काठमाडौं – भन्सारबाट वैधानिक रूपमा आयात भएका सामान ढुवानीका क्रममा अवैध वस्तु मिसाउने तथा बीच बाटोमा सामान थपघट गर्ने गतिविधि नियन्त्रण गर्न सरकारले भन्सार सूचना प्रणाली र सवारीसाधन अनुगमन प्रणाली (भीसीटीएस) एकीकृत गर्ने प्रस्ताव अघि सारेको छ । अर्थ मन्त्रालयका सचिव डा। घनश्याम उपाध्यायले प्रतिनिधिसभाको अर्थ समितिमा ‘अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथिको दफावार छलफलका क्रममा यस्तो प्रस्ताव गरेको हो । उनले भन्सार प्रज्ञापनपत्र स्वीकृत हुनेबित्तिकै त्यसको विवरण स्वतः भीसीटीएसमा प्रविष्ट हुने व्यवस्था गर्नुपर्ने बताए । सचिव उपाध्यायका अनुसार भन्सारबाट वैधानिक रूपमा सामान लिएर निस्किएका सवारीसाधनले बीच बाटोमा अवैध सामान थप्ने वा वैधानिक सामानसँग मिसाएर ढुवानी गर्ने गरेका घटना भेटिएका छन्। उहाँले भैरहवा भन्सारबाट सामान लिएर आएको एउटा गाडीमा बुटवलमा चोरीपैठारीका जुत्ता थपेर काठमाडौँको थानकोटमा पक्राउ गरिएको घटनालाई उदाहरणका रूपमा प्रस्तुत गरे । यस्ता गतिविधि नियन्त्रण गर्न भन्सारबाट आयात भएका सामानको विवरण र ढुवानी गर्ने सवारीसाधनको विवरणबीच स्वचालित सम्बन्ध स्थापित गर्न आवश्यक रहेको उनको भनाइ छ । भन्सार प्रज्ञापनपत्र अनलाइन प्रणालीसँग भीसीटीएस जोडिएपछि आयातित सामानको विवरण छुट्टै प्रविष्ट गर्नुपर्ने झन्झट हट्ने र ढुवानी प्रक्रियाको अनुगमन प्रभावकारी हुने अपेक्षा गरिएको छ । सरकारले आन्तरिक उत्पादनबाट बजारमा पठाइने वस्तुका लागि भने भीसीटीएसमा विवरण प्रविष्ट गर्ने विद्यमान व्यवस्था कायम राख्ने प्रस्ताव गरेको छ । भन्सारबाट आयात हुने वस्तुको हकमा भन्सारको अनलाइन सूचना प्रणालीसँगै आबद्ध गरेर अनुगमन गर्ने व्यवस्था उपयुक्त हुने सचिव उपाध्यायले बताए । उहाँले चोरीपैठारी र भीसीटीएसमा विवरण प्रविष्ट नगर्ने विषयलाई एउटै रूपमा बुझ्न नहुने स्पष्ट पार्नुभयो। भन्सारबाट वैधानिक रूपमा आयात भएका सामानको विवरण भीसीटीएसमा प्रविष्ट नगरेमा पहिलोपटक ५० हजार रुपैयाँ र त्यसपछि एक लाख रुपैयाँ जरिवाना गर्ने व्यवस्था प्रक्रियागत विषय भएको उहाँको भनाइ छ। चोरीपैठारीमा संलग्न हुनेलाई भने छुट्टै कानुनी व्यवस्थाअनुसार कारबाही हुने उनले बताए । त्यस्तै, भीसीटीएससम्बन्धी मापदण्ड कार्यान्वयन गर्नुअघि व्यवसायी तथा सरोकारवालालाई पर्याप्त समय दिएर जानकारी गराउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो। आन्तरिक राजस्व विभागले मापदण्ड तयार गरी कार्यान्वयन हुनुभन्दा निश्चित समयअघि नै सार्वजनिक गर्ने व्यवस्था कानुनमा समावेश गर्नुपर्ने उनको प्रस्ताव छ । हरेक मापदण्ड राजपत्रमा प्रकाशित गर्नुपर्ने व्यवस्था गर्दा प्रक्रिया लामो हुन सक्ने भएकाले सम्बन्धित निकायले पर्याप्त समयअघि मापदण्ड सार्वजनिक गरी सरोकारवालालाई पूर्वजानकारी दिने व्यवस्था उपयुक्त हुने उनको धारणा छ । प्रतिनिधिसभाको अर्थ समितिमा मंगलबार विधेयकमाथि भएको दफावार छलफलमा सचिव उपाध्यायले भीसीटीएस र भन्सार सूचना प्रणालीबीच एकीकरण गर्ने तथा मापदण्ड पूर्वप्रकाशन गरी व्यवसायीलाई सुसूचित गर्ने व्यवस्था विधेयकमा समावेश गर्न सदस्यहरूसमक्ष आग्रह गर्नुभएको हो। प्रस्ताव कार्यान्वयन भए भन्सारबाट आयात भएका वस्तुको आन्तरिक ढुवानीमा थप निगरानी गर्न र वैधानिक सामानको आवरणमा अवैध वस्तु ओसारपसार गर्ने गतिविधि नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
भन्सार र भीसीटीएस प्रणाली एकीकृत गर्ने सरकारको प्रस्ताव

Read Complete Original Article
Published originally on विश्वखबर






