनि सार्वजनिक पदमा रहेको व्यक्तिले आफ्ना अभिव्यक्ति वा सर्तहरूमार्फत यी आधारभूत मान्यतामा सम्झौता गर्नु हुँदैन, जसले अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठालाई कमजोर पारोस्। नेपाल–भारत सम्बन्ध सधैं भूगोल, इतिहास, संस्कृति र जनस्तरको आपसी सम्बन्धमा गहिरोसँग जरा गाडेर रहेको छ। यो सम्बन्धलाई अझ सुदृढ बनाउनु स्वाभाविक र आवश्यक दुवै हो। हाम्रो सम्बन्धका यी पक्षहरूले हामीलाई अन्य कुनै पनि दुई राष्ट्रबीचको सम्बन्धभन्दा विशिष्ट रूपमा एकअर्कासँग जोड्छन्। त्यसैले यस देशको नागरिकका रूपमा म हाम्रा निकट छिमेकीसँगको सम्बन्ध अझ बलियो बनाउन गरिने हरेक इमानदार प्रयासको स्वागत गर्नुपर्छ भन्ने दृढ विश्वास राख्छु। तर सँगसँगै हाम्रा प्रतिनिधिहरूले उचित कूटनीतिक विवेक प्रयोग गरून् र हाम्रो राष्ट्रिय अडानलाई त्यसको गरिमा र सन्तुलन कायम राख्दै प्रस्तुत गरून् भन्ने अपेक्षा पनि हामी गर्छौं। नेपाल–भारत सम्बन्ध ऐतिहासिक रूपमा यति महत्त्वपूर्ण र रणनीतिक रूपमा यति संवेदनशील छ, यसलाई व्यक्तिगत चाकरीका हाउभाउ वा सार्वजनिक उपहास निम्त्याउने टिप्पणीहरूमा सीमित गर्न मिल्दैन। हाम्रो सम्बन्ध बलियो आधारमा स्थापित भए पनि यससँग हाम्रो आफ्नै ऐतिहासिक अनुभव, समाधान हुन बाँकी सीमा विवाद र आर्थिक निर्भरताजस्ता विषयहरू पनि जोडिएका छन्। त्यसैले वर्तमान सरकारले आफ्नो धारणा स्पष्टता र निरन्तरताका साथ स्थापित कूटनीतिक माध्यम, प्रमाण तथा सौहार्दपूर्ण संवादमार्फत प्रस्तुत गर्नु विशेष महत्त्वपूर्ण छ, केवल आक्रामक बयानबाजी र खोक्रा आश्वासनमार्फत होइन। छिमेकी राष्ट्रहरूसँगको मित्रता र आफ्नो सार्वभौमसत्ताप्रतिको निष्ठा एकअर्काका प्रतिस्पर्धी उद्देश्य होइनन्। यी त एकअर्काका पूरक जिम्मेवारी हुन्। नेपाल एक स्वतन्त्र राष्ट्र भएकाले आफ्नो पहिचानप्रति आत्मविश्वास राख्दै र आफ्नो राष्ट्रिय हितबारे स्पष्ट रहँदै भरपर्दो साझेदार बन्न सक्छ र बनेको छ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल
गण्डकी, कात्तिक ९ गते । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्र बलियो नभई राज्य बलियो नहुने बताउनुभएको छ । पोखराका अगुवा पर्यटन व्यवसायीसँग आज भएको भेटमा उहाँले मुल... ...

चीन भ्रमण गरी फर्किन् पूर्व राष्ट्रपति भण्डारी
विद्यादेवी भण्डारी चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना भएको ‘ग्लोबल गभर्नेन्स् फोरम’ मा सहभागी भएर सोमबार स्वदेश फर्किएकी छिन् । ...

एनपीएलमा लुम्बिनी लायन्सको विजयी सुरुवात, सुदूरपश्चिम ८७ रनमै समेटियो
काठमाडौं, कात्तिक ९। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा साविक विजेता लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको छ। आज सम्पन्न खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको हो। सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य लुम्बिनीले ९.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। लुम्बिनीको जितमा डार्सी शर्टले आक्रामक ब्याटिङ गर्दै १८ बलमा ४ चौका र ३ छक्कासहित ४० रन बनाए। आसिफ शेखले ३२ ...

सडक पुग्नुअघि नै हुम्लामा पुग्यो डिजिटल सञ्जाल
दसैँको घटस्थापनाका दिन दिउँसो अदानचुली गाउँपालिकाको श्रीनगरमा व्यवसायी तिलकबहादुर शाहीको पसलमा क्यूआर कोडमार्फत सामानको भुक्तानी गर्ने ग्राहकको बाक्लै भीड थियो। केही वर्षअघिसम्म नगदबिनाको कारोबार कल्पना गर्नसमेत कठिन थियो। रकम अभाव हुँदा सामान उधारो दिने वा आपसी विश्वासका आधारमा कारोबार चलाउने प्रचलन थियो। तर अहिले स्मार्टफोन र इन्टरनेटको पहुँचले त्यही दृश्य पूर्ण रूपमा बदलिएको छ। व्यवसायी शाहीका अनुसार डिजिटल सञ्जालले व्यापारलाई निकै ...


