Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

बालेन र गगनबीच किन चल्दैछ शीतयुद्ध ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
बालेन र गगनबीच किन चल्दैछ शीतयुद्ध ?
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडाैं । केही दिनयता प्रधानमन्त्री बालेन्द्र शाह र नेपाली कांग्रेसका सभापति गगनकुमार थापाबीच एक प्रकारको राजनीतिक शीतयुद्ध सुरु भएको देखिन्छ। पछिल्ला केही घटनाक्रम, सार्वजनिक अभिव्यक्ति, सामाजिक सञ्जालमा आएका स्टाटस तथा एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका विवादास्पद समाचारलाई हेर्दा यी दुई नेताबीचको सम्बन्ध सामान्य राजनीतिक असहमतिमा मात्र सीमित नरहेको विश्लेषण गर्न सकिन्छ। यसका पछाडि सत्ता, संगठन, राजनीतिक भविष्य र नयाँ पुस्ताको नेतृत्व कसले गर्ने भन्ने विषयसमेत जोडिएको देखिन्छ । थापा नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि राष्ट्रिय राजनीतिमा नयाँ बहस सुरु भएको छ। कांग्रेसभित्र लामो समयदेखि नेतृत्व परिवर्तन र पुस्तान्तरणको माग उठिरहेको थियो। त्यही मागलाई संस्थागत गर्दै थापा नेतृत्वमा पुगेपछि कांग्रेसको राजनीतिक दिशा र भविष्यबारे नयाँ अपेक्षा सिर्जना भएको छ। यसले केवल कांग्रेसभित्र मात्र होइन, सरकार र राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक वृत्तमा समेत नयाँ तरंग पैदा गरेको विश्लेषण गर्न सकिन्छ। यसको मुख्य कारण थापाको नेतृत्वमा नेपाली कांग्रेसले आफूलाई पुनर्गठन गर्दै नयाँ पुस्ताको राजनीतिक आकर्षणको केन्द्र बनाउने सम्भावना हो। पछिल्लो समय परम्परागत राजनीतिक दलहरूप्रति असन्तुष्ट रहेका युवाहरूलाई कांग्रेसमा पुनः आकर्षित गर्न सके त्यसको प्रत्यक्ष प्रभाव रास्वपाको राजनीतिक आधारमा पर्न सक्छ। किनभने रास्वपाको उदय र विस्तारको एउटा प्रमुख आधार नै पुराना राजनीतिक दलप्रतिको जनअसन्तुष्टि र नयाँ नेतृत्वको खोजी थियो। तर कांग्रेसभित्रै नयाँ पुस्ताको नेतृत्व स्थापित भएपछि पुराना दल र नयाँ दलबीचको राजनीतिक विभाजनरेखा केही हदसम्म बदलिन सक्ने अवस्था बनेको छ। पछिल्ला घटनाक्रमलाई क्रमबद्ध रूपमा हेर्दा सञ्चारमाध्यमसँग सम्बन्धित पत्रकार पक्राउ प्रकरणपछि राजनीतिक वातावरण थप तनावपूर्ण बनेको देखिन्छ। आइजिपी हटाउने प्रकरणसँग सम्बन्धित रहेर विभिन्न मिडिया हाउससँग आबद्ध पत्रकारहरू पक्राउ परेको भोलिपल्ट थापाले नेपाली कांग्रेसको केन्द्रीय कार्यालयबाट विशेष सम्बोधन गरे। उक्त सम्बोधनमा उनले सरकारको कार्यशैलीप्रति आलोचना गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी र सरकारका गतिविधिमाथि प्रश्न उठाए। सरकारले आइजिपी दानबहादुर शाहीलाई पदमुक्त गरेर एआइजी मनोज केसीलाई आइजिपी नियुक्त गरेसँगै समाचार तथ्यमा आधारित थियो भन्ने पुष्टि समेत भैसकेको छ । थापाले सरकारको आलोचना गरेको यो घटनालाई राजनीतिक दृष्टिले महत्त्वपूर्ण मान्नुपर्छ। किनभने कांग्रेसको नयाँ नेतृत्व स्थापित भएपछि उनले सरकारसँगको सम्बन्धलाई कसरी अघि बढाउँछन् भन्ने विषयमा विभिन्न अनुमान भइरहेका थिए। तर पत्रकार पक्राउ प्रकरणपछि उनले सार्वजनिक रूपमा सरकारको आलोचना गर्नुले कांग्रेस अब सरकारका गतिविधिमाथि प्रत्यक्ष राजनीतिक निगरानी र प्रतिवाद गर्ने भूमिकामा सक्रिय हुन खोजेको सन्देश दिएको छ। यस घटनाको केही घण्टापछि प्रधानमन्त्री बालेन्द्रको सामाजिक सञ्जालमा आएको एउटा स्टाटसले राजनीतिक वृत्तमा थप चर्चा सिर्जना गर्‍यो। प्रधानमन्त्रीले लेखेको उक्त स्टाटसमा सही समय आएपछि एक–दुई जनाले आफूले छुट पाउँछु भनेर नसोचे हुन्छ भन्ने आशयको अभिव्यक्ति थियो। प्रधानमन्त्रीले उक्त अभिव्यक्तिमा कसैको नाम उल्लेख गरेका थिएनन्। तर त्यसको समय, त्यसअघि गगन थापाले गरेको सम्बोधन र सरकारमाथि भइरहेको आलोचनाको पृष्ठभूमिका कारण यसलाई थापासँग जोडेर व्याख्या गर्नेहरू देखिए। यसलाई गगन लक्षित अभिव्यक्ति मान्ने राजनीतिक विश्लेषण पनि सार्वजनिक भयो।यहाँ महत्त्वपूर्ण प्रश्न के हो भने, प्रधानमन्त्रीको उक्त अभिव्यक्ति सामान्य कानुनी कारबाहीको सन्देश थियो वा तत्कालीन राजनीतिक घटनाक्रमसँग जोडिएको प्रतिक्रिया? यसको आधिकारिक पुष्टि नभए पनि राजनीतिक घटनाक्रमको समयक्रमले विभिन्न आशंका र व्याख्यालाई जन्म दिएको छ। लोकतान्त्रिक व्यवस्थामा सरकारको आलोचना गर्नु प्रतिपक्षको स्वाभाविक जिम्मेवारी हो। त्यस्तै, भ्रष्टाचार वा कानुनविपरीतका गतिविधिमा संलग्न जोकोहीमाथि अनुसन्धान र कारबाही गर्नु सरकारको दायित्व हो। तर यी दुवै विषयलाई राजनीतिक प्रतिशोधसँग जोडिन नदिनु सरकारको विशेष जिम्मेवारी हुन्छ। प्रधानमन्त्रीको स्टाटस सार्वजनिक भएको केही घण्टापछि नेपाली कांग्रेसको आधिकारिकता प्राप्त गर्ने प्रक्रियामा थापाले सर्वोच्च अदालतमा सेटिङ मिलाएको र त्यसमा आफूले भूमिका खेलेको भन्ने आशयको बयानसम्बन्धी समाचार सार्वजनिक भयो। त्यसपछि कांग्रेसको आन्तरिक विवाद र नेतृत्व परिवर्तनसँग सम्बन्धित विषय पुनः राष्ट्रिय राजनीतिको चर्चामा आयो। यस घटनाको करिब चौबीस घण्टापछि थापाले सामाजिक सञ्जालमार्फत अर्को अभिव्यक्ति सार्वजनिक गरे, जसलाई राजनीतिक वृत्तमा प्रधानमन्त्री बालेनलक्षित प्रतिक्रिया भनेर व्याख्या गरियो। त्यसको भोलिपल्ट इनम सापकोटासँग सम्बन्धित अडियो सार्वजनिक भएपछि विवादले थप नयाँ मोड लियो। यसरी केही दिनको अन्तरालमा एकपछि अर्को गर्दै सार्वजनिक भएका अभिव्यक्ति, समाचार, बयान र अडियोले बालेन–गगन सम्बन्धलाई राजनीतिक चर्चाको केन्द्रमा ल्याएको छ। यसको पछाडि नयाँ पुस्ताको राजनीतिक आकर्षण, कांग्रेसको पुनर्गठन, रास्वपाको राजनीतिक भविष्य, सरकारको कार्यशैली र आगामी निर्वाचनको शक्ति सन्तुलनजस्ता महत्त्वपूर्ण विषय जोडिएका छन्। बालेनका लागि नयाँ राजनीतिको दाबीलाई सरकारको काममार्फत प्रमाणित गर्नु आवश्यक छ। गगन थापाका लागि कांग्रेसलाई पुरानो राजनीतिक संस्कृतिबाट मुक्त गर्दै नयाँ पुस्ताको अपेक्षाअनुसार रूपान्तरण गर्नु चुनौतीपूर्ण छ। त्यस्तै, रास्वपाका लागि आफूलाई परम्परागत दलको विकल्पका रूपमा मात्र होइन, परिणाम दिन सक्ने संस्थागत राजनीतिक शक्तिका रूपमा स्थापित गर्नु आवश्यक छ। हिजो पुराना राजनीतिक दलप्रति निराश भएका युवाले नयाँ विकल्प खोजेका थिए। तर आज कांग्रेसभित्रै नयाँ पुस्ताको नेतृत्व स्थापित भएपछि राजनीतिक प्रतिस्पर्धाको स्वरूप बदलिन सक्ने सम्भावना देखिएको छ। थापाको नेतृत्वमा कांग्रेसले युवाको विश्वास पुनः प्राप्त गर्न सकेमा रास्वपाले पनि आफ्नो राजनीतिक रणनीति र कार्यसम्पादनमाथि थप ध्यान दिनुपर्ने हुन्छ। यसैले अहिलेको राजनीतिक घटनाक्रममा बालेन र गगनको सम्बन्धलाई मात्र हेरेर पुग्दैन। यसले नेपालको राजनीतिमा नयाँ र पुराना शक्तिबीचको प्रतिस्पर्धा कुन दिशामा अघि बढ्छ भन्ने प्रश्नसमेत खडा गरेको छ। अन्ततः यो प्रतिस्पर्धा बालेन र गगनको व्यक्तिगत प्रतिष्ठाको विषय मात्र होइन। यो नयाँ राजनीतिको नेतृत्व कसले गर्ने, युवाको विश्वास कसले जित्ने र आगामी दिनमा नेपालको राजनीतिको केन्द्रमा कुन शक्ति स्थापित हुने भन्ने प्रश्नसँग जोडिएको विषय हो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
संखुवासभा गोल्डकप : दोश्रो सेमिफाइनलमा प्लानिङ ब्वाइजलाई हराउँदै न्यू स्टार फाइनलमा
Latest NewsJust now

संखुवासभा गोल्डकप : दोश्रो सेमिफाइनलमा प्लानिङ ब्वाइजलाई हराउँदै न्यू स्टार फाइनलमा

• सेकाहा सामुदायिक क्लबले संखुवासभा गोल्डकपको दोश्रो सेमिफाइनलमा लोहरुङ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। • फाइनलमा सेकाहाले सुनसरीको न्यू स्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ। • प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ र उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार पाउनेछ। ...

नेपालबहस
काठमाडौंको सानदार जित, विराटनगर ९ विकेटले पराजित
Latest NewsJust now

काठमाडौंको सानदार जित, विराटनगर ९ विकेटले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार भएको दोस्रो खेलमा काठमाण्डु गोर्खाजले विराटनगर किंग्सलाई ९ विकेटले हराएको छ । काठमाण्डुले दिएको ८४ रनको समान्य लक्ष्य पछ्याएको काठमाण्डुले ९ ओभर ४ बलमा १ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।काठमाण्डुका डेभिड वार्नरले २४ बलमा ३ छक्का र २ चौकासहित अविजित ४४ र विलियम बोसिस्टोले २४ बलमा ३ चौकासहित २३ रन बनाए । ...

कर्पोरट खबर
रास्वपा सभापति लामिछानेसँग भारतीय विदेश सचिव मिस्रीको शिष्टाचार भेट
Latest NewsJust now

रास्वपा सभापति लामिछानेसँग भारतीय विदेश सचिव मिस्रीको शिष्टाचार भेट

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् । नेपालको दुई दिने औपचारिक भ्रमणमा आएका भारतीय विदेश सचिव सभापति लामिछानेसँग शिष्टाचार भेटवार्ता गर्न बुढानीलकण्ठ पुगेका थिए। उक्त शिष्टाचार भेटवार्तामा सभापति लामिछानेले आफ्नो विगतमा भएको औपचारिक भारत भ्रमणको चर्चा गर्दै आगामी दिनमा दुई मुलुक बीचमा हुन लागेका उच्चस्तरीय भ्रमणहरूको सफलताका लागि शुभकामना दिए। साथै, ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play