झापा। मेचीनगर नगरपालिका-४ स्थित प्रसाद गौडाबाट जंगली हात्तीले नेपालतर्फ प्रवेश थालेपछि सो क्षेत्रमा सुरक्षा सतर्कता उच्च पारिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले नेपाल भारतको सीमा क्षेत्रमा पर्ने सो भू-भागबाट हात्ती नेपाल छिर्ने र स्थानीयवासीको घर भत्काउने पाकेको धान खाने गर्न थालेपछि भारततर्फ हात्ती फर्काउन बुधबारदेखि नै सुरक्षा सतर्कता उच्च पारिएको जानकारी दिए। हात्तीको प्रवेशलाई पूर्ण रूपमा रोक्न र सम्भावित क्षति जोगाउन सशस्त्र प्रहरी बल नेपाल बिओपी बाहुनडाँगी, नेपाल प्रहरी, डिभिजन वन कार्यालयका वन रक्षक, र्यापिड रेस्पोन्स टिमलगायत विभिन्न संघसंस्था र स्थानीय किसानहरू सक्रिय रूपमा परिचालन भएका छन् । सुरक्षाकर्मी, वन कर्मचारी र स्थानीयवासीले हात्तीलाई नेपालतर्फ प्रवेश गर्न नदिन विभिन्न उपकरण र सवारीसाधनको प्रयोग गरी निगरानी तथा रोकथामको कार्य गरिरहेका छन् । रोकथाम तथा नियन्त्रणका लागि १० भन्दा बढी साना माइकसहितका साइरन, सशस्त्र प्रहरी बलका दुई वटा ठूला साइरन, वन कार्यालय र सशस्त्र प्रहरी बलका एक-एकवटा साइरन जडित सवारीसाधन, नेपाल प्रहरीको एउटा ठूलो साइरन तथा ९० भन्दा बढी ठूला लाइट प्रयोगमा ल्याइएको छ । त्यसैगरी, गस्ती र निगरानीलाई प्रभावकारी बनाउन तीन वटा ट्याक्टर तथा १० भन्दा बढी मोटरसाइकल पनि परिचालन गरिएको उनले जानकारी दिए। सम्भावित जोखिमलाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले सीमावर्ती क्षेत्रका बासिन्दालाई पर्याप्त सुरक्षा सतर्कता अपनाउन आग्रह गरिरहेको छ ।
बाहुनडाँगीमा जंगली हात्तीको त्रास: सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च

Read Complete Original Article
Published originally on नेपालन्युज






