बाढीको उद्धारमा २१ हेलिकप्टर परिचालन, विपद् व्यवस्थापनमा पूर्वतयारी कमजोर रहेको सेनाको निष्कर्ष
भोटेकोशी र बुढीगण्डकी करिडोरमा गएको विनाशकारी बाढीपछिको खोज तथा उद्धार कार्यमा नेपाली सेनासहितका सुरक्षा निकायले व्यापक रूपमा जनशक्ति र स्रोतसाधन परिचालन गरेको नेपाली सेनाले जनाएको छ । भोटेकोशी एवम् कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका प्रमुखहरूसँग भएको छलफलका क्रममा नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले बाढीपछिको खोज, उद्धार, राहत तथा पुनःस्थापनासम्बन्धी गतिविधिबारे जानकारी गराएका हुन् । समितिमा प्रस्तुतीकरण गर्दै सहायक रथी थापाले भोटेकोशी क्षेत्रमा आएको बाढी नेपालमा यसअघि अनुभव नगरिएको प्रकृतिको रहेको र त्यसका लागि पर्याप्त पूर्वतयारी नभएको निष्कर्ष सुनाए । विपद् प्रतिरोधात्मक क्षमता अभिवृद्धिका लागि सञ्चालन हुँदै आएका कार्यक्रम र ‘रेजिलियन्स स्टाट्र्स फ्रम होम’ अर्थात् घरबाटै विपद् प्रतिरोधात्मक क्षमताको सुरुवात हुनुपर्ने अवधारणालाई व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकिएको उनले बताए । उनले भने, ‘ भोटेकोशी क्षेत्रमा आएको बाढी नेपालमा यसअघि कहिल्यै नदेखिएको प्रकृतिको थियो। यस्तो विपद्का लागि हामी पर्याप्त रूपमा तयारी अवस्थामा रहेको पाइएन। विपद् प्रतिरोधात्मक क्षमता अभिवृद्धिका लागि हरेक वर्ष विभिन्न कार्यक्रम सञ्चालन भए पनि ‘रेजिलियन्स स्टाट्र्स फ्रम होम’ अर्थात् विपद् प्रतिरोधात्मक क्षमताको सुरुवात घरैबाट हुनुपर्छ भन्ने अवधारणालाई व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकिएको हामीले महसुस गरेका छौँ ।’ उनका अनुसार हिमपहिरो तथा गेग्रानसहित आएको भोटेकोशीको बाढीले रसुवागढी, स्याफ्रुबेँसी, टिमुरे, हाकु, बेत्रावती हुँदै त्रिशूली क्षेत्रसम्म ठूलो क्षति पु¥याएको थियो । बाढीको तीव्र वेग र उच्च बहावका कारण छोटो समयमै ठूलो मानवीय तथा भौतिक क्षति भएको उनको भनाइ थियो । बाढीका कारण ८६ जनाले ज्यान गुमाएको र ठूलो सङ्ख्यामा व्यक्ति बेपत्ता भएको विवरण प्रस्तुत गर्दै उनले जलविद्युत् आयोजना, भन्सार, शिक्षा तथा स्वास्थ्य पूर्वाधारमा समेत गम्भीर क्षति पुगेको जानकारी दिए । उनका अनुसार प्रारम्भिक क्षतिको आंकलनमा करिब १ अर्ब ८१ करोड अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको उल्लेख गरिएको छ । ९६ घण्टामा ३ हजारभन्दा बढीको हवाई उद्धार बाढीको सूचना प्राप्त हुनासाथ नेपाली सेनाले स्थानीय सुरक्षा निकायलाई सतर्क गराउनुका साथै हवाई माध्यमबाट उद्धार टोली परिचालन गरेको थियो । उद्धार तथा खोज कार्यलाई तत्कालीन खोज तथा उद्धार, मध्यकालीन खोज तथा शव व्यवस्थापन र दीर्घकालीन पुनःस्थापना तथा पुनर्निर्माण गरी तीन चरणमा अघि बढाइएको सहायक रथी थापाले बताए । उनका अनुसार बाढी प्रभावित क्षेत्रमा हवाई उद्धारका लागि २१ वटा हेलिकप्टर परिचालन गरिएको थियो । उद्धारको पहिलो ९६ घण्टालाई महत्त्वपूर्ण समयावधिका रूपमा लिँदै उक्त अवधिमा मात्रै ३ हजार २४३ जनाको हवाई उद्धार गरिएको थियो । कुल हवाई उद्धार गरिएका ४ हजार २२० जनामध्ये करिब ७५ प्रतिशतको उद्धार पहिलो ९६ घण्टाभित्रै गरिएको उनले जानकारी दिए । उद्धारका क्रममा हवाई गस्ती, ड्रोन, थर्मल इमेजिङ क्यामेरा तथा स्थलगत खोजीलाई एकसाथ अघि बढाइएको थियो । प्रभावित क्षेत्रलाई विभिन्न भागमा विभाजन गरी मानिस जीवित रहन सक्ने सम्भावित स्थान पहिचान गरेर खोजी गरिएको उनले बताए । टिमुरे, घट्टेखोला, स्याफ्रुबेँसी, हाकु, बेत्रावती, देवीघाटलगायत क्षेत्रमा पटक–पटक स्थलगत निरीक्षण, घरघरमा खोजी तथा हवाई गस्ती गरिएको थियो । सामाजिक सञ्जाल, सञ्चारमाध्यम र स्थानीयबाट प्राप्त सूचनालाई समेत प्रमाणीकरण गरी खोज तथा उद्धारमा प्रयोग गरिएको उनले बताए । बाढी आएको ११औँ दिनमा सशस्त्र प्रहरी बल, नेपालको सहयोगमा बेत्रावती क्षेत्रबाट एक महिलालाई जीवितै उद्धार गरिएको घटनालाई पनि उनले उद्धार अभियानको महत्त्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गरे । जलविद्युत् आयोजनाका सुरुङमा जटिल उद्धार भोटेकोशी बाढीबाट प्रभावित ११ वटा जलविद्युत् आयोजनाका ६ वटा सुरुङमा समेत खोज तथा उद्धार अभियान सञ्चालन गरिएको थियो । प्रारम्भिक विवरणअनुसार ती आयोजनामा कार्यरत २ हजार २१५ जना कामदारमध्ये ८८८ जना हराइरहेको सूचना प्राप्त भएपछि उद्धार टोलीले सुरुङभित्र खोजी सुरु गरेको थियो । सहायक रथी थापाका अनुसार सुरुङसम्म पुग्ने बाटो अवरुद्ध हुनु, ठूलो उपकरण लैजान नसक्नु, पानी र गेग्रान जम्नु, अक्सिजनको कमी हुनु तथा संरचना भत्किनु उद्धारका प्रमुख चुनौती थिए । कतिपय स्थानमा हातैले खनेर तथा वैकल्पिक सुरुङ बनाएर उद्धार टोली भित्र प्रवेश गर्नुपरेको थियो । रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा खोजी गर्ने क्रममा चार जना कामदारको शव फेला परेको उनले जानकारी दिए । त्यस्तै, चिलिमे जलविद्युत् आयोजनाको पावरहाउस क्षेत्रमा लामो समयसम्म खोजी गर्दा पाँच जनाको शव फेला परेको थियो । अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङमा समेत नेपाली, भारतीय तथा अन्य विदेशी उद्धार टोलीको सहयोगमा खोजी गरिएको थियो । सो क्रममा ११औँ दिनमा एक चिनियाँ नागरिकलाई जीवितै उद्धार गर्न सफल भएको उनले बताए । बाढीबाट बनेको हावाको खाली स्थान (एयर पकेट) तथा तुलनात्मक रूपमा सुरक्षित ठाउँमा रहन पाएकाले ती व्यक्ति जीवित रहन सफल भएको हुन सक्ने सेनाको अनुमान छ । त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनालाई जीवितै उद्धार गरिएको र एक जनाको शव फेला परेको जानकारी पनि उनले दिए । अन्य प्रभावित सुरुङ तथा जलविद्युत् आयोजनामा समेत विभिन्न चरणमा खोजी र उद्धार कार्य सञ्चालन गरिएको थियो । सुरुङभित्र उद्धारका क्रममा नेपाली सेना, भारतीय उद्धार टोली तथा अन्य विदेशी प्राविधिक टोलीको सहयोग लिइएको थियो । प्रत्येक सुरुङको अवस्था फरक भएकाले एउटै विधिबाट सबै ठाउँमा उद्धार गर्न सम्भव नभएको उनको भनाइ थियो । सुरुङभित्र हराएका व्यक्तिको सङ्ख्याबारे विभिन्न सञ्चारमाध्यममा आएका विवरणमा एकरूपता नरहेको उल्लेख गर्दै उनले निर्माण कम्पनीबाट कामदारको यकिन विवरण प्राप्त गर्न कठिनाइ भएको बताए । उपलब्ध विवरण र उद्धार कार्यको विश्लेषणका आधारमा अझै केही व्यक्ति बेपत्ता हुन सक्ने सम्भावना रहेकाले खोज तथा उद्धारलाई निरन्तरता दिइएको उनले स्पष्ट पारे ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

पत्रकार महासंघले भन्यो- समाचार कक्षबाट पत्रकार उठाउने राज्य आतंक तत्काल बन्द गरियोस्
‘अकस्मात राज्य आतंक सुरु भएको देखिएको छ । हरेक समाचार कक्षमा बर्दीधारी प्रहरी गएर समाचार कक्षबाट पत्रकारलाई उठाउने (नियन्त्रणमा) लिने कुरा नेपालको संविधान, प्रेस स्वतन्त्रता र अन्तराष्ट्रिय कानुनहरूको उल्लंघन हो’, महासचिव दाहालले भने । ...

एनपीएल खेल्न कहिले आउँदैछन् डेभिड वार्नर र डेभिड मिलर ?
१३ कात्तिक, काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुरुवाती ६ खेल सकिएका छन् । कर्णाली याक्सले लगातार दोस्रो जित निकाल्दा विराटनगर किंग्सले दुई खेल नै गुमाएको छ । लुम्बिनी लायन्स, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सले एकएक खेलमा जित निकालेका छन् । काठमाण्डु गोर्खाज र पोखरा एभेन्जर्स पहिलो खेलमा पराजित भएका… ...

पाकिस्तान फर्किए इफ्तिखार र हुनेन, जाँदाजाँदै भने : आतिथ्यका लागि धन्यवाद
१३ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नपाएपछि पाकिस्तान फर्किन लागेका इफ्तिखार अहमदले नेपालप्रति आभार व्यक्त गरेका छन्। जनकपुर बोल्ट्सका पाकिस्तानी खेलाडी इफ्तिखारले सामाजिक सञ्जालमार्फत नेपालमा पाएको आतिथ्यका लागि धन्यवाद दिएका हुन्। उनले लेखेका छन्, 'नेपाल, हामीलाई आतिथ्य प्रदान गर्नुभएकोमा धेरै धेरै धन्यवाद। यहाँ आउन पाउँदा निकै खुसी लाग्यो। इन्शाअल्लाह, फेरि छिट्टै भेटौँला।'… ...

सिँचाइ महानिर्देशक र सुनकोशी आयोजना प्रमुख पक्राउप्रति इन्जिनियर्स एसोसिएसनको आपत्ति
कुनै पनि व्यक्तिलाई नियन्त्रणमा लिँदा कानुनी शासन, विधि प्रक्रिया तथा व्यक्तिको मौलिक हक सम्मान हुनुपर्ने एसोसिएसनको भनाइ छ । ...


