अमेरिकी अन्तरिक्ष कम्पनी ब्लु ओरिजिनले आफ्नो शक्तिशाली रकेट ‘न्यु ग्लेन’ का लागि तेस्रो चरण विकास गरेको घोषणा गरेको छ। कम्पनीले नोभेम्बर ५ मा नयाँ चरणसँगै पहिलो चरणमा प्रयोग हुने नयाँ इन्जिन विकास गरिरहेको जानकारी पनि दिएको हो। जेफ बेजोसको कम्पनीका अनुसार जीएस३ नाम दिइएको नयाँ चरणले न्यु ग्लेन रकेटको क्षमता र उपयोगितालाई थप विस्तार गर्नेछ। यसबाट भूस्थिर कक्षमा उपग्रहहरूको समूह (स्याटेलाइट कन्स्टेलेसन) सिधै पुर्याउन सकिनेछ। साथै चन्द्रमा र गहिरो अन्तरिक्षसम्बन्धी ठूला वैज्ञानिक तथा अन्वेषण अभियानमा पनि यसले सहयोग गर्ने कम्पनीको भनाइ छ। हाल न्यु ग्लेन दुई चरणको रकेट हो। यसको पुनः प्रयोग गर्न मिल्ने पहिलो चरणमा ब्लु ओरिजिनका सातवटा बीई–४ इन्जिन जडान गरिएका छन्। दोस्रो चरणमा भने कम्पनीकै दुईवटा बीई–३यू इन्जिन प्रयोग हुन्छन्। स्पेस डटकमका अनुसार यो रकेट ३२२ फिट अर्थात् करिब ९८ मिटर अग्लो छ। यसले भूस्थिर स्थानान्तरण कक्ष (जीटीओ) मा १४.३ टन र पृथ्वीको तल्लो कक्ष (एलईओ) मा ५० टनसम्मको भार पुर्याउन सक्छ। कम्पनीले हालको रकेटलाई ‘७एक्स२’ संस्करणका रूपमा चिनाएको छ। गत वर्ष ब्लु ओरिजिनले यसको अझ शक्तिशाली ‘९एक्स४’ संस्करण विकास गर्ने घोषणा गरेको थियो। उक्त संस्करणमा पहिलो चरणमा नौवटा बीई–४ र माथिल्लो चरणमा चारवटा बीई–३यू इन्जिन रहनेछन्। ९एक्स४ संस्करण करिब ४०० फिट अर्थात् १२२ मिटर अग्लो हुनेछ। यसले जीटीओमा १५.४ टन र एलईओमा ७७ टनसम्मको भार पुर्याउन सक्ने कम्पनीको अनुमान छ। न्यु ग्लेनले अहिलेसम्म तीनवटा उडान गरिसकेको छ। पहिलो उडान सन् २०२५ जनवरीमा भएको थियो। त्यसपछि सन् २०२५ नोभेम्बर र सन् २०२६ अप्रिल १९ मा थप उडान भएका थिए। तर पछिल्लो उडान अपेक्षाअनुसार सफल हुन सकेन। उक्त उडानमा एएसटी स्पेसमोबाइलको ‘ब्लुबर्ड ७’ सञ्चार उपग्रहलाई निर्धारित कक्षभन्दा फरक कक्षमा पुर्याइएको थियो। त्यसका कारण उक्त उपग्रह गुमाउनुपरेको थियो। त्यसको एक महिनापछि मे २८ मा फ्लोरिडास्थित केप क्यानाभेरल स्पेस फोर्स स्टेसनमा नियमित इन्जिन परीक्षणका क्रममा न्यु ग्लेन रकेट प्रक्षेपणस्थलमै विस्फोट भएको थियो। त्यसयता कम्पनीले क्षतिग्रस्त प्रक्षेपणस्थल पुनर्निर्माण गर्दै रकेटको चौथो उडानको तयारी गरिरहेको छ। उक्त उडान यसै वर्षको अन्त्यतिर हुने अपेक्षा गरिएको छ। प्रक्षेपणस्थलको मर्मत भइरहेका बेला कम्पनीले जीएस३ चरणको विकास पनि गरिरहेको खुलेको हो। नयाँ चरणमा एउटा बीई–७ इन्जिन प्रयोग हुनेछ। यो इन्जिन ब्लु ओरिजिनले आफ्नो ‘ब्लु मुन’ अन्तरिक्षयानका लागि विकास गरेको हो। ब्लु मुन नासाको आर्टेमिस कार्यक्रमअन्तर्गत अन्तरिक्षयात्रीलाई चन्द्रमामा पुर्याउन छनोट गरिएका दुई निजी यानमध्ये एक हो। अर्को यान स्पेसएक्सको स्टारसिप हो। ब्लु ओरिजिनका अनुसार ब्लु मुनका चन्द्र अवतरण अभियानका लागि जीएस३ जडित न्यु ग्लेन रकेट प्रयोग गर्नुपर्ने छैन। तर नयाँ चरणले चन्द्रमाको वरिपरि लामो समयसम्म सञ्चालन हुने अभियानलाई सहयोग गर्न सक्छ। यसले ठूलो परिमाणको सामग्री पृथ्वी–चन्द्रमा स्थानान्तरण मार्गमा सिधै पुर्याउन सक्ने भएकाले यात्रा अवधि घटाउनुका साथै अन्तरिक्षयानमा रहेको इन्धन अन्य कामका लागि बचत गर्न सकिने कम्पनीको भनाइ छ। कम्पनीले जीएस३ प्रयोग हुने एउटा अभियानका लागि सरकारी निकायबाट अर्डरसमेत प्राप्त गरेको जनाएको छ। उक्त सरकारी निकायको नाम भने सार्वजनिक गरिएको छैन। सन् २०२८ मा पृथ्वी र चन्द्रमाबीचको अन्तरिक्ष क्षेत्रमा उक्त अभियान सञ्चालन गर्ने लक्ष्य राखिएको छ। यसैबीच ब्लु ओरिजिनले पहिलो चरणका लागि ‘नर्थस्टार’ नामक नयाँ इन्जिन पनि विकास गरिरहेको घोषणा गरेको छ। कम्पनीको बीई–४ इन्जिनजस्तै नर्थस्टारमा पनि तरल अक्सिजन र तरल मिथेन इन्धनका रूपमा प्रयोग हुन्छ। तर नयाँ इन्जिन बढी शक्तिशाली र संरचनाका हिसाबले सरल हुने कम्पनीको दाबी छ। ब्लु ओरिजिनका अनुसार बीई–४ को तुलनामा नर्थस्टारको तौल ३० प्रतिशत र पार्टपुर्जाको संख्या ५० प्रतिशत कम हुनेछ। यसको थ्रस्ट क्षमता भने ६ लाख ४० हजार पाउन्ड-फोर्सबाट बढेर ७ लाख १५ हजार पाउन्ड-फोर्स पुग्नेछ। कम्पनीले उत्पादन प्रक्रियामा गरिएको सुधारका कारण नयाँ इन्जिन निर्माण गर्न लाग्ने समय पनि उल्लेख्य रूपमा घट्ने जनाएको छ। यसलाई एक दिनभन्दा कम समयमा एसेम्बल गर्न सकिने कम्पनीको दाबी छ। ब्लु ओरिजिनका अनुसार नर्थस्टार इन्जिनको कार्यक्रम स्वीकृत भएको ११ महिनामै विकास परीक्षणको चरणमा पुगेको हो। यद्यपि यो इन्जिन पहिलोपटक कहिले रकेटमा प्रयोग गरेर उडाइने भन्नेबारे कम्पनीले जानकारी दिएको छैन। The post ब्लु ओरिजिनले सार्वजनिक गर्यो न्यु ग्लेन रकेटका लागि तेस्रो चरण र नयाँ इन्जिन appeared first on Technology Khabar.
ब्लु ओरिजिनले सार्वजनिक गर्यो न्यु ग्लेन रकेटका लागि तेस्रो चरण र नयाँ इन्जिन

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर






