Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

बाढीपीडित जलविद्युत आयोजनालाई उठाउन निजी क्षेत्र तयार, सरकारसँग माग्यो नीतिगत सहजीकरण

Share:WhatsAppFacebookX (Twitter)Telegram
बाढीपीडित जलविद्युत आयोजनालाई उठाउन निजी क्षेत्र तयार, सरकारसँग माग्यो नीतिगत सहजीकरण
Photo / Coverage: पर्दाफास

भोटेकोशी बाढीपीडित प्रभावित जलविद्युत आयोजना पुनर्निर्माण गर्न निजी क्षेत्रले सरकारसँग नीतिगत सहजीकरणको माग गरेको छ । प्राकृतिक विपद्का कारण क्षति पुगेका आयोजनालाई पुनः निर्माण गरी सञ्चालनमा ल्याउन सरकारले आर्थिक सहयोग गर्नुभन्दा पनि नीतिगत तथा प्रशासनिक सहजता प्रदान गर्नुपर्ने स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले बताएका छन् । उनकाअनुसार भोटेकोशी प्रलयबाट प्रभावित १३ वटा आयोजनामध्ये ९ वटा आयोजना निजी क्षेत्रका रहेका छन् । निजी क्षेत्रका ती आयोजनाको शतप्रतिशत बीमा गरिएको उनले बताए । बीमा भएकै कारण आयोजनाको पुनर्निर्माण सहज हुने भएपनि पुनर्निर्माण प्रक्रियामा देखिने नीतिगत, कानूनी तथा प्रशासनिक जटिलता समाधान गर्न सरकारको भुमिका महत्वपूर्ण हुने उनको भनाइ छ । प्रभावित आयोजनाको पुनर्निर्माणका लागि सरकारले के–कस्ता सहुलियत र सुविधा उपलब्ध गराउनुपर्छ भन्ने विषय समेटेर इप्पानले विस्तृत प्रतिवेदन तयार गरी नेपाल सरकारलाई बुझाइसकेको उनले जानकारी दिए । उक्त प्रतिवेदनमा आर्थिक सहायता माग गर्नुभन्दा पनि पुनर्निर्माणका क्रममा आवश्यक पर्ने नीतिगत सहजीकरणका विषयलाई प्राथमिकता दिइएको उनले बताए । ‘हामीले निजी क्षेत्रका आयोजनाको शतप्रतिशत बीमा गरेका छौँ । अब त्यहाँ पुनर्निर्माण गर्नुपर्छ । पुनर्निर्माण गर्दा जे–जस्ता अप्ठ्यारा हुन्छन्, त्यसमा सरकारले आर्थिक सहयोग गर्नुभन्दा पनि नीतिगत सहजीकरण गरिदिनुपर्छ । सरकारले आवश्यक सहजीकरण मात्रै गरिदिए हामी पुनर्निर्माणमा जान्छौँ,’ उनले भने । डाँगीकाअनुसार प्रभावित आयोजनाहरूको पुनर्निर्माणमा सबैभन्दा महत्वपूर्ण माग अनुमति पत्रको अवधि हो । त्यसैले इप्पानले विद्युत ऐन, २०४९ अनुसार आयोजनाको अनुमति पत्रको अवधि ५० वर्ष कायम गर्न सरकारसँग माग गरेको छ । प्राकृतिक विपद्का कारण निर्माण सम्पन्न हुन लागेका वा व्यावसायिक उत्पादन शुरु गर्ने तयारीमा रहेका आयोजनासमेत पुनः निर्माणको चरणमा जानुपर्ने अवस्था आएकाले अनुमति पत्रको अवधि बढाउनुपर्ने उनको भनाइ छ । ‘हामीले अनुमति पत्रको अवधि विद्युत् ऐन, २०४९ अनुसार ५० वर्ष गरिदिनुपर्छ भनेका छौँ । किनभने निर्माण हुन तयार भएका, अन्तिम चरणमा पुगेका आयोजनासमेत अब पुनर्निर्माणमा जानुपर्ने अवस्था आएको छ,’ उनले भने । लाङटाङ आयोजनाको व्यावसायिक सञ्चालन शुरु गर्ने तयारी भइरहेका बेला विपद्का कारण पुनः निर्माणमा जानुपर्ने अवस्था आएको उनले बताए । निर्माणको अन्तिम चरणमा पुगेका र सञ्चालनको तयारीमा रहेका आयोजनाले पुनः निर्माणका लागि थप समय तथा स्रोत खर्च गर्नुपर्ने भएकाले सरकारबाट अनुमति पत्रको अवधि थप गर्नेलगायत नीतिगत सहजीकरण आवश्यक रहेको उनको भनाइ छ । सरकार पनि इप्पानले अघि सारेका मागप्रति सकारात्मक रहेको डाँगीले बताए । उनकाअनुसार प्रभावित आयोजनाहरूको पुनर्निर्माण गर्नुपर्ने आवश्यकता सरकारले पनि महशुस गरेको छ । आवश्यक नीतिगत व्यवस्था गर्न सके निजी क्षेत्र पुनर्निर्माणमा सक्रियतापूर्वक लाग्ने उनले बताए । भोटेकोशी प्रलयपछि शुरुमा ऊर्जा उत्पादकहरूमा निराशा देखिए पनि अहिले अवस्था क्रमशः बदलिँदै गएको उनको भनाइ छ । विपद्को प्रकृति, त्यसले पुर्‍याएको क्षति र पुनर्निर्माणको आवश्यकतालाई बुझ्दै जाँदा निजी क्षेत्रको मनोबल बढेको उनले बताए । ‘शुरु–शुरुमा अलिकति निराशा थियो । हामी आफैँलाई पनि, यस क्षेत्रमा लागेका मान्छेहरूलाई पनि केही निराशा भएको थियो । तर पछाडि बुझ्दै जाँदा अहिले त्यो निराशा छैन । अहिले उत्साहजनक अवस्था छ,’ उनले भने । उनकाअनुसार हजारौँ वर्षमा एकपटक हुन सक्ने प्रकृतिका यस्ता घटनालाई आधार बनाएर नेपालको जलविद्युत स्रोतको उपयोग नै नगर्ने निष्कर्षमा पुग्नु उचित हुँदैन । विपद्बाट प्रभावित आयोजनाको पुनर्निर्माण गर्दै जलविद्युत् उत्पादनलाई निरन्तरता दिनुपर्ने उनको भनाइ छ । ‘पाँच हजार वर्ष, १० हजार वर्षमा त्यस्ता इन्सिडेन्ट हुन्छन् भन्दैमा हामीले त्यो रिसोर्स प्रयोग नगर्ने भन्ने हुँदैन । त्यसैले हामी उत्साहित नै छौँ,’ उनले भने । निजी क्षेत्रलाई विद्युत व्यापारको लाइसेन्स छिटो दिन मागडाँगीले प्रभावित जलविद्युत आयोजनाको पुनर्निर्माणसँगै निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउने प्रक्रिया पनि तीव्र बनाउनुपर्ने बताएका छन् । सरकारले लेटर अफ इन्टेन्ट (एलओआई) दिइसकेका कम्पनीमध्ये आवश्यक योग्यता पूरा गरेका कम्पनीलाई लामो समय कुर्न नलगाई विद्युत व्यापारको लाइसेन्स उपलब्ध गराउनुपर्ने उनको भनाइ छ । उनकाअनुसार विद्युत व्यापार सरकार–सरकार (जीटुजी) माध्यमबाट मात्रै नभई व्यवसायी–व्यवसायी (बीटुबी) माध्यमबाट पनि अघि बढाउन सकिन्छ । सरकारी तहबाट हुने कारोबारको तुलनामा निजी क्षेत्रबीचको व्यापारिक कारोबार बढी सहज, व्यावहारिक र प्रभावकारी हुन सक्ने उनले बताए । ‘सरकार–सरकार काम गर्नुभन्दा बिजनेस–टु–बिजनेस काम गर्न सजिलो हुन्छ । किनभने एक रुपैयाँ फाइदा भयो भने भारतको कम्पनीले ५० प्रतिशत नाफा खान्छ, नेपालको कम्पनीले ५० प्रतिशत नाफा खान्छ । तर सरकार–सरकारबीच त्यस्तो हुँदैन,’ उनले भने । उनकाअनुसार निजी क्षेत्रबीच विद्युत् व्यापार हुँदा दुवै देशका व्यवसायीले आ–आफ्नो सरकारसँग आवश्यक नीतिगत सहजीकरणका लागि पहल गर्न सक्छन् । भारतको निजी क्षेत्रले त्यहाँको सरकारसँग र नेपालको निजी क्षेत्रले नेपाल सरकारसँग व्यापारका लागि आवश्यक वातावरण बनाउन लबिङ गर्न सक्ने उनले बताए । यसले दुई देशबीचको विद्युत व्यापारलाई व्यावसायिक र प्रतिष्पर्धात्मक बनाउन सहयोग पुग्ने उनको भनाइ छ । निजी क्षेत्र व्यावसायिक रूपमा बढी प्रभावकारी हुने भएकाले विद्युत् व्यापारमा पनि निजी क्षेत्रलाई पर्याप्त अवसर दिनुपर्ने उनले बताए । सरकारले विद्युत व्यापारका लागि एलओआई दिएका कम्पनीलाई आवश्यक योग्यता पूरा गरेपछि लाइसेन्स उपलब्ध गराउने प्रक्रियालाई छिटो अघि बढाउनुपर्ने डाँगीको माग छ । आवश्यक योग्यता पूरा गर्न बाँकी रहेका कम्पनीलाई योग्यता पूरा गर्ने अवसर दिनुपर्ने तर योग्यता पूरा गरेर आएका कम्पनीलाई भने दुई वर्षसम्म कुर्न लगाउनु उचित नहुने उनले बताए । उनकाअनुसार योग्य कम्पनीले समयमै लाइसेन्स पाएमा निजी क्षेत्रले आफ्नै स्तरबाट विद्युत् खरिद–विक्री सम्झौता (पीपीए) गर्न थाल्नेछ । यसले विद्युत व्यापारमा नयाँ सम्भावना खोल्नुका साथै नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणमाथि रहेको पीपीएको भारसमेत बाँड्न सहयोग गर्ने उनको भनाइ छ । ‘एलओआई दिइसकेपछि जो योग्य हुन बाँकी छ, उसलाई योग्य हुने अवसर दिनुपर्छ । तर जो योग्य भएर आउँछ, त्यसलाई दुई वर्षसम्म नकुराई लाइसेन्स दिँदै जानुपर्छ । त्यसो भयो भने निजी क्षेत्रले पनि पीपीए गर्न थाल्छ,’ उनले भने । निजी क्षेत्रले पीपीए गर्न थालेमा विद्युत खरिद–विक्रीको जिम्मेवारी सरकारी निकायमा मात्रै सिमित नरहने उनले बताए । निजी कम्पनीहरूबीच पनि विद्युत् खरिद–विक्रीको अभ्यास विस्तार हुँदा बजारको दायरा फराकिलो हुने र विद्युत व्यापारमा निजी क्षेत्रको भुमिका बढ्ने उनको भनाइ छ । यद्यपि, निजी क्षेत्रबीच पीपीए हुँदैमा मात्रै लगानी सुनिश्चित नहुने उनले स्पष्ट पारे । निजी क्षेत्रबीच भएको पीपीएलाई बैंक तथा वित्तीय संस्थाले विश्वास गर्न सक्ने वातावरण पनि आवश्यक रहेको उनले बताए । उनकाअनुसार आयोजनामा लगानी गर्न बैंक तथा वित्तीय संस्थाले पीपीएलाई विश्वसनीय आधारका रूपमा स्वीकार गर्नुपर्छ । निजी कम्पनीबीच भएको विद्युत खरिद–विक्री सम्झौता बैंकले स्वीकार नगरेमा वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) हुन नसक्ने र त्यसले आयोजनामा लगानी जुटाउन कठिनाइ हुने उनको भनाइ छ । ‘निजी क्षेत्रमा पीपीए गरेपछि त्यसको पैसा तिर्ने ग्यारेन्टी पनि हुनुपर्छ । भोलि फाइनान्सियल क्लोजर त हुनुपर्‍यो । निजी क्षेत्रबीच पीपीए गर्‍यो, तर त्यो पीपीएलाई बैंकले पत्याएन भने लगानी त हुँदैन । त्यसैले त्यो खालको वातावरण पनि बनाउनुपर्छ,’ उनले भने । डाँगीले अहिले विद्युत खरिद–विक्री सम्झौता (पीपीए) को मोडालिटीका विषयमा पनि विभिन्न अभ्यास तथा छलफल भइरहेको बताएका छन् । विद्युत उत्पादन बढ्दै गएको अवस्थामा उत्पादित विद्युतको बजार व्यवस्थापन, खरिद–विक्रीको सुनिश्चितता र निजी क्षेत्रको सहभागिता बढाउने विषय महत्वपूर्ण रहेको उनको भनाइ छ । उनकाअनुसार पीपीए कसरी गर्ने, निजी क्षेत्रलाई कसरी सहभागी गराउने र विद्युत व्यापारलाई कसरी व्यावसायिक बनाउने भन्ने विषयमा अहिले अभ्यास भइरहेको छ । सरकारले निजी क्षेत्रलाई विद्युत व्यापारमा अवसर दिने, योग्य कम्पनीलाई समयमै लाइसेन्स उपलब्ध गराउने र निजी क्षेत्रबीच हुने पीपीएलाई विश्वसनीय बनाउने वातावरण तयार गर्न सके नेपालको विद्युत बजार थप विस्तार हुनसक्ने उनको भनाई रहेको छ । भोटेकोशी प्रलयबाट प्रभावित आयोजनाको पुनर्निर्माणदेखि अन्तरदेशीय विद्युत व्यापारसम्मका विषयमा सरकारले नीतिगत सहजीकरण गर्नुपर्नेमा इप्पानको जोड रहेको छ । निजी क्षेत्र लगानी गर्न र पुनर्निर्माणमा अघि बढ्न तयार रहेको भन्दै सरकारले आवश्यक नीतिगत वातावरण बनाइदिनुपर्ने अध्यक्ष डाँगीले बताएका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
OthersJust now

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

९ मंसिर, कास्की । पोखरामा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका–७ घारीपाटनबाट जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–१७ बस्ने ४४ वर्षीय शंकर श्रेष्ठ समेत ७ जनालाई मंगलबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरूलाई नगद १ लाख २ हजार २ सय २० रूपैयाँ र २ सय ८ पत्ति तास सहित… ...

अनलाइन खबर
नेपाली सिनेमाले किन खोज्यो मेचीपारिका कन्टेन्ट क्रिएटर ?
OthersJust now

नेपाली सिनेमाले किन खोज्यो मेचीपारिका कन्टेन्ट क्रिएटर ?

‘अब त तँलाई रिग्रेट भयो होला हैन ? मैले काम गर्दिनँ भनेर छाडेको थिइस् नि । हेर, अब म काम गर्न थालिसकें । तेरो बाबुले बोलाए पनि आउँदिनँ । मेरी आमाले मेरो लागि केटी हेरिसक्यो ।’ हातमा बेल्चा बोकेका, धुस्रोफुस्रो युवा बदलाको भावमा भन्छन्, ‘उता नेपालमा, मनिषा कोइरालासँग ।’ फेसबुक रिल्समा फैलिएको यही भिडियो हो,… ...

अनलाइन खबर
तीन महिनापछि बोलाइयो बागमती प्रदेशसभा बैठक
OthersJust now

तीन महिनापछि बोलाइयो बागमती प्रदेशसभा बैठक

९ मंसिर, हेटौंडा । बागमती प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत १९औँ बैठक बस्ने भएको छ । गत ९ भदौमा मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिएपछि प्रदेशसभा बैठक बसेको थिएन । प्रदेशसभा सचिवालयका अनुसार सूचना बैठक १५ मंसिर दिउँसो १ बजे बस्ने जानकारी दिएको हो । प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम उपसभामुख अप्सरा चापागाईंले बैठक आह्वान… ...

अनलाइन खबर
के एआई एजेन्ज पनि प्रलोभनमा पर्न सक्छन् ? एन्थ्रोपिकले गर्‍यो परीक्षण
OthersJust now

के एआई एजेन्ज पनि प्रलोभनमा पर्न सक्छन् ? एन्थ्रोपिकले गर्‍यो परीक्षण

९ मंसिर, काठमाडौं । सिलिकन भ्यालीमा एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सन हुआङजस्ता शीर्ष अधिकारीसमेत हनीट्र्यापमा पर्न सक्ने बहस चर्किरहेका बेला एआई कम्पनी एन्थ्रोपिकले नयाँ प्रश्न उठाएको छ- के एआई एजेन्टहरू पनि डिजिटल प्रलोभनमा परेर नियम तोड्छन् ? इमेल लेख्ने वा सामान्य प्रश्नको जवाफ दिने च्याटबटको चरण पार गर्दै एआई एजेन्टहरू अहिले स्वतन्त्र रूपमा कोडिंग र… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement